गत महिना कश्मीरको भारतीय नियन्त्रित क्षेत्रमा पर्यटकमाथि भएको घातक आक्रमणपछि इस्लामाबाद र नयाँदिल्लीबीचको तनाव कम गर्न इरानका विदेशमन्त्री सोमबार पाकिस्तान आएका छन्।
पाकिस्तानको विदेश मन्त्रालयका अनुसार, इरानका विदेशमन्त्री अब्बास अराघचीको यो भ्रमण कश्मीरमा भएको आक्रमणपछि तनाव बढेयता कुनै पनि विदेशी नेताको पहिलो भ्रमण हो। यो भ्रमण तेहरानले आणविक हतियार भएका छिमेकी देशहरूबीचको तनाव कम गर्न प्रस्ताव गरेको केही दिनपछि भएको छ।
इस्लामाबाद नजिकको विमानस्थलमा अवतरण गरेपछि पाकिस्तानी अधिकारीले अराघचीको स्वागत गरे। उनले पाकिस्तानी विदेशमन्त्री इशाक डार, राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शाहबाज सरिफसँग भेट्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयले थप विवरण दिएको छैन।
मन्त्री अत्ताउल्लाह तरारले वैशाख ९ गते (अप्रिल २२) मा पहलगामको रिसोर्ट सहरमा भएको आक्रमणपछि भारतले पाकिस्तानमाथि आक्रमण गर्न सक्ने विश्वसनीय जानकारी रहेको बताएका छन्। त्यसयता पाकिस्तानको सेना उच्च सतर्कतामा छ।
पाकिस्तानले आक्रमणमा आफ्नो कुनै भूमिका नरहेको भन्दै अस्वीकार गरेको छ र विश्वसनीय अन्तर्राष्ट्रिय अनुसन्धानको प्रस्ताव गरेको छ। नयाँदिल्लीले यो प्रस्ताव स्वीकार गरेको छैन। संयुक्त राज्य अमेरिकालगायत विश्व नेताले दुवै पक्षलाई संयम अपनाउन र तनाव बढ्नबाट जोगिन आग्रह गरेका छन्।
कश्मीर भारत र पाकिस्तानबीच विभाजित छ र दुवैले यसमा पूर्ण दाबी गर्छन्। दुई देशले तीन युद्धमध्ये दुईवटा कश्मीरका लागि लडेका छन्। प्रायः कश्मीरको दाबीकै कारण दुई देशको सम्बन्ध द्वन्द्व, आक्रामक कूटनीति र आपसी शङ्काले प्रभावित छ।
पछिल्लो तनावले दुवै देशलाई एकअर्काका कूटनीतिज्ञ र नागरिक निष्कासन गर्न तथा हवाई क्षेत्र बन्द गर्न बाध्य बनाएको छ। एपी
प्रकाशित: २२ वैशाख २०८२ १३:०७ सोमबार





