११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पोप फ्रान्सिसलाई विश्वभरबाट श्रद्धाञ्जली

रोमन क्याथोलिक चर्चका धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ।

डबल निमोनियाबाट पीडित उनलाई गत महिना अस्पताल भर्ना गरिएको थियो। पोपको निधनसँगै चर्चको एक दशक लामो सुधारवादी युगको इतिवृत्त टुंगिएको छ।

भेटिकनका कार्डिनल केभिन फैरेलले सोमबार बिहान ७:३५ बजे पोप फ्रान्सिसको निधन भएको औपचारिक घोषणा गरेका हुन्। ‘‘हाम्रो पवित्र पिता फ्रान्सिस अब सृष्टिकर्ताको घर फर्किनुभएको छ,’’ उनले भेटिकन टेलिभिजनमार्फत जनाए।

पोप फ्रान्सिसले गत आइतबार इस्टर सण्डेमा सेन्ट पिटर स्क्वायरमा हजारौं श्रद्धालुसँग अन्तिम पटक प्रत्यक्ष सम्बोधन गरेका थिए। मार्च २३ मा अस्पतालबाट डिस्चार्ज भएयता त्यो उनको पहिलो लामो सार्वजनिक उपस्थिति थियो।

उनको निधनले विश्वभरका १.४ अर्ब क्याथोलिक अनुयायीलाई भावुक बनाएको छ। युरोपियन आयोगकी अध्यक्ष उर्सुला भन डर लायनले पोप फ्रान्सिसप्रति श्रद्धाञ्जली दिँदै भनिन्, ‘‘उहाँको नम्रता र पछाडि परेकाप्रतिको प्रेमले करोडौं मानिसलाई प्रेरणा दियो।’’

पूर्वी टिमोरका राष्ट्रपति जोसे रामोस-होर्टाले भने, ‘‘मानवता, न्याय र भाइचाराको गहिरो सन्देश छाडेर पोप फ्रान्सिस संसारबाट विदा हुनुभएको छ।’’

अर्जेन्टिनाका जोर्ज मारियो बेरगोलियो सन् २०१३ को मार्च १३ मा रोमन क्याथोलिक चर्चको पहिलो ल्याटिन अमेरिकी पोपको रूपमा चयन भएका थिए।

गरिबप्रतिको सहानुभूति र सरल जीवनशैलीप्रति प्रतिबद्ध उनले पोपको परम्परागत आवास अपोस्टोलिक प्यालेस त्यागेर सादा सामुदायिक भवन रोजेका थिए।

पोप फ्रान्सिसको कार्यकाल चर्चभित्रको यौन दुर्व्यवहार काण्ड, आन्तरिक खिचातानी र संरचनागत सुधारसँग जुधिरह्यो। उनले परम्परागत व्यवस्थामा चुनौती दिँदै सुधारको एजेन्डा अघि सारे, जसले कट्टरपन्थीहरूको आलोचना र प्रगतिशीलहरूको अपेक्षा दुवैको सामना गर्नु पर्‍यो।

तर आन्तरिक आलोचनाबीच पनि उनले आप्रवासी, गरिब, धार्मिक अल्पसंख्यकजस्ता हाशियामा पारिएका समूहको पक्षमा बलियो आवाज उठाउँदै विश्वभर लोकप्रियता हासिल गरे।

पोप फ्रान्सिसको निधनपछि अब नयाँ पोप चयनको तयारी सुरु हुनेछ। उनले आफ्नो कार्यकालमा नयाँ पोप चयन गर्ने ८० प्रतिशत कार्डिनल नियुक्त गरिसकेका छन्, जसले सम्भावित उत्तराधिकारीमा उनका सुधारवादी नीतिहरूको निरन्तरता सुनिश्चित गर्न सक्छ।

उनका पूर्ववर्ती पोप बेनेडिक्ट सन् २०१३ मा राजीनामा दिएपछि भेटिकनमै बसिरहेका थिए। उनको २०२२ को डिसेम्बरमा निधन भएका थियो। पोप फ्रान्सिस र बेनेडिक्ट दुवै जीवित अवस्थामा भेटिकनमा दुई पोप भएको दृश्य पछिल्लो इतिहासमा दुर्लभ मानिन्छ।

प्रकाशित: ८ वैशाख २०८२ १६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App