भारतकाे दिल्ली महानगरपालिकाको मेयर पदमा आम आदमी पार्टी (आप) ले उम्मेदवारी नदिने घोषणा गरेको छ। सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा आपका दिल्ली इकाई अध्यक्ष सौरभ भारद्वाज र पूर्व मुख्यमन्त्री आतिशीले यो निर्णय सार्वजनिक गरेका हुन्।
सौरभ भारद्वाजले भने, ‘हामीले यस पटक मेयर चुनावमा आपबाट उम्मेदवार नउठाउने निर्णय गरेका छौं। भारतीय जनता पार्टी (भाजपा) ले आफ्नै मेयर छान्नुपर्छ, आफ्नै स्थायी समिति बनाउनुपर्छ र आफ्नो ‘चार इन्जिन सरकार’ बनाएर दिल्लीका जनतालाई आफ्नो काम देखाउनुपर्छ।’ उनले भाजपालाई दिल्लीको विकासमा ध्यान केन्द्रित गर्न अनुराेध पनि गरे।
सो अवसरमा आतिशीले भाजपामाथि विगत साढे दुई वर्षदेखि आपका काउन्सिलरहरूलाई धम्की दिएर वा प्रलोभन देखाएर भाजपामा सामेल गर्न खाेजेकाे गम्भीर आरोप लगाइन्। उनले भनिन्, ‘मेयर चुनाव लड्न र जित्न काउन्सिलरहरूलाई तोड्ने, बेच्ने वा किन्ने बाहेक अरू उपाय छैन। तर, हामी यस्तो राजनीति गर्दैनौं। त्यसैले आपले मेयर चुनावमा भाग नलिने निर्णय गरेको छ।’
हाल दिल्ली महानगरपालिकामा आपका महेश कुमार खिची मेयर छन्। दिल्लीमा आगामी अप्रिल २५ मा मेयर र उपमेयर पदका लागि चुनाव हुँदैछ। हालै केही काउन्सिलरहरू भाजपामा प्रवेश गरेपछि राजनीतिक गतिरोध सिर्जना भएको थियाे। एजेन्सी
प्रकाशित: ८ वैशाख २०८२ १३:१७ सोमबार





