चीनको वाणिज्य मन्त्रालयले अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरूलाई परिणामका लागि तयार रहन भन्दै कडा चेतावनी दिएको छ। मन्त्रालयका अनुसार यदि कुनै देशले चीनलाई हानी पुर्याउने गरी अमेरिकासँग व्यापार सम्झौता गरेमा चीनले कडा प्रतिशोधात्मक कारबाही गर्नेछ।
चीनको वाणिज्य मन्त्रालयले तुष्टिकरणको नीतिले शान्ति नआउने र अमेरिकाको एकपक्षीय नीतिहरूको सामना गर्न अन्य देशहरूसँग सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ताले भने, ‘चीन आफ्नो हित र अधिकारको रक्षा गर्न कुनै पनि कदम चाल्न पछि हट्ने छैन। यदि कुनै सम्झौताले हामीलाई नोक्सान पुर्याउँछ भने त्यसको जवाफ उत्तिकै कडा हुनेछ।’
यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमा उच्च कर शुल्क लगाउने घोषणाबीच आएको हो। अमेरिकाले अन्य देशहरूलाई ट्यारिफ छुटको प्रलोभन देखाएर चीनसँगको व्यापार सम्बन्ध सीमित गर्न दबाब दिइरहेको समाचार आइरहेको बेला चीनले यस्तो चेतावनी दिएको हो। चीनले अमेरिका कर शुल्क लगाउने नीतिलाई ‘आर्थिक दबाब’ को संज्ञा दिँदै यस्ता कदमले वैश्विक व्यापार प्रणालीमा अस्थिरता निम्त्याउने चेतावनी दिँदै आएको छ। मन्त्रालयले थपेको छ, ‘हामी सबै देशको अधिकारको सम्मान गर्छौं, तर हाम्रो हितमाथि आघात पुर्याउने कुनै पनि सम्झौता स्वीकार्य हुनेछैन।’
यसैबीच अमेरिकाले चिनियाँ सामानमा २४५ प्रतिशतसम्म कर शुल्क लगाएको छ। जवाफमा चीनले पनि अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशतसम्म कर वृद्धि गरेको छ। यो व्यापार युद्धले चीन र अमेरिकालाई मात्र नभई अन्य देशहरूको अर्थतन्त्रमा पनि गम्भीर असर पारिरहेको छ। चीनले विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा अमेरिकाविरुद्ध उजुरी दर्ता गर्ने बताउँदै आएको छ। बेइजिङले आफ्नो हित रक्षा गर्न थप कदम चाल्ने संकेत गरेको छ। यता, ट्रम्पले भने व्यापार सम्झौताको बल अब चीनको कोर्टमा रहेको भन्दै वार्ताको लागि बेइजिङलाई दबाब दिएका छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: ८ वैशाख २०८२ १२:५१ सोमबार





