९ वैशाख २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा बन्दै विश्वकै अग्लो पुल, घण्टौंको यात्रा दुई मिनेटमै

चीनले गुइझोउ प्रान्तमा निर्माण भइरहेको ‘ह्वाजियाङ्ग ग्रान्ड क्यानियन ब्रिज’ आगामी २०२५ को जुन महिनामा उद्घाटन गर्ने तयारी गरेको छ।

पुल ६२५ मिटर (२,०५० फिट) अग्लो हुने बताइएको छ। यो आइफेल टावरभन्दा २९५ मिटर बढी उचाइ हो। निर्माण सम्पन्नपछि यो विश्वकै अग्लो पुल बन्नेछ।

क्यानियन ब्रिज बेइपान नदीको गहिरो खोँच पार गर्दै निर्माण गरिएको हो। यो पुल चिनियाँ सहर शान्ताउबाट युनानको राजधानी कुनमिङसम्म जोड्ने प्रमुख सडकमार्ग शान्ताउ-कुनमिङ एक्सप्रेसवेको हिस्सा हुनेछ।

घण्टौंको यात्रा अब दुई मिनेटमा

पहिले उस्तै पहाडी मार्गमा घुमाउरो बाटो हुँदै यात्रा गर्न करिब एक घण्टा लाग्ने स्थानमा अब यो पुलले त्यो दूरी दुई मिनेटभित्रमा पार गर्न सकिने बनाउनेछ। यसले गुइझोउ प्रान्तको प्रमुख सहरहरू–गुइयाङ, अन्शुन र चिआनसिनानबीचको पहुँचलाई उल्लेखनीय रूपमा सुधार गर्ने विश्वास गरिएको छ।

झण्डै २२ हजार मेट्रिक टन तौल रहेको यो पुल निर्माणमा ९३ वटा स्टिल ट्रसहरू प्रयोग गरिएको छ। झन् रोचक कुरा के छ भने, यति जटिल संरचना मात्र दुई महिनामै तयार पारिएको हो।

यो पुल केवल यातायातको पूर्वाधार मात्र नभई, आर्थिक विकासको उत्प्रेरक पनि बन्नेछ। सहज पहुँचसँगै स्थानीय व्यवसायहरूलाई बजारसम्म पुग्न सजिलो हुने र यातायात खर्चमा कमी आउने अपेक्षा गरिएको छ।

पर्यटन विकासलाई ध्यानमा राख्दै पुल वरपर आवासीय क्षेत्र, सिसाको तल्ला भएको अवलोकनमार्ग र सम्भावित विश्वकै अग्लो बञ्जी जम्प समेत बनाउने योजना अघि सारिएको छ। यसले रोमाञ्चक पर्यटनप्रेमीहरूलाई आकर्षण गर्ने विश्वास गरिएको छ।

विश्वका सयभन्दा बढी अग्ला पुलमध्ये आधाभन्दा बढी चीनमै छन्। ह्वाजियाङ्ग ग्रान्ड क्यानियन ब्रिजले चीनको यो नेतृत्वलाई थप बलियो बनाएको छ।

यो परियोजना ग्रामीण तथा दुर्गम भेगमा पूर्वाधार विस्तार गर्ने चीनको दीर्घकालीन योजनासँग पनि मेल खान्छ। यो पुल केवल एउटा कीर्तिमानी संरचना मात्र नभई चीनको इन्जिनियरिङ कौशल र भविष्यप्रतिको दृष्टिकोणको प्रतीक हो।

सञ्चालनमा आएपछि यसले केवल यातायात प्रणालीमा क्रान्ति ल्याउनुका साथै चीनको भित्री भूभागलाई समेत विश्व सामु चिनाउनेछ।

प्रकाशित: २ वैशाख २०८२ २०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App