चीन, दक्षिण कोरिया र जापान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका नयाँ करहरूको जवाफमा आइतबार स्वतन्त्र व्यापार बलियो बनाउन सहमत भएका छन्।
यो सहमति कार, ट्रक र अटो पार्ट्ससहित अमेरिकी आयातको ठूलो क्षेत्रमा करहरू लाग्नुअघि नै भएको हो। यो निर्णय उच्च व्यापार अधिकारीहरूको पाँच वर्षपछि भएको पहिलो बैठकमा लिइएको छ।
दक्षिण कोरिया र जापान प्रमुख अटो निर्यातक देश हुन् भने चीन पनि अमेरिकी करबाट निकै प्रभावित भएको छ।
बैठकमा दक्षिण कोरियाका उद्योगमन्त्री आन डक–ग्युन, जापानी समकक्षी योजी मुतो र चीनका वाङ वेन्ताओ उपस्थित थिए।
‘तीन देशले व्यापक त्रिपक्षीय स्वतन्त्र–व्यापार सम्झौताका लागि वार्ता तीव्र बनाउन आह्वान गरे र अनुमानयोग्य व्यापार तथा लगानी वातावरण बनाउन सहमत भए,’ विज्ञप्तिमा उल्लेख छ।
दक्षिण कोरियाका उद्योगमन्त्री आनले तीन देशले साझा वैश्विक चुनौतीहरूको सामना ‘संयुक्त रूपमा’ गर्नुपर्ने बताए। ‘आजको आर्थिक र व्यापार वातावरण विश्व अर्थतन्त्रको बढ्दो विखण्डनले प्रभावित छ,’ उनले भने।
‘हाम्रो वरपरको अन्तर्राष्ट्रिय वातावरण निरन्तर बदलिँदै छ र अनिश्चितता बढ्दै गएको छ,’ जापानी व्यापार अधिकारी यासुजी कोमियामाले पत्रकार सम्मेलनमा भने।
चिनियाँ अधिकारी वाङ लिपिङले भने, ‘एकपक्षीयता र संरक्षणवाद फैलिरहेको छ र तीन देशले बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्न जिम्मेवारी लिनुपर्छ।’
उनका अनुसार यी तीन देशले विश्वको जनसङ्ख्याको २० प्रतिशत, विश्व अर्थतन्त्रको २४ प्रतिशत र विश्वव्यापी व्यापारको १९ प्रतिशत हिस्सा ओगट्छन्।
ट्रम्पले अप्रिल २ देखि अनुचित मानिएका व्यवहारहरू रोक्न प्रत्येक व्यापार साझेदारका लागि विशेष करहरू लगाउने प्रतिज्ञा गरेका छन्।
तर उनले गत हप्ता पत्रकारहरूलाई ‘लचिलोपन’ अपनाउने बताएका थिए। गत हप्ताको अन्त्यमा बजारले यसलाई केही राहतको रूपमा लिएको देखिएको छ। एएफपी
प्रकाशित: १७ चैत्र २०८१ १२:३४ आइतबार