१३ चैत्र २०८१ बुधबार
image/svg+xml १६:२१ अपराह्न
अन्तर्राष्ट्रिय

युद्धको चपेटामा गाजावासीः ५० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु

इजरायलले हमाससँग युद्ध सुरु गरेपछि गाजामा ५० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भएको यो युद्धमा एक लाख १३ हजार २७४ जना घाइते भएका छन्। मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार गाजामा ५० हजार २१ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य अधिकारीहरूले मृतकमा धेरैजसो महिला र बालबालिका रहेको बताएका छन्। हजारौं मानिस अझै भग्नावशेषमुनि पुरिएको आशंका छ, जसले वास्तविक मृत्यु संख्या अझ बढी हुन सक्ने देखाउँछ।

आइतबार राति इजरायली रक्षा बलले खान युनिसको नासेर मेडिकल कम्प्लेक्समा आक्रमण गर्‍यो। इजरायलले उक्त आक्रमणमा हमासको एक प्रमुख सदस्यलाई निशाना बनाएको दाबी गरेको छ। तर, स्थानीय बासिन्दाले यो आक्रमणले सर्वसाधारणको ज्यान जोखिममा पारेको गुनासो गरेका छन्।

दुई महिनाको युद्धविराम भंग भएपछि इजरायलले पुनः आक्रमण सुरु गरेको छ। मंगलबारको हवाई आक्रमणमा ४०० भन्दा बढी प्यालेस्टिनी मारिए। हमासले यो कदमलाई युद्धविराम सम्झौताको ‘डरलाग्दो उल्लंघन’ भनेको छ।

इजरायली अधिकारीहरूले आगामी दिन अझ कठिन हुने चेतावनी दिएका छन्। गाजावासीले युद्धका कारण खाद्यान्न, पानी र औषधिको चरम अभाव झेलिरहेका छन्। अस्पतालहरू ध्वस्त छन्, औषधि र उपकरणको कमीले घाइतेको उपचारमा समस्या भइरहेको छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरी एक हजार २०० इजरायली र विदेशी नागरिकको ज्यान लियो। त्यसक्रममा २५१ जनालाई बन्धक बनाइयो। जवाफमा, इजरायली रक्षा बलले गाजामा हमासविरुद्ध ठूलो सैन्य कारबाही थालेको हो।

यो युद्धले गाजाको स्वास्थ्य प्रणाली र सामान्य जनजीवन तहसनहस भएको छ। संयुक्त राष्ट्रसंघले मृतकमा महिला र बालबालिकाको संख्या धेरै रहेको पुष्टि गरेको छ। इजरायली रक्षा बलले नागरिक क्षति कम गर्न प्रयास गरेको दाबी गरे पनि गाजाको अवस्था दिनदिनै बिग्रिँदै गएको छ।

प्रकाशित: ११ चैत्र २०८१ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App