इस्तानबुलका मेयर एकराम इमामोग्लुको गिरफ्तारीपछि टर्कीमा विरोध प्रदर्शन चर्किएको छ। टर्कीका राष्ट्रपति रजेप तैयप एर्दोगानका मुख्य प्रतिद्वन्द्वी इमामोग्लुलाई बुधबार पक्राउ गरिएको थियो। सन् २०२८ को राष्ट्रपति पदको उम्मेदवार घोषणा गर्नुअघि उनी पक्राउ परेका हुन्।
इमामोग्लुका समर्थकहरू सडकमा निस्किएका छन्। बिहीबारदेखि प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ। टर्कीका अधिकारीहरूका अनुसार तेस्रो दिन शुक्रबार रातिसम्म देशभरबाट ३४३ जना पक्राउ परेका छन्।
शनिबार इमामोग्लु इस्तानबुलको अदालतमा पुगे। त्यहाँ सरकारी अधिकारीहरूले आतंकवाद र भ्रष्टाचारको आरोप लगाउँदै उनलाई औपचारिक रूपमा पक्राउ गर्न अनुमति माग गरे। तर, इमामोग्लुले यी आरोपहरू खण्डन गरेका छन्।
राष्ट्रपति एर्दोगानले बढ्दो विरोधको निन्दा गरेका छन्। इमामोग्लुको विपक्षी पार्टी रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी) ले शान्ति बिथोल्न खोजेको आरोप लगाएका छन्। सिएचपीले जनतालाई ध्रुवीकरण गर्न खोजिरहेको भनाइ पनि उनको छ।
प्रकाशित: १० चैत्र २०८१ ११:२९ आइतबार





