२७ चैत्र २०८१ बुधबार
image/svg+xml ९:४७ पूर्वाह्न
अन्तर्राष्ट्रिय

परीक्षा छुट्ने डर ! विद्यार्थी आकाश हुँदै परीक्षा हल पुगे

तस्बिर सैजन्य: टामइस् अफ इन्डिया

भारतको महाराष्ट्रका विद्यार्थी समर्थ महाङ्गडे अहिले सामाजिक सञ्जालमा भाइरल छन्। परीक्षामा समयमै पुग्न उनले अपनाएको अनौठो शैलीले धेरैलाई चकित बनाएको छ। विशेषगरी, उनले अपनाएको प्याराग्लाइडिङ यात्रा अहिले सामाजिक संजालमा भाइरल बनेको छ।

महाङ्गडेले आफ्नो परीक्षाको मिति नै झुक्किएका थिए। परीक्षा भएको दिन उनी कुनै पहाडी छुट्टी मनाउने स्थानमा थिए। जाँच सुरु हुनुभन्दा केही मिनेटअघि मात्र उनलाई त्यही दिन नै परीक्षा रहेको थाहा भयो, तर स्थलमार्गबाट पुग्न उनलाई घण्टौँ लाग्ने स्थिति थियो।

पञ्चगणी पर्वतीय क्षेत्र सप्ताहान्तका बेला पर्यटकले भरिने भएकाले ट्राफिक जाम हुनु सामान्य थियो। त्यसैले समयमै परीक्षा हल पुग्ने सम्भावना निकै कम थियो।

यही बेला पञ्चगणीस्थित एक प्याराग्लाइडिङ कम्पनीले उनलाई परीक्षा हल पुग्न आकाशमार्ग प्रयोग गर्ने सुझाव दियो। महाङ्गडे एकछिन दोधारमा परे, तर समयको अभावका कारण उनले जोखिम मोलेर प्याराग्लाइडिङ गर्ने निर्णय गरे।

भाइरल भिडियोमा उनी ब्यागसहित आकाशमा उडिरहेका देखिन्छन्। जीपी एडभेन्चर्सका साहसिक खेल विशेषज्ञ गोविन्द येवालेले ट्राफिक पार गर्ने उपाय सुझाएका थिए।

टिमले आवश्यक सबै व्यवस्था मिलाएपछि महाङ्गडे आकाशमार्ग हुँदै परीक्षा हलतर्फ उडे। केही मिनेटमै सुरक्षित अवतरण गर्दै उनी परीक्षा हल पुगे र समयमै परीक्षा दिन सफल भए।

प्रकाशित: १४ फाल्गुन २०८१ १४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App