भारतीय राज्य मणिपुरको मुख्यमन्त्री नोङथोम्बम बिरेन सिंहले राज्यमा हिंसाको झण्डै दुई वर्षपछि आइतबार राज्यपाल अजय कुमार भल्लालाई आफ्नो राजीनामा बुझाएका छन्।
मणिपुर उच्च अदालतले मेइती समुदायलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्न राज्यलाई निर्देशन दिएपछि अखिल जनजाति विद्यार्थी युनियन अफ मणिपुर (एटीएसयुएम)ले निकालेको जुलुसमा सन् २०२३ मे ३ मा मणिपुरमा मेइती र कुकी समुदायबीच हिंसा भड्किएको थियो।
“अहिलेसम्म मणिपुरका जनताको सेवा गर्न पाउनु सम्मानको कुरा हो,” सिंहले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन्, “मणिपुरीको हितको लागि केन्द्र सरकारले विकास कार्य र विभिन्न परियोजनाहरू कार्यान्वयन गरेकोमा म हार्दिक आभारी छु।”
यसलाई निरन्तरता दिन केन्द्र सरकारसँग उनको अनुरोध पनि छ। मणिपुरका मुख्यमन्त्री सिंहले आइतबार नै दिल्लीमा केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेट पनि गरेका थिए।
सन् २०२२ को विधानसभा चुनावमा एनडीए गठबन्धनले ६० सदस्यीय सदनमा ३२ सिटमा सहज जित हासिल गरेपछि बिरेन सिंहले मणिपुरको मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए। काङ्ग्रेसले पाँच र नेकपाले सात सिट प्राप्त गरेको थियो।
नागा जनमोर्चाले पाँच र कुकी जनता गठबन्धनले दुई सिट प्राप्त गरेको थियो। उक्त निर्वाचनमा स्वतन्त्रले तीन सिट पाएका थिए। एनडीएको सहयोगी जेडीयूले ६ सिट जितेको थियो। यद्यपि यसका पाँच विधायक पछि भाजपामा सामेल भए।
यसबीच, मणिपुर विधान सभाको सातौं अधिवेशन फेब्रुअरी १० (आज) बाट सुरु हुने भनिएको थियो, जुन स्थगित गरिएको छ। कांग्रेसले मणिपुरमा भाजपा सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने योजना बनाएको थियो। आइतबार राति अबेर विधानसभा सचिवालयले जारी गरेको सूचनामा अधिवेशन तत्काल लागू हुनेगरी स्थगित गरिएको उल्लेख छ।
प्रकाशित: २८ माघ २०८१ ०९:५६ सोमबार





