२७ माघ २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यारिबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्र छोड्न आग्रह

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयानुसार शनिबार केम्यान टापुहरूको दक्षिणपश्चिममा क्यारिबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ। यस भूकम्पपछि केही टापु र देशहरूलाई सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्र छोड्न आग्रह गरिएको छ।

यूएसजीएसले स्थानीय समय अनुसार साँझ ६ः२३ बजे समुद्रको बीचमा यो भूकम्प गएको र यसको गहिराइ १० किलोमिटर रहेको जनाएको छ। यसको केन्द्रबिन्दु केम्यान टापुको जर्ज टाउनबाट २०९ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो।

अमेरिकी राष्ट्रिय सुनामी चेतावनी केन्द्रले अमेरिकी मुख्य भूमिमा सुनामीको कुनै चेतावनी नभएको बताएको छ। तर, पोर्टो रिको र अमेरिकी भर्जिन टापुहरूको लागि सुनामी चेतावनी जारी गरेको थियो, जुन पछि रद्द गरिएको छ। स्थानीय सञ्चार माध्यमहरूका अनुसार पोर्टो रिकोको उत्तरपश्चिमी क्षेत्रमा खतरा बढेपछि मानिसहरू तटीय क्षेत्र छोड्न बाध्य भए। 

जोखिम व्यवस्थापन केम्यान टापुहरूले तट नजिकै रहेका बासिन्दाहरूलाई भित्री र अग्लो जमिनमा सर्न आग्रह गरेको छ। अन्तर्राष्ट्रिय सुनामी सूचना केन्द्रले क्युबा, जमैका, मेक्सिको, हन्डुरस, बहामास, हाइटी, टर्क्स र काइकोस, सान एन्ड्रेस प्रोभिडेन्स, बेलिज, डोमिनिकन रिपब्लिक, कोलम्बिया, पनामा, पोर्टो रिको, कोस्टारिका, अरुबा, बोनेयर, कुराकाओ, अमेरिकी भर्जिन टापुहरू, ब्रिटिश भर्जिन टापुहरू र साबाको केही तटहरूमा आगामी तीन घण्टाभित्र खतरनाक सुनामी छालहरू आउन सक्ने चेतावनी दिएको छ।

हन्डुरनका अधिकारीहरूले कुनै पनि तत्काल क्षतिको रिपोर्ट नभएको बताएका छन्। तर, त्यहाँका बासिन्दाहरूलाई अर्को केही घण्टासम्म समुद्र तटबाट टाढा रहन आग्रह गरिएको छ। 

अमेरिकी सरकारको राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले क्युबाका केही तटहरूमा ज्वारभाटाको सतहभन्दा १ देखि ३ मिटर माथिसम्म पुग्ने सुनामी छालहरू आउन सक्ने बताएको छ।

प्रकाशित: २७ माघ २०८१ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App