१३ फाल्गुन २०८१ मंगलबार
image/svg+xml १४:५६ अपराह्न
अन्तर्राष्ट्रिय

आफ्ना नागरिक गाजाबाट रिहा भएपछि थाई प्रधानमन्त्री ‘हर्षित’

थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावत्राले बिहीबार गाजामा एक वर्षभन्दा बढी समयदेखि बन्धक बनाइएका पाँच थाई नागरिकको रिहाइमा ‘हर्षित’ भएको प्रतिकृया दिएकी छिन्। 

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी उग्रवादी समूह हमासले इजरायलमा आक्रमण गर्दा थाईहरूलाई अपहरण गरिएको थियो र गाजा युद्धविराम अन्तर्गत बन्धक–कैदी आदानप्रदानको भागका रूपमा रिहा गरिएको थियो। 

इजरायली प्रधानमन्त्रीको कार्यालयले रिहा गरिएका पाँच थाईको नाम वाचारा श्रीउन, पोङ्गसाक तन्ना, साथियान सुवान्नाखम, सुरासक लामनाउ र बन्नावत सेथाओ भएको बताएको छ। 

“इजरायलस्थित हाम्रा थाई राजदूतले भर्खरै फोनमार्फत पाँचजना थाई नागरिक आज गाजाबाट रिहा भएको पुष्टि गर्नुभएकोमा म हर्षित छु”, पेटोङटार्नले आफ्ना विभिन्न आधिकारिक सामाजिक सञ्जाल खाताहरूमा अङ्ग्रेजीमा प्रकाशित विज्ञप्तिमा भनिन्, “थाई सरकार र थाइल्यान्डका सबैजना यो क्षणको लामो समयदेखि प्रतीक्षामा थियौँ। ”

उनले बन्धकहरूको रिहाइका लागि कतार, इजिप्ट, इरान, टर्की र संयुक्त राज्य अमेरिकाले गरेको कामको ‘गहिरो सराहना’ गर्दै इजरायललाई उनीहरूको हेरचाह गरेकामा धन्यवाद दिइन्। 

छुट्टै विज्ञप्तिमा थाई विदेश मन्त्रालयले पाँच जनालाई उपचारका लागि अस्पताल लगिने बताएको छ। 

“थाइल्यान्डले थाई नागरिकसहित सबै बाँकी बन्धकलाई चाँडै रिहा गर्न आह्वान गर्दछ, ताकि तिनीहरू सुरक्षित रूपमा आफ्नो मातृभूमि र आफ्ना प्रिय परिवारहरूमा फर्कन सकून्”, मन्त्रालयले भन्यो। 

हमासले इजरायलमाथि आक्रमण गर्दा कुल ३१ थाई नागरिक बन्धक बनाइएका थिए।  तीमध्ये २३ जना सन् २०२३ को अन्त्यसम्ममा रिहा भएका थिए र गत मे महिनामा दुईजनाको मृत्यु भएको पुष्टि भएको थियो। 

थाइल्यान्डका करिब ३० हजार नागरिक इजरायलमा छन्।  तीमध्ये धेरैजसो कृषि क्षेत्रमा काम गर्छन्।  त्यहाँ उनीहरूले आफ्नो देशमा भन्दा उल्लेखनीय रूपमा बढी तलब कृषि श्रमिकका रूपमा कमाउँछन्।  एएफपी

प्रकाशित: १८ माघ २०८१ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App