हमासले ३३ जना बन्धकलाई रिहा गर्ने तयारी गरेको छ।
इस्राइलले आइतबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल ह्यान्डल ‘एक्स’ मार्फत ती ३३ जना बन्धकको नाम र तस्बिर सहितको सूची सार्वजनिक गरेको हो। यस सूचीअनुसार रिहा हुने बन्धकमध्ये महिला, बालबालिका, र ज्येष्ठ नागरिकहरू समावेश छन्।
सात अक्टोबर २०२३ मा इस्राइलमा हमासका लडाकुहरूले हमला गर्दा यी व्यक्तिहरूलाई बन्धक बनाएको थियो। बन्धकमध्ये कफिर बिबसलाई पहिलो पटक अपहरण गरिँदा उनी ९ महिनाका थिए, अहिले उनी बन्धक रहँदा दुई जन्मदिन मनाइसकेका छन्।
हमासले उपलब्ध गराएको सूचीअनुसार ८६ वर्षीय श्लोमो मान्जुर सबैभन्दा ज्येष्ठ बन्धक हुन्, र पहिलो चरणमै उनी रिहा हुने अपेक्षा गरिएको छ।
यसअघि आइतबार हमासले तीन महिला बन्धकको नाम सार्वजनिक गरेको थियो।
युद्धविराममा केही प्राविधिक अवरोध आए पनि इस्राइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले युद्धविराम स्थानीय समयअनुसार बिहान ११:१५ मा सुरु हुने जनाएको छ।
हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी भने युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन्।
प्रकाशित: ६ माघ २०८१ १५:५१ आइतबार