पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१३ मा विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन्।
पश्चिमबाट पूर्वतर्फ आइरहेको बा १८ प ८३२५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ प ७९ नम्बरको सङ्कल्प विद्या आश्रमको बसले ठक्कर दिँदा उदयपुरको एकै परिवारका तीनजना घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार घाइते हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–६ देउरीका ४० वर्षीय किरण थापा, उनकी श्रीमती २५ वर्षीया सुधा घिमिरे थापा र ११ वर्षीया छोरी शैलजा कुमारी थापा रहेका छन्।
घाइतेको लहान प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ। बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।
घाइते किरण सिरहाको मिर्चैया नगरपालिकास्थित स्वस्तीक पाठशाला स्कुलमा लेखापालको रुपमा कार्यरत थिए। उनी घर फर्किने क्रममा दुर्घटना परेका हुन्।
बस चालक दिपेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: ६ माघ २०८१ १८:१८ आइतबार