भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा सोमबारदेखि विश्वकै ठूलो धार्मिक मेला ‘महाकुम्भ मेला’ सुरु भएको छ।
यस अवसरमा हिन्दू धर्मावलम्बीहरू पवित्र गङ्गा, यमुना र काल्पनिक सरस्वती नदीको संगममा स्नान गर्दै धार्मिक आस्था प्रकट गरिरहेका छन्। छ हप्तासम्म चल्ने यस मेलामा करिब ४० करोड भक्तजन सहभागी हुने आयोजकहरूले अनुमान गरेका छन्।
कुम्भ मेला हिन्दू धर्मको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको एक प्रमुख पर्व हो। यस मेलामा सहभागी भएर पवित्र नदीमा स्नान गर्नु पापमोचन तथा मोक्ष प्राप्तिका लागि अति पवित्र मानिन्छ। मेलाको पहिलो दिन बिहान सबेरै स्नान गरेकी ४५ वर्षीया सुर्मिला देवीले भनिन्, ‘मेरो लागि यो अमृत स्नानजस्तै हो।’
मध्य प्रदेशबाट १,००० किलोमिटरको यात्रा गर्दै मेलामा सहभागी भएकी ३८ वर्षीया व्यवसायी रीना राईले यसलाई ‘जीवनमा छुटाउनै नहुने अवसर’ भन्दै आफ्नो धार्मिक उत्साह व्यक्त गरिन्। मेलामा गेरु वस्त्रधारी साधु र भस्मले शरीर पोतेका नागा बाबाहरू आशीर्वाद दिँदै भक्तजनहरूको भीडमा घुमिरहेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरलाई ‘आध्यात्मिक, सांस्कृतिक र श्रद्धाको पवित्र संगम’ भन्दै यसले धार्मिक विविधतालाई एकताको सूत्रमा बाँध्ने बताए। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यसलाई ‘विश्वकै ठूलो आध्यात्मिक र सांस्कृतिक जमघट’ भएको उल्लेख गरे।
कुम्भ मेलाको व्यवस्थापन विशाल चुनौतीको रूपमा रहेको छ। मेलाका प्रवक्ता विवेक चतुर्वेदीका अनुसार मेलामा करिब अमेरिका र क्यानडाको कुल जनसंख्यासरह भक्तजन आउने अनुमान छ।
कुम्भ मेला हिन्दू पुराणहरूमा वर्णित अमृत प्राप्तिका लागि देवता र असुरहरूबीच भएको युद्धको कथासँग सम्बन्धित छ। यसलाई ‘महाकुम्भ मेला’ भनिएको छ।
मेलाका लागि करिब १.५ लाख शौचालय निर्माण गरिएको छ भने एकै पटक ५० हजार मानिसलाई खाना खुवाउन सक्ने सामूहिक भान्सा पनि सञ्चालन गरिएको छ। ६८,००० एलईडी लाइट पोलको व्यवस्था गरिएको यस मेलाको झिलिमिली अन्तरिक्षबाट समेत देख्न सकिने जनाइएको छ।
मेलामा सुरक्षाका लागि व्यापक प्रहरी परिचालन गरिएको छ। हराएका भक्तजनहरूलाई परिवारसँग पुनः भेट गराउन ‘लस्ट एण्ड फाउन्ड’ केन्द्रहरू र मोबाइल एप समेत तयार गरिएको छ।
महाराष्ट्रबाट मेलामा सहभागी हुन आएका कर्मचारी भवानि बनेरीले भने, ‘यहाँको वातावरणले मेरो लामो यात्रा सार्थक बनाएको छ। सबैकुरा अत्यन्तै सुन्दर छ।’
हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र नदीमा स्नान गर्दा पापमोचन हुने विश्वास छ। बेंगलुरुबाट आएका ५६ वर्षीय चन्द्रकान्त नागवे पटेलले भने, ‘नदीमा पसेपछि जाडो महसुस नै हुँदैन। म भगवानसँगै छु जस्तो लाग्छ।’
मेलाको समापन फेब्रुअरी २६ मा हुनेछ।
हेर्नुहोस् तस्बिरहरु, सबै तस्बिर : एएफपी
प्रकाशित: १ माघ २०८१ १५:१२ मंगलबार