कर्णाली प्रदेशको कृषि आधुनिकीकरण, रैथाने बालीको अन्तर्राष्ट्रिय बजारीकरण तथा जडिबुटी प्रवर्द्धनका विषयमा कर्णालीका युवा आशिष देवकोटा र नेपालका लागि इजरायली राजदूतबीच छलफल भएको छ।
काठमाडौंस्थित इजरायली दूतावासमा भएको छलफलमा सकारात्मक र विस्तृत रूपमा भएको बताइएको छ। छलफलका क्रममा कागुनो, चिनो, मार्सी चामल, कोदो, रनालो लगायत कर्णालीका रैथाने बालीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने विषयमा विशेष जोड दिइएको छ। साथै यार्सागुम्बा, सिलाजित, पाँचऔँले, सतुवा तथा घुच्ची च्याउजस्ता बहुमूल्य जडिबुटीको संरक्षण, प्रशोधन तथा मूल्य अभिवृद्धिबारे पनि कुराकानी भएको बताइएको छ।
कृषिमा स्नातकोत्तर अध्ययनरत देवकोटाले कर्णालीमा कृषि यान्त्रीकरण, सिँचाइ, प्रशोधन केन्द्र, ब्रान्डिङ तथा आधुनिक कृषि प्रविधिको विस्तार आवश्यक रहेको उल्लेख गर्दै कर्णालीका कृषि विद्यार्थी तथा युवाहरूलाई इजरायलमा अध्ययन र कामको अवसर उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए।
भेटका क्रममा देवकोटाले नेपाली कागजबाट बनेको डायरी मायाको चिनोस्वरूप राजदूतलाई प्रदान गरेका थिए। राजदूतले कर्णालीको कृषि, पर्यटन तथा प्राकृतिक सम्भावनाप्रति रुचि व्यक्त गर्दै आगामी दिनमा कृषि, प्रविधि र सीप विकासका क्षेत्रमा सहकार्य अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले आगामी दिनमा कर्णाली भ्रमण गर्ने इच्छा समेत व्यक्त गरेका छन्।
प्रकाशित: ३ जेष्ठ २०८३ १४:१२ आइतबार





