यस पटकको अमेरिकी राष्ट्रपति निर्वाचनमा जसरी खोलासरि पैसा बगाइएको थियो, त्यसले जुवाको झल्को दिन थालेको थियो। यो जुवामा डोनाल्ड ट्रम्प र कमला ह्यारिस खालमा बसेका थिए। अर्बपति व्यापारी इलन मस्क भने त्यो जुवाको खालमा च्याँखे थाप्न पुगेका थिए। त्यसैले यो चुनावलाई संसारले चाख मानेर हेरिरहेको थियो।
सुरुमा कमला ह्यारिसलाई नियालौं। उनी राष्ट्रपति जो बाइडेनको सहयात्रीका रूपमा चुनिएकी थिइन्। चार वर्षअघि यी दुवैलाई एउटा पर्फेक्ट राजनीतिक जोडीका रूपमा हेरिँदै थियो। समय बित्दै जाँदा जो बाइडेनका कमजोरीहरू छताछुल्ल हुँदै गए। उमेरजन्य कारणले स्मरणशक्ति गुम्दै जानु, आफ्ना कुरा सशक्त रूपमा राख्न नसक्नु, स्वास्थ्यजन्य कारणले बेलाबेलामा ढल्न खोज्नु मात्र नभई उनकै छोराको कतिपय व्यावसायिक गतिविधिका कारणले पनि उनी अलोकप्रिय हुन थाले। अन्ततः चुनाव नजिकिँदै जाँदा उनको विकल्पका रूपमा कमला ह्यारिसलाई निकै ढिला छनोट गर्नुपर्यो।
कमलाको छनोटका सुरुवाती चरणमा उनीप्रति केही आकर्षण नदेखिएको होइन तर जब उनी गम्भीर उम्मेदवार हुन् कि होइनन् भनी परीक्षण हुन थाल्यो, त्यसपछि भने उनको खास कमजोरी देखिन थाल्यो।
खासगरी उनले सर्वसाधारणलाई जो बाइडेनको कार्यकाल र उनको कार्यकालमा खास भिन्नता के हुनेछ भन्ने बुझाउन गाह्रो भयो। सर्वसाधारणको नजरमा टालटुले कार्यकालका लागि कमला ह्यारिसलाई छनोट गरिरहन जरुरी छैन भन्ने जनमत बलियो बन्न थाल्यो। यही कमजोर बुझाइलाई विपक्षीहरूले राम्रोसँग उपयोग गरे।
पहिल्यै तयार पारिएका प्रश्न र तिनका उत्तर त कमलाले सर्वसाधारणमाझ निकै राम्रोसँग दिन्थिन् तर जब कुनै ठाउँमा प्रचारका लागि उभिन्थिन् र पत्रकारहरूले नसोचेको प्रश्न सोध्थे तर त्यस बेला उनले कुनै दह्रो विचार दिन सकेकी थिइनन्। एकपटक त डेमोक्रेटिकहरूको भेलामा स्थानीय पत्रकारले भुइँमान्छेको जीवन परिवर्तनका लागि के भूमिका खेल्नुहुन्छ भनेर सोधेको प्रश्नको जबाफमा उनले सटीक जवाफ दिनुको साटो आफ्नो बाल्यकाल कति कठिन थियो भन्ने चार मिनेटको लामो भाषण दिएकी थिइन्।
अचेल मान्छे सटीक जवाफ चाहन्छ, लामो भाषण होइन भन्ने कमलाले बुझ्न सकिनन्। उनको लामो संघर्षको कथा पढाउन उनले किताबहरू निकालिसकेकी छन्, ती किताब सुपरहिट पनि भइसकेका छन्। यस्तोमा जे जान्न चाहेको हो, त्यसैमा केन्द्रित हुनुपथ्र्यो भन्ने धेरै विश्लेषकहरूको धारणा छ।
कमलाको उपराष्ट्रपतिको खोजीमा धेरै समय व्यतीत भयो र अन्त्यमा टिम वाल्जलाई छनोट गरियो। हुन त उनी मोटिभेसनल स्पिकर थिए तर उनका प्रतिद्वन्द्वी जेडी भान्ससँगको प्रतिस्पर्धामा निकै तल देखिए। उनको कमजोरी यति थियो कि ट्रम्पका उपराष्ट्रपति उम्मेदवार भान्सले त काँचै खाइदिए। कमलाका लागि सबैभन्दा ठुलो फलामे बार पश्चिम एसियाली क्षेत्रमा बढ्दो द्वन्द्व कसरी रोक्ने भन्ने रणनीति थियो। बाइडेन कार्यकालमा यो युद्धले यति भयानक रूप लियो कि रोकिने छाँट नै रहेन। यस्तोमा कमलाको कार्यकालले यो युद्ध रोक्ने ल्याकत छ भन्ने विश्वास सर्वसाधारणमा भएन।
अर्कोतर्फ प्यालेस्टाइन पक्षधरलाई पनि युद्ध रोक्न कमलाले भूमिका खेल्ने कुरामा विश्वास गर्न सकेनन्। इजरायलप्रति नरम धारणा राख्नेहरू पनि ‘इजरायलको आत्मरक्षा गर्ने अधिकार’को कुरामा कमला खासै आकर्षित भइनन्। यसले उनीप्रतिको आकर्षण क्रमशः खुकुलिँदै जान थाल्यो ।
ह्यारिसलाई दह्रो साथ दिन कोही आइपुग्यो भने पूर्वराष्ट्रपति बाराक ओबामा थिए तर समयक्रमसँगै उनको आकर्षण पनि खुइलिँदै जान थालेको थियो। जुन डेमोक्रेट्सहरूले बुझ्न सकेनन्। बाइडेनले पनि अर्कोतर्फ कुनै प्रभावशाली भूमिका खेल्न सकेनन्। कतिसम्म भने एक पटकको भेलामा त उनले ट्रम्पका समर्थकलाई ‘गार्बेज’ (फोहोर) समेत भनिदिए। पछि उनले अमेरिकी जनतालाई नै गार्बेज भनेको प्रति निकै क्रुद्ध प्रतिक्रियाहरू आउन थाले। जसका कारण उनले माफीसमेत माग्नुपर्यो।
आफू पक्षधरलाई राम्रो र विपक्षीका समर्थकलाई फोहोर भन्ने यो क्रम यसअघि हिलारी क्लिन्टनको २०१६ ताका पनि थियो। त्यो बेला क्लिन्टनले ट्रम्प समर्थकहरूलाई ‘बास्केट अफ डिप्लोरेबल्स’ (निन्दायोग्य समूह) भनेकी थिइन्। त्यसबेलाका केही भिडियो फुटेज यतिबेला निकै भाइरल हुन पुगे। जसका कारण सारा डेमोक्रेटिक पार्टी फरक मत राख्ने आफ्नै जनताप्रति राम्रो धारणा राख्दैनन् भन्ने सन्देश पुग्यो। सो सन्देशले अन्ततः कमलालाई घात गर्यो र ट्रम्पलाई फाइदा पुर्यायो।
चुनावमा सबैभन्दा बढी फाइदा लिने व्यक्ति हुन्, इलन मस्क। यसअघि ट्रम्प चुनावी दौडमा छँदा कुनै पनि अर्बपतिले खुला रूपमा समर्थन गरेका थिएनन्। यस पटक इलनले भने सारा हद पार गरिदिए। अन्तरीक्ष कम्पनी स्पेस एक्स, सामाजिक सञ्जाल कम्पनी एक्स (पुरानो ट्विटर), इन्टरनेट कम्पनी स्टारलिंक मात्र होइन, विद्युतीय कार कम्पनी टेस्लासँगै अन्य दुई कम्पनीका संस्थापक ‑सञ्चालक) इलन मस्कले यो चुनावमा खुलेर ट्रम्पका लागि एक सय मिलियन डलर खर्च गरे।
राष्ट्रपतीय चुनावमा मत खसाल्नेहरूमध्येलाई हरेक दिन एक लाख डलर दिने घोषणा गरेर तरंग उत्पन्न गरेका थिए। एक अध्ययनअनुसार यो चुनावमा ट्रम्प र ह्यारिस पक्षले चुनावी प्रचारका लागि मात्र दुई बिलियन डलर खर्च गरेका थिए ।
आखिर किन उनले ट्रम्पलाई समर्थन गरे भन्ने चासो सर्वत्र छ। उनको समर्थनका कारण चुनावी पल्ला ट्रम्पतर्फ भारी हुन पुगेको सत्य हो। संसारभरका युवापुस्ता जस्तै अमेरिकाका पढेलेखेका पुस्ताले उनलाई आदर्श मान्छ। उनको समर्थनले एउटा ठुलो जमातले ट्रम्पलाई समर्थन गर्यो जबकि त्यो जमातलाई राजनीतिसँग कुनै लिनुदिनु नै थिएन। इलन ट्रम्पका प्रशंसक होइनन् तर के बाध्यताले उनलाई ट्रम्पतर्फ आकर्षित गर्यो भनेर अहिले यो चर्चाको विषय बनेको छ।
इलन मस्कको कम्पनीहरूमा उनको नामका लागि मात्र भए पनि एक ट्रिलियन डलर लगानी गर्नेहरू छन्। ती लगानीकर्ताहरूको चिन्ताचाहिँ अमेरिकी फेडरल सत्ताले उनलाई हरेक क्षेत्रमा तगारो हालिरहेको छ। केही समयअघि टेस्ला कम्पनीबाट पाउनुपर्ने अर्बौं डलरको नाफा सेयर पाउनबाट रोक्न अदालतमा मुद्दा नै परेको थियो।
यस्ता मुद्दामा इलनले व्यवसाय झमेलामुक्त हुनुपर्छ भन्ने सन्देश दिन सफल भएका थिए। आफ्नो क्षमता प्रदर्शन गरेर कुस्त कमाउने वातावरण हुनुपर्छ भन्ने धारणा इलनले राख्दै आएका थिए। त्यसको जवाफमा ट्रम्पले झमेला हटाउने आफ्नो अभियान नै रहने जबाफ दिएका थिए। त्यसयता यी दुईबीच मिलन भयो। एउटा भेलामा त ट्रम्पले इलन मस्क दुर्लभ प्राणी भएकाले उनलाई रक्षा गर्नु आफ्नो कर्तव्य रहेको नै भाषण गरे। हालै विजय भाषणमा पनि उनले नयाँ स्टार जन्मिएको भन्दै इलनको प्रशंसा गरेका छन्। यसबाट थाहा हुन्छ, यो चुनाव जित्न इलनको कति ठुलो हात थियो !
ट्रम्प र इलनका केही बानी मिल्दोजुल्दा छन्। उनी पुटिनसँग मिलेर रकेट व्यवसायलाई अर्को उचाइमा पुर्याउनुपर्ने धारणा राख्छन्। उनी अरब क्षेत्रका कतारी र साउदीहरूसँग गएर सामाजिक सञ्जाल एक्समा लगानी गर्न मनाउन सक्छन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग झुत्ती खेलेर स्टारलिंक इन्टरनेट सेवाका लागि भारतमा बाटो खुला गर्छन्। यी सारा आँटका कारण ट्रम्पले जित्नु भनेको विश्व परिवेशमा अमेरिकी प्रभावलाई फराकिलो पार्नु हो भन्ने भान पार्न पनि ट्रम्प र उनको टोलीले सफल भयो।
इलनले ट्रम्प अभियानका लागि एक सय मिलियन डलर खर्च गरे। उनको त्यो खर्च अब कसरी उठ्छ, त्यसको फाइदा कसरी लिनेछन् भन्ने अहिले चासो सर्वत्र बढेको छ। पछिल्लो समय अमेरिकाले गाउँगाउँमा इन्टरनेटलाई बिछ्याउन नयाँ बजेट विनियोजन गरेको छ र ४२ बिलियन डलरको अभियान सुरु गरेको छ। यसका लागि फाइबर अप्टिकभन्दा स्टारलिंक उपयुक्त हुने धारणा बलियो हुँदै जाँदा उनले ठुलो आर्थिक फाइदा तत्काल पाउने देखिएको छ।
इलनले जुन जुवा ट्रम्पलाई जिताउन खेलेका थिए, आधा जुवा जितिसकेका छन्। बाँकीको फाइदा केके हुने हुन्, समयक्रममा खुल्दै जानेछन्। तर केही समयअघिसम्म ट्रम्प विद्युतीय गाडीका विरोधी थिए। अहिले भने उनको बोली फेरिएको छ। उनले भनेका छन्, ‘मलाई इलनले सहयोग गरेका छन्, त्यसैले म विद्युतीय गाडीको विरोधमा छैन।’
स्टारलिंकमार्फत अमेरिकी सरकारको गाउँ जोड्ने इन्टरनेटको बिक्री, टेस्ला विद्युतीय कारमा विशेष किसिमको छुटलगायत अहिले तत्कालै देखिने फाइदाका रूपमा इलनले पाउनेछन्। त्यस्तै स्टार एक्स नामक उनको रकेट कम्पनीलाई नासा र अमेरिकी सरकारले ४२ अर्ब डलरभन्दा बढी रकम बक्यौता तिर्न बाँकी छ। त्यो पनि ट्रम्पले सत्ता सम्हाल्नेबित्तिकै उनको कम्पनीले पाउने सम्भावना बढेको छ। जब कुनै अर्बपतिको व्यापार दाउमा लाग्छ, उसले कुन हदसम्म जुवा खेल्न सक्छ भन्ने उदाहरण इलन मस्क बन्न पुगेका छन्। त्यसैले यो चुनावमा कसैलाई ठुलो फाइदा भएको छ भने इलन मस्कलाई भएको छ।
प्रकाशित: २४ कार्तिक २०८१ ०६:५९ शनिबार