७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ह्वाइटहाउसमा ट्रम्प फिर्तीको अर्थ

टिप्पणी

राष्ट्रपति निर्वाचनमा विजयउन्मुख भएपछि डोनाल्ड ट्रम्प फ्लोरिडाको वेस्ट पाम बिचमा बुधबार पूर्व प्रथम महिला मेलानिया ट्रम्पलाई अँगालो हाल्ने क्रममा।

अमेरिकी राष्ट्रपति निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड जे ट्रम्पले आफ्नो जित दोहो¥याएका छन्। यसअघिको निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेनसँग पराजित भएका उनी आफ्नो यो जितको तयारीमा निरन्तर लागिरहेका थिए।

अमेरिकाको ४५औं र ४७औं राष्ट्रपतिको रूपमा उनले आफूलाई स्थापित गरेका छन्। ट्रम्पका यी दुई विजय महिला उम्मेदवारलाई पराजित गरेर हासिल भएका हुन्। अघिल्लो निर्वाचनमा उनले हिलारी क्लिन्टनलाई पराजित गरेका थिए। यसपटक उनले वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति बन्नबाट रोकेका हुन्। ट्रम्प यसअघि नै बाइडेनलाई पराजित गरेर राष्ट्रपति कार्यकाल दोहोर्‍याउन इच्छुक थिए। बाइडेनले ट्रम्पलाई लगातार दुई कार्यकाल राष्ट्रपति हुनबाट रोके पनि यसपटक उनले जित निकाले।

अमेरिकी राष्ट्रपति निर्वाचन विश्वकै निम्ति एउटा महत्त्वपूर्ण राजनीतिक परिघटनाका रूपमा हुने गरेको छ। अमेरिकाले आफ्नो कार्यकारी प्रमुख छान्न निर्वाचन गर्ने भए पनि त्यसका तरंगले सबैलाई छुन्छ। अमेरिकाले लिने निर्णयबाट विश्वका सबैजसो मुलुक कुनै न कुनै रूपमा प्रभावित हुन्छन्।

विश्व व्यवस्थामा अमेरिकी उपस्थिति अर्थपूर्ण हुन्छ। त्यो आजको जल्दोबल्दो जलवायु संकटदेखि शरणार्थी समस्यासम्म केन्द्रित हुन्छ। अन्तर्राष्ट्रिय मञ्चमा अमरिकाले लिने अडानको बेग्लै अर्थ र शक्ति हुन्छ। विश्व संस्थाहरूले उदारवादी दृष्टिकोण राखेर काम गर्नसक्ने वा नसक्ने अवस्था पनि अमेरिकाको अडानले निर्धारण गर्छ। त्यसमा कुने न कुनै रूपमा त्यहाँका कार्यकारी प्रमुखको भूमिका रहन्छ।

कस्ता व्यक्तिलाई कार्यकारी प्रमुख बनाउने भन्ने अमेरिकी जनताको निर्णय हो। तैपनि महिला राष्ट्राध्यक्ष चुन्ने ऐतिहासिक अवसर यसपटक पनि अमेरिकी जनताले गुमाएका छन्। मुलुकमा ४७औं राष्ट्रपति बन्दा एकजना पनि महिलाले त्यो स्थान नपाउनु आफैंमा अनौठो लाग्ने घटना हो। कैयौं नयाँ लोकतान्त्रिक मुलुकले समेत महिलालाई उच्चासनमा राखिसकेका छन्। यसरी हेर्दा अझै पनि अमेरिकामा एउटा वर्गले कहिल्यै पनि महिला र सीमान्तकृत वर्गलाई उच्चासनमा पुग्न दिँदैन भन्ने पुष्टि गर्छ।

यस पटकको निर्वाचनबाट ‘अमेरिकालाई फेरि महान् बनाऔं’ भन्ने ट्रम्पको नारालाई समर्थन प्राप्त भएको छ। उनले आप्रवासीविरुद्ध सशक्त अभियान चलाउने र धनीलाई लाग्दै आएको कर कम गर्ने आश्वासन दिएका छन्। यस हिसाबमा अमेरिकामा सबैका निम्ति सहज पहुँच दिन हुन्न भन्ने र धनी मानिसको हित रक्षा गर्नुपर्छ भन्ने मान्यताले अनुमोदित हुने मौका पाएको छ। राष्ट्रपति निर्वाचनमा कमला ह्यारिस विजयी भएको भए गर्भपतन अधिकार र अन्य उदारवादी सुधार योजना कार्यान्वयनमा आउने अपेक्षा गरिएको थियो।

अमेरिकी निर्वाचन परिणामलाई विश्वले चासोपूर्वक हेर्नुमा अनेक अजेन्डाले भूमिका खेलेका छन्। यतिबेला रुस–युक्रेन, इजरायल–हमास लगायत युद्धमा छन्।

अन्य कतिपय क्षेत्र पनि तनावमा छन्। यस्तो स्थितिमा ट्रम्पले नेतृत्व गरेको अमेरिकाले ‘न्याय’ का निम्ति कसरी काम गर्छ भन्ने उत्सुकता धेरैमा छ। उनले आफ्नो पहिलो कार्यकाल (४५औं राष्ट्रपति) मा उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनसँग सिंगापुरमा गरेको वार्ताका आधारमा पनि निर्णायक काम गर्न अग्रसर नेताको परिचय बनाएका थिए। यस कारण विश्व शान्तिका निम्ति उनले भूमिका निर्वाह गर्न सके भने आगामी कार्यकाल सफल हुने छ।

ट्रम्प र ह्यारिसमध्ये जसले जिते पनि यस पटकको निर्वाचन परिणामले इतिहास बनाउने आकलन हुँदै आएको हो। अन्ततः ट्रम्पको जितबाट पनि नयाँ इतिहास बनेको छ। निर्वाचनमा पराजित भइसकेका व्यक्ति पुनः राष्ट्रपति बन्ने इतिहास ट्रम्पले दोस्रो पटक बनाएका छन्। यसअघि सन् १८९३ मा डेमोक्र्याटिक पार्टीका ग्रोभर क्लिभल्यान्डले यसैगरी दोस्रो पटक चुनाव जितेका थिए। यस पटकको निर्वाचन परिणामले पनि मत सर्वेक्षण र आकलनहरूलाई फेरि छक्याएको छ। मत सर्वेक्षणले ट्रम्प र ह्यारिस दुवैबीच तीव्र प्रतिस्पर्धा हुने देखाएकोमा ट्रम्पले सजिलै जित हात पारेका छन्।

अमेरिकी निर्वाचनमा केही छुट्टै अभ्यास रहँदै आएका छन्। लोकप्रिय मत बढी ल्याएर मात्र कुनै पनि व्यक्ति राष्ट्रपति बन्न सक्दैन। त्यस्तो हुँदो हो त अघिल्लो पटक ट्रम्पको ठाउँमा हिलारी क्लिन्टन राष्ट्रपति बन्ने थिइन्। त्यसैगरी दोस्रो पटकमा वाइडेनको ठाउँमा ट्रम्प हुने थिए।

राष्ट्रपति पदका कुल ५ सय ३८ इलेक्ट्रोल कलेजको निर्वाचनमा २ सय ७० मत ल्याउने उम्मेदवार विजयी हुन्छन्। यस पटकको निर्वाचनमा ट्रम्पले त्यो आकडा पार गरिसकेका मात्र छैनन्, अन्तिम परिणाम सार्वजनिक हुँदा तीन सयभन्दा बढी मत ल्याउने प्रक्षेपण गरिएको छ। यसपटक ट्रम्प राष्ट्रपति मात्र बनेका छैनन्, बरु उपल्लो सदन सिनेट र तल्लो सदन प्रतिनिधिसभामा समेत उनको पार्टी रिपब्लिकनले बहुमत हासिल गर्ने प्रचुर सम्भावना देखिएको छ।

अमेरिकी संविधानअनुसार नोभेम्बर ५ तारिख अर्थात् पहिलो सोमबारपछिको मंगलबार निर्वाचन सम्पन्न हुन्छ। त्यसैगरी जनवरी २० मा निर्वाचित राष्ट्रपतिले पदभार ग्रहण गर्छन्। ट्रम्पको निर्वाचनका बेला दुई पटक हत्या प्रयाससमेत भएको थियो। विजय सुनिश्चित भएपछि उनले बुधबार आफ्ना समर्थकलाई फ्लोरिडामा सम्बोधन गर्दै ‘अमेरिकाले आफूलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको उद्घोषसमेत गरेका छन्।

ट्रम्पको विजयसँगै नेपाललगायत अल्पविकसित मुलुकलाई हेर्ने उनको दृष्टिकोण तथा बढ्दो जलवायु संकटको प्रभाव न्यूनीकरण गर्न अमेरिकाले नेतृत्व गरिरहेको भूमिका यथावत् रहन्छ कि रहँदैन भन्ने चासो बढेको छ। यसअघि उनले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिकालाई निकालेका थिए। फेरि राष्ट्रपति बाइडेनले उक्त सम्झौतामा सहभागिता जनाएका थिए। आगामी दिनमा ट्रम्पले यस क्षेत्रमा लिन सक्ने अडानबारे चासो व्यक्त भइरहेको छ। हामी आशा गर्छौं– अमेरिकाले प्रदान गर्दै आएको नेतृत्वदायी भूमिका कायमै रहने छ।

राष्ट्रपति रामचन्द्र पौडेलले ट्रम्पको विजयमा बधाई दिँदै उनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गरेका छन्। यो विजयका निम्ति हामी ट्रम्प र अमेरिकी जनतालाई बधाई दिन्छौं।

प्रकाशित: २२ कार्तिक २०८१ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App