२१ कार्तिक २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘स्विङ स्टेट’मा पनि ट्रम्प हाबी, सिनेटमा रिपब्लिकनको बहुमत

अमेरिकाको राष्ट्रपतीय निर्वाचनअन्तर्गत जारी मतगणनामा ‘स्विङ स्टेट'हरूमा पनि रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । मूलतः निर्वाचनलाई निर्णायक नतिजा दिने राज्यहरूलाई स्विङ स्टेट भनेर चिनिन्छ । ती राज्यहरू रिपब्लिकन वा डेमोक्रेटिक पार्टी नभनेर उम्मेदवार हेरी निर्णायक मत दिन्छन् ।   अमेरिकामा एरिजोना, जर्जिया, मिसिगन, नेवाडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया र विस्कान्सिन राज्यलाई स्विङ स्टेट मानिन्छ । 

स्विङ स्टेट मानिने नर्थ क्यारोलाइना र जर्जियामा ट्रम्पले जित नै निकालिसकेका छन् । यी दुई राज्यबाट उनले १६-१६ इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन् । यस्तै अन्य थप पाँच स्विङ स्टेटको नतिजा आउन बाँकी छ । जसमा पनि ट्रम्पकै अग्रता रहेको बिबिसीले जनाएको छ । 

अमेरिकामा हालसम्म गणना भएको मत परिणाम अनुसार ट्रम्पले २४८ इलेक्टोरल कलेज भोट प्राप्त गरेर जिततर्फ अग्रसर देखिएका छन् । उनले जित निकाल्न अझै २२ इलेक्टोरल कलेज भोट जित्नु आवश्यक छ । 

ट्रम्पकी प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २१४ इलेक्टोरल कलेज भोट प्राप्त गरेकी छन् । यो आँकडा न्यु योर्क टाइम्सको हो । 

उता सिनेटमा भने ट्रम्पको पार्टी रिपब्लिकनले ५१ सिट जितेर बहुमत हासिल गरिसकेको छ । डेमोक्रेटिक पार्टीले ४२ सिट मात्रै हासिल गरेको छ । 

हाउस अफ रिप्रेजेन्टेटिभ (प्रतिनिधिसभा)मा पनि रिपब्लिकन नै अगाडि देखिएको छ । हालसम्म उसले १८९ सिट जितेको छ भने डेमोक्रेटिक १६३ सिटसहित पछ्याइरहेको छ । यो संसद्मा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । 

प्रकाशित: २१ कार्तिक २०८१ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App