१५ पुस २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलमाथि ईरानको आक्रमणः दुबै देशले दिए एक अर्कालाई चेतावनी

ईरानले इजरायलमाथि आक्रमण गरेको छ। ईरानको सरकारी टेलिभिजनमा ईरानको इस्लामिक रेभोल्यूशनरी गार्ड कोरको तर्फबाट बयान जारी गर्दै इजरायलमाथि आक्रमण गरेको पुष्टि गरिएको छ। साथै इजरायललाई जवाफी आक्रमण नगर्न चेतावनी पनि दिइएको छ।

मङ्गलवार राति करिब १ सय ८० मिसाइलले इजरायलमाथि आक्रमण गरिएको बताइएको छ। तर, आक्रमणमा कुनैपनि मानवीय क्षति भने हालसम्म नभएको बताइएको छ।

बीबीसीका अनुसार रेभोल्यूशनरी गार्ड्सले हमास नेता इस्माइल हानिया, हिजबुल्लाह प्रमुख  हसन नसरुल्लाहको मृत्युका साथै लेबनान र प्यालेस्टाइनका नागरिकको मृत्युको जवाफमा आक्रमण गरिएको बताएको छ।

यता, इजरायलमाथि ईरानी आक्रमण पछि नेताहरूले एक अर्कालाई चेतावनी दिन थालेका छन्।

ईरानका राष्ट्रपति मसूद पेजेश्कियानले ईरानले गरेको आक्रमणको बचाव गर्दै इजरायली प्रधानमन्त्रीलाई चेतावनी दिएका छन्।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘वैधानिक अधिकारका साथ ईरान र क्षेत्रको शान्ति र सुरक्षाका लागि निर्णायक प्रतिक्रिया दिइएको हो। ईरानको हित र नागरिकको सुरक्षाका लागि हो यो आक्रमण।’

उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई लक्षित गर्दै भनेका छन्, ‘इजरायली प्रधानमन्त्रीले बुझ्न आवश्यक छ की ईरान युद्धको पक्षमा छैन। तर, कुनैपनि खतराविरुद्ध बलियो भएर लड्न सक्छ।’

उनले आजको आक्रमण ईरानको क्षमताको झलक मात्रै भएको र ईरानसँग सङ्घर्षमा सहभागी नहुन इजरायललाई चेतावनी दिएका छन्।

ईरानको बयान पछि अब इजरायली प्रधानमन्त्री नेतन्याहूले पनि बयान जारी गर्दै चेतावनी दिएका छन्।

उनले ईरानले ठूलो गल्ती गरेको र त्यसको मूल्य उसले चुकाउनुपर्ने बताएका छन्।

इजरायल आफ्नो शत्रुविरुद्ध बदला लिनका लागि प्रतिबद्ध रहेको भन्दै ईरानी आक्रमणको कडा जवाफ दिने चेतावनी दिए।

यता, अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी सेनालाई इजरायलको सहयोग गर्नका लागि आदेश दिएका छन्।

बाइडनले सेनालाई ईरानी आक्रमणबाट इजरायलको रक्षा गर्न र इजरायलको तर्फबाट गरिने मिसाइललाई नष्ट गर्न पनि आदेश दिएका छन्।

प्रकाशित: १६ आश्विन २०८१ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App