इजरायल र हिजबुल्लाहबीच बढ्दो सङ्घर्षलाई ध्यानमा राखी अमेरिका, युरोपियन युनियन र अन्य सहयोगी देशहरूले २१ दिनको युद्धविरामका लागि प्रस्ताव गरेको छ।
अमेरिका, युरोपियन युनियन र अन्य ११ सहयोगी देशहरूले हिजबुल्लाह र इजरायलबीच उत्पन्न समस्याबाट निस्कन र गाजामा युद्धविरामका लागि उक्त प्रस्ताव गरेको हो।
बीबीसीका अनुसार अमेरिका, ईयू र सहयोगी देशहरूले इजराइल, लेबनान, प्यालेस्टाइनमा उत्पन्न दुश्मनी सह्यभन्दा बाहिर रहेको बताएका छन्।
उनीहरूले उत्पन्न स्थितिले विश्वमै युद्धको खतरा उत्पन्न भएको भन्दै यो कसैको हितमा नभएको पनि बताएका छन्।
इजरायलले लेबनानमा प्रवेश गरेर आक्रमणको तयारी गरिरहेको समय उक्त युद्धविरामको प्रस्ताव आएको हो। अब इजरायल र लेबनानले उक्त प्रस्तावलाई लिएर कस्तो निर्णय गर्छ भनेर हेर्न बाँकी छ।
पछिल्लो समय इजरायल लगातार लेबनानमाथि आक्रमण गर्दै आइरहेको छ। जसमा लेबनानका शीर्ष नेतासहित ६ सय जनाको मृत्यु भइसकेको छ।
प्रकाशित: १० आश्विन २०८१ १०:३१ बिहीबार