१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

४४ र ६० बुढ्यौली चम्किने बिन्दु

सामान्यतया मानिसको बुढ्यौली प्रक्रिया बिस्तारै र स्थिर हिसाबले अगाडि बढ्ने मानिन्छ। अनुहारमा चाउरी पर्नु, शरीरमा दुखाइको अनुभूति हुनु र अकस्मात आफूलाई वृद्ध भएको ठान्नु बुढ्यौलीको वैज्ञानिक व्याख्या हुन सक्छ।

तर अमेरिकामा गरिएको पछिल्लो एक अध्ययनले दुई निश्चित उमेर अर्थात् ४४ र ६० वर्षमा बुढ्यौली ह्वात्तै बढ्ने गरेको देखाएको छ। अनुसन्धानकर्ताले २५ देखि ७५ वर्ष उमेर समूहभित्रका मानिसको शारीरिक अणुहरूको समीक्षात्मक अध्ययन गर्ने क्रममा ४४ र ६० वर्ष उमेरवरपर बुढ्यौली प्रक्रियाले अकस्मात् तीव्रता पाउने निष्कर्ष निकालेका छन्। नेचर एजिङ जर्नलमा प्रकाशित उक्त अनुसन्धानको निष्कर्षले मांसपेशी, हाडजन्य, हृदयरोगलगायत स्वास्थ्य समस्या खास उमेरमा किन बढ्छन् भन्ने विषयलाई प्रस्ट्याउन सक्ने वैज्ञानिक धारणा छ।

‘हामी समयको कालखण्डसँगै बिस्तारै परिवर्तन हुँदैनाैं। हामीमा खास उमेरमा नाटकीय परिवर्तन हुने देखिएको छ,’ अध्ययनका लेखकसमेत रहेका स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक माइकल स्नाइडरले भनेका छन्।

‘शरीरमा नाटकीय परिवर्तनका लागि ४४ र ६० वरपरको उमेर वर्ष महŒवपूर्ण हुने देखिएको छ। शरीरका हरेकखाले अंगका अणुहरूलाई अवलोकन गर्दा यही कुरा सत्य देखिएको छ’, उनले भनेका छन्।

अनुसन्धानका क्रममा १०८ स्वयंसेवीले केही महिना र वर्षको अन्तरालमा रगत, दिसा, छाला, सिँगानका नमुना अध्ययनका लागि उपलव्ध गराएका थिए। अध्ययनकर्ताले ती नमुनामा रहेका आरएनए, प्रोटिन, मेटाबोलाइट्सलगायत १ लाख ३५ हजार विभिन्न अणु (मोलुकुल्स) तथा आन्द्रा एवं छालामा रहेका ब्याक्टेरिया, भाइरस तथा फन्जाइको निरन्तर अध्ययन गरेका थिए।

अधिकांश नमुनाको अणु तथा सूक्ष्मजीवहरूको प्रचुरतामा क्रमिक रूपमा परिवर्तन नभएको अध्ययनले देखायो। नतिजा त्यस्तो आएपछि अनुसन्धानकर्ताले फेरि खासखास परिवर्तन भएका अणुहरूको झुन्डमा अध्ययन केन्द्रित गरे। त्यसो गर्दा ४४ र ६० वर्ष उमेर हाराहारीमा त्यस्ता खाले परिवर्तनको प्रवृत्तिमा तीव्रता आएको वैज्ञानिकले फेला पारेका थिए।

विशेषगरी महिलाको हकमा उमेरको चार दशक वर्षको मध्यमा बुढ्यौलीमा अनपेक्षित तीव्रता आउनु रजोनिवृत्तिसँग सम्बन्धित परिवर्तनलगायतका कारण मानिएको थियो। तर यस्ताखाले परिवर्तन त्यही उमेर समूहका पुरुषमा पनि देखियो।

‘यसले के संकेत गर्छ भने रजोनिवृत्ति अथवा त्यो प्रक्रियावरिपरिको उमेरका कारण मात्र बुढ्यौली हुने नभै अन्य कारण पनि जिम्मेवार हुने देखिएको छ। यो महिला र पुरुष दुवैमा लागु हुन्छ,’ अध्ययनका प्रमुख लेखकसमेत रहेका नानयाङ टेक्नोलोजिकल युनिभर्सिटी सिंगापुरका अध्येता डा. जिओटाओ सेन भन्छन्।

परिवर्तनको पहिलो लहरअन्तर्गत हृदयरोगसँग जोडिएका अणुहरू, क्याफिन, अल्कोहल र लिपिड्सलाई पाचन गर्ने क्षमतामा परिवर्तन देखिएको थियो।

यसैगरी परिवर्तनको दोस्रो लहरमा प्रतिरक्षा प्रणालीको नियमन, कार्बोहाइड्रेटको पाचन तथा मिर्गाैलाको नियमित कार्यमा सम्बद्ध अणुहरूमा परिवर्तन देखिएको थियो। यसैगरी छाला र मांसपेशी बुढ्यौलीसँग जोडिएका अणुहरू दुवै समयबिन्दुमा परिवर्तन भएको देखिएको थियो। यसअघिका अनुसन्धानले ७८ वर्ष उमेरहाराहारीमा बुढ्यौलीमा तीव्रता आउने देखाएका थिए।

उमेरजन्य रोगहरूको जोखिम क्रमिक हिसाबले बढ्ने नभै ६० वर्ष उमेरपछि अल्जाइमर र मुटुजन्य रोगहरूको लाग्न सक्ने यसअघिका प्रमाणलाई पछिल्लो अध्ययनले पनि पुष्टि गरेको छ।

यसैगरी कतिपय परिवर्तन जीवनशैली तथा आनीबानीजन्य कारणसँग पनि जोडिएको हुन सक्ने मानिएको छ। उदाहरणका लागि चार दशक उमेर वर्षको मध्यमा अल्कोहल बढी सेवन गर्दा पाचन प्रक्रियामा धेरै दबाव सिर्जना हुने र जुन जीवनको तनावपूर्ण अवधि हुन सक्ने मानिन्छ।

पछिल्लो अध्ययन नतिजाअनुसार खासखास उमेरको अवधिमा मांसपेशीमा हुने क्षयलाई न्यून गर्न शारीरिक व्यायाम गर्न सकिने अनुसन्धानकर्ताले बताएका छन्। ‘हामीले स्वस्थ भएकै बेला जीवनशैलीलाई ख्याल गर्नुपर्छ भन्ने कुरामा मैले सधै विश्वास गरेको छु,’ अनुसन्धानका लेखक स्नाइडर भन्छन्।

–गार्जियनबाट साभार

प्रकाशित: १ भाद्र २०८१ ०६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App