३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तालिबान सत्तारोहणको ३ वर्षः बढ्दो मानवीय संकटकाबीच कसैले दिएन मान्यता

तालिबानले अफगानिस्तानको सत्तामाथि कब्जा गरेको आज ३ वर्ष पूरा भएको छ।

सन् २०२१ को अगष्ट १५ मा २० वर्षपछि अफगानिस्तानको सत्तामा फर्केको तालिबानले आफ्नो वार्षिकोत्सव मनाएको छ।

अमेरिका समर्थित सरकार ढलेपछि र यसका नेताहरू निर्वासनमा भागेपछि तालिवान सेनाले राजधानी काबुल कब्जा गरेको थियो।

संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक रङ्गभेद’ भनिने नीतिको मार झेलिरहेका महिलामाथिको प्रतिबन्धका कारण सरकार अन्य कुनै पनि राज्यबाट मान्यता प्राप्त गर्न सकेको छैन।

सत्तामा ३ वर्ष पूरा भएको अवसरमा पूर्व अमेरिकी बगराम एयर बेसमा गरिएको सभालाई सम्बोधन गर्दै तालिबानका प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले इस्लामिक शासन कायम राख्नु र राष्ट्रियताको सुरक्षा गर्नु आफ्नो सरकारको प्रमुख लक्ष्य रहेको बताए।

उनले भने, ‘इस्लामिक शासन कायम राख्ने, सम्पत्तिको रक्षा गर्ने, जनताको जीवन रक्षा गर्ने र हाम्रो राष्ट्रको सम्मान गर्ने जिम्मेवारी तालिबान सरकारको हो।’

बढ्दो मानवीय सङ्कट  

तालिवान अधिकारीहरूको लागि सुरक्षा एक प्रमुख प्राथमिकता रहेको छ र धेरै अफगानी नागरिकले लगातार २० वर्षको द्वन्द्वको अन्त्यमा राहत व्यक्त गरे तापनि अर्थव्यवस्था सङ्कटमा छ र समाजले बढ्दो मानवीय सङ्कटको सामना गरिरहेको छ।

अन्तर्राष्ट्रिय गैरसरकारी समूहको संयुक्त वक्तव्यमा दुई करोड ३७ लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको भन्दै सहायता कोषको खाडल बढ्दै गएको चेतावनी दिइएको छ।

ह्युमन राइट्स वाच (एचआरडब्लु) ले सार्वजनिक जीवनबाट वञ्चित र माध्यमिक तथा उच्च शिक्षाबाट प्रतिबन्धित महिलामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न तालिबान सरकारलाई दबाब दिन आग्रह गरेको छ।

‘तालिबानले कब्जा गरेको तेस्रो वर्षगाँठ अफगानिस्तानको मानव अधिकार सङ्कटको गम्भीर सम्झना हो, तर यो कार्यको आह्वान पनि हुनुपर्छ,’ एचआरडब्ल्यूका लागि अफगानिस्तानका अनुसन्धाता फेरेस्ता अब्बासीले भने। रासस

प्रकाशित: ३१ श्रावण २०८१ ०९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App