११ असार २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसको सम्पत्ति उसैविरुद्धको युद्धमा प्रयोग हुने

रुसको सम्पत्ति उसैविरुद्धको युद्धमा प्रयोग हुने भएको छ। जी–७ देशहरूले रुसी सम्पत्तिबाट असुल गर्नेगरी युक्रेनलाई ५० बिलियन अमेरिकी डलरको ऋण दिएका हुन्। सो रकम ६६ खर्ब ५० अर्ब नेपाली रुपैयाँभन्दा धेरै हो।

युक्रेनले उक्त ऋण रुसविरुद्धको युद्धमा सैन्य खर्च र रुसले ध्वस्त गरेका संरचनाको पुनः निर्माणमा खर्च गर्न पाउने भएको छ। तर ऋण भने आफै तिर्न पर्ने छैन। जि–७ देशसहित पश्चिमा देशहरूले उक्त ऋण आफ्नो देशमा रहेको रुसी सम्पत्तिबाट असुल गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

करिब २८ महिनाअघि रुसले युक्रेनमा सैन्य हमला सुरु गरेको थियो। त्यसयता दुवै देशबीच युद्ध भइरहेको छ। संयुक्त राज्य अमेरिका लगायतका पश्चिमा देशहरूले युक्रेनमा रुसी हमलाको विरोध गर्दै आएका छन्।

यस्तै, युक्रेनलाई युद्धमा सहयोग पुर्‍याउन वित्तीय तथा सैन्य सामग्री सहयोग गर्दै पनि आएका छन्। पश्चिमा शक्तिको सहयोगप्राप्त युक्रेनलाई परास्त गर्न रुसलाई निकै सकस परिरहेको छ।

युक्रेनमाथि हमला गरेको रुसमाथि पश्चिमी देशहरूले विभिन्न किसिमका नाकाबन्दी समेत लगाइरहेका छन्। यस्तै युक्रेनमाथि आक्रमण नरोकिए आफ्नो देशमा रहेको रुसी सम्पत्ति जफत हुने पनि धम्की दिँदै आएका थिए।

२०२२ मा ती देशहरूले रुसी सम्पत्ति रोक्का समेत गरेका छन्। त्यही रोक्का रुसी सम्पत्तिबाट असुल हुनेगरी जि–७ देशहरूले युक्रेनलाई ऋण दिन लागेका हुन्।

रोक्का भएको रुसी सम्पत्ति कति ?

विश्वव्यापी विनिमयमा हुनसक्ने अप्रत्याशित उतारचढावमा सन्तुलन कायम गर्न विभिन्न देशका केन्द्रीय बैंकले विदेशी बैंकमा आफ्नो देशको सम्पत्ति राख्ने अभ्यास छ। जसलाई वैश्वक आर्थिक अस्थिरताबाट बच्ने औजारका रुपमा पनि लिइन्छ।

यही प्रक्रियाअनुसार रुसले जी–७ देशसहितका पश्चिमा देशका बैंकहरूमा करिब ३०० बिलियन अमेरिकी डलर रुसी सम्पत्ति छ। जी–७ देशहरूमा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत छन्। त्यसमा युरोपियन युनियन पनि समावेश छ।

रोयटर्सका अनुसार फ्रान्समा ७१ बिलियन, जापानमा ५८ बिलियन, जर्मनीमा ५५ बिलियन, अमेरिकामा ३८ बिलियन, बेलायतमा २६ बिलियन, अस्ट्रियामा १७ बिलियन र क्यानडामा १६ बिलियन रुसी सम्पत्ति छ। युक्रेनमा रुसी हमलापछि ती देशहरूले उक्त सम्पत्ति रोक्का गरेर राखेका छन्।

त्यो सम्पत्तिबाट वार्षिक तीन बिलियन अमेरिकी डलर ब्याज आउँछ। त्यही ब्याजबाट युक्रेनको ऋण असुल गर्ने जी–७ देशहरूको योजना छ।

अमेरिकाले रोक्का गरिएको रुसी सम्पत्ति युक्रेनको सहयोगमा लगाउनुपर्ने प्रस्ताव लामो समयदेखि गर्दै आएको थियो। उसकै प्रस्तावअनुसार अहिले यो ऋणको उपाय आएको बताइएको छ।

युक्रेन खुसी, रुस आक्रोशित

जी–७ राष्ट्रले रुसी सम्पत्तिबाट असुल गर्नेगरी युक्रेनलाई ५० बिलियन अमेरिकी डलर सहयोग गरेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुसी व्यक्त गरेका छन्। जी–७ को शिखर सम्मेलनमा सहभागी हुन पुगेका जेलेन्स्कीले जी–७ को यो निर्णयले युक्रेनलाई रुससँगको युद्ध जित्न महत्त्वपूर्ण कदम भएको बताए।

तर रुसले भने त्यो कदमको कडा विरोध गरेको छ। राष्ट्रपति त्यसलाई चोरीका रुपमा परिभाषित गर्दै दण्डनीय कदम भनेका छन्। आफ्ना विदेश मन्त्रालयका अधिकारीसँगको बैठकमा बोल्दै पुटिनले भने, ‘जुनसुकै भ्रम सिर्जना गरेपनि चोरी चोरी नै हुन्छ। र यो दण्डित हुन्छ।’

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको समाचार

प्रकाशित: २ असार २०८१ १६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App