५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘बुबालाई थाहा थिएन आमाको पूरा नाम’: भियतनाम युद्धका ‘अनिच्छित’ सन्तान

थाई आमा र अमेरिकी पिताबाट जन्मिएका जेनी स्टुबर (बायाँ) र मोरिस के प्ली रोबर्टस्। अहिले प्रौढावस्थामा पुगेका उनीहरूले आआफ्ना बाबुको पहिचान गरिसकेका छन्। तस्बिर: बिबिसी

भियतनाम युद्धताका अमेरिकाले उत्तरी भियतनाममा बम प्रहार गर्न थाइल्यान्डका हवाई अड्डाहरूको प्रयोग गरेको थियो। थाइल्यान्डमा हजारौं अमेरिकी सैनिकहरू तैनाथ थिए र तिनीहरूमध्ये धेरैले स्थानीय महिलाको कोखबाट बच्चा जन्माए। अमेरिकी सैनिकहरू युद्धपछि घर फर्किए तर उनीहरूले जन्माएका बच्चाहरू त्यही नै रहे। युद्धको ५० वर्षपछि डिएनए परीक्षणले तिनीहरूलाई आफ्ना जैविक पिताहरूसँग पुनर्मिलन गर्न मद्दत गरिरहेको छ।

जेनी स्टुबरको जन्म सन् १९७० मा एक थाई महिलाको कोखबाट भएको थियो। उनी जन्मेको स्थान बैंककबाट १४० किलोमिटर दक्षिणपूर्वस्थित युतापाओ हवाई अड्डा (एयरबेस) नजिकै थियो। जेनी भन्छिन्, ‘मेरी आमाले मलाई सँगै राख्न सक्नुभएन। मलाई उहाँले आफ्नी साथीको हातमा सुम्पिदिनुभयो तर उहाँबाट पनि मेरो पालनपोषण हुन सकेन।’

जेनीलाई अन्ततः पर्ल एस बक फाउन्डेसनको जिम्मा लगाइयो। यो युद्धमा जन्मेका बालबालिकालाई सहयोग गर्ने अन्तर्राष्ट्रिय संस्था थियो। त्यतिबेला जेनी तीन हप्ताकी थिइन्। उनका बाबुका बारेमा कसैलाई थाहा थिएन। केवल यति मात्र थाहा थियो, उनी युतापाओमा तैनाथ एक अमेरिकी सैनिक थिए।

भियतनाम युद्धको दौरानमा अमेरिकाले थाइल्यान्डमा बमवर्षक विमानहरूका लागि आठवटा एयर बेस र आधारभूत एयरफिल्ड स्थापना गरेको थियो। यसैगरी सन् १९५६ देखि १९७१ का बीचमा उत्तर कोरियाको कम्युनिस्ट शासनविरुद्ध लड्न प्रत्येक वर्ष हजारौं अमेरिकी सैनिक थाइल्यान्ड पठाइएका थिए।

अमेरिकी डिपार्टमेन्ट अफ भेटेरान्स अफेयर्सको रेकर्डअनुसार यो युद्धमा दक्षिण एसियामा कुल ३४ लाख अमेरिकी तैनाथ थिए। शीतयुद्धताका साम्यवादको सम्भावित फैलावटका कारण अमेरिका चिन्तित थियो।

विशेषगरी ‘डोमिनो सिद्धान्त’का अनुसार यदि एक एसियाली देश वामपन्थी विचारधारातर्फ अघि बढ्यो भने अरू देशले पनि त्यसको पदचाप पछ्याउने डर थियो। युद्धको चरम अवस्थामा झन्डै ५० हजार अमेरिकी सेना थाइल्यान्डमा तैनाथ थिए। यसबाहेक अन्य हजारौं अमेरिकी आराम र मनोरञ्जनका लागि थाइल्यान्ड भ्रमण गर्थे।

अमेरिकी सैन्य अड्डाका वरपर बार, नाइटक्लब, वेश्यालय र मनोरञ्जन स्थलहरू यथेष्ट थिए। अधिकांश सैनिकको स्थानीय महिलासँग अनौपचारिक सम्बन्ध थियो। जेनी पनि त्यस्तै सम्बन्धबाट जन्मिएकी थिइन्। तीन हप्ताकी जेनीलाई थाइल्यान्डमा काम गरिरहेका स्विस दम्पतीले धर्मपुत्रीका रूपमा ग्रहण गरेका थिए। आफ्ना स्विस भाइबहिनीसँग हुर्केकी जेनीले आफू उनीहरूभन्दा फरक छु भन्ने कहिल्यै महसुस गरिनन्। तर एक दिन बैंककको एक पसलमा एक महिलाको प्रश्नले उनलाई सतायो।

 उनी भन्छिन्, ‘ती महिलाले मेरी आमाको बारेमा सोधिन्। मैले सँगै रहेकी युरोपेली महिला मेरी आमा भएको बताएँ। मेरो उत्तरले ती महिला रिसाइन्।’

त्यसपछि मात्र उनलाई उनी धर्मपुत्री भएको बताइयो। उनी १४ वर्ष पुगेपछि उनको परिवार स्विट्जरल्यान्ड फर्कियो। त्यतिबेला नै उनले एक दिन आफ्ना आमाबाबु खोज्न फर्कने निर्णय गरिन्। सन् २०२२ मा डिएनए परीक्षण सहज भएको थियो। त्यही प्रविधिमार्फत अमेरिकामा बस्दै आएका आफ्ना बुबालाई फेला पार्न उनी सफल भएकी हुन्। उनको खोजी अझै टुंगिएको छैन। हाल ५३ वर्ष पुगेकी जेनी अझै पनि आफ्नी थाई आमाको खोजीमा छिन्। आफ्नो खोज कहिल्यै पूरा नहुने हो कि भन्ने डर उनमा छ।

युद्ध र यौन पर्यटन

भियतनाम युद्धको सो समय र हताहतको बढ्दो संख्याले अमेरिकालाई सन् १९७३ मा त्यहाँबाट फिर्ता हुन बाध्य तुल्यायो। त्यसको दुई वर्षपछि गैरकम्युनिस्ट दक्षिण भियतनाममाथि कम्युनिस्ट सत्ता रहेको उत्तरी भियतनामले कब्जा जमायो। उता अमेरिकीहरूको बाक्लो उपस्थितिले थाइल्यान्डप्रतिको अन्तर्राष्ट्रिय धारणा परिवर्तन भयो र त्यहाँ पर्यटन बढ्न थाल्यो। सन् १९६० मा थाइल्यान्डमा अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटकको संख्या मात्र २ लाख थियो, त्यो सन् १९७० मा बढेर आठ र एक दशकपछि ५० लाख पुगेको थियो।

भियतनाम युद्धको पचास वर्षपछि पनि थाइल्यान्ड विश्वकै प्रमुख पर्यटकीय गन्तव्य बनेको छ।

टिभी अपिल

पर्ल एस बक फाउन्डेसनका अनुसार सन् १९६८ सम्म त्यहाँ २ हजारभन्दा बढी आधा–थाई आधा–अमेरिकी बच्चाहरू थिए।

यी बालबालिकाका जैविक पिताहरू थाइल्यान्डमा तैनाथ अमेरिकी सैनिकहरू थिए। पूर्व र दक्षिणपूर्व एसियामा जन्मेका तथा अमेरिकी सैनिक पिता रहेका यस्ता बालबालिकालाई ‘अमेरेसियन’ शब्दले परिभाषित गरिएको थियो।

फाउन्डेसनका अनुसार युद्धपछि अमेरिका फर्केका सैनिक पितामध्ये केवल ५ प्रतिशतले मात्र थाइल्यान्डमा आफ्ना छोराछोरीलाई आर्थिक सहयोग गरेका थिए। तर सुरुमा यस प्रकारको सहयोग गर्ने अधिकांशले एक वर्षपछि सो सहयोग रोकेका थिए।

थाई आमा र अमेरिकी पिताबाट जन्मिएका मोरिस के प्ली रोबर्टस् आफ्ना बाबुका साथमा। तस्बिर: बिबिसी  

जेनीको जस्तै कथा बोकेका मोरिस के प्ली रोबर्टस पहिलोपटक सन् २०२२ को अप्रिलमा आफ्नो बुबालाई भेट्न अमेरिकाको अलाबामा पुगेका थिए। मोरिस एक धनी थाई परिवारमा हुर्केका थिए। अहिले उनी एक प्रसिद्ध अभिनेता र टिभी प्रस्तोता हु्न्।

 आफ्नो बाल्यकाल स्मरण गर्दै उनी कामको बदलामा खानेकुरा मात्र दिनेगरी आफूलाई ‘सेवकका रूपमा’ हुर्काइएको बताउँछन्। ‘घरमा कुटपिट र अपमान हुन्थ्यो। स्कुलमा अरू केटाकेटीसँग झगडा हुन्थ्यो। मेरो कालो छालाको अर्थ म फोहोरी थिएँ र म उनीहरूका लागि दोस्रो दर्जाको व्यक्ति थिएँ,’ उनी सम्झन्छन्।

उनले कैयौंपटक भाग्ने प्रयास गरेका थिए। १७ वर्षको उमेरमा उनले सो पालनपोषण गृह छाडे र पटायामा रहेको एक फाउन्डेसनलाई सम्पर्क गरे। त्यही संस्थाको सहयोगमा आफ्नो अध्ययन पनि पूरा गरे। त्यसपछि उनले ‘मोरिस सो’ नामको टिभी कार्यक्रम सुरु गरे।

उक्त सोमा उनले आफ्नी आमाका बारेमा जानकारी दिन पनि अपिल गरे। मोरिस ३४ वर्ष हुँदा अर्थात सन् १९५५ मा उनकी आमा उनकै अपार्टमेन्टमा आइपुगेकी थिइन्। उनी भन्छन्, ‘म उनलाई अँगालो हाल्न चाहन्थें तर हामीले एकअर्कालाई अँगालो हालेनौं। आमाको मायाको आवश्यकता क्रोधमा परिणत भएको थियो। मेरी आमाले मलाई किन त्यागिन् भन्ने म जान्न चाहन्थें।’

त्यतिबेला बाबुबिनाको कालो छाला भएको बच्चाको आमा हुन एक थाई महिलालाई कति कठिन थियो भनेर उनकी आमाले उनलाई भनिन्।

त्यतिबेला बैंककको पूर्वमा रहेको चाकोएङ्साओ प्रान्तमा एक अमेरिकी सैनिक तैनाथ थिए र केही समयसम्म मोरिसकी आमासँग डेटिङ गरेपछि केही नभनी उनले थाइल्यान्ड छाडेका थिए। ‘मेरी आमालाई उनको नाम पनि थाहा थिएन,’ मोरिस भन्छन्।

 मानिसहरूले आफूलाई यौनकर्मी ठान्ने डरले उनले भएभरका सबै फोटा जलाएकी थिइन्। मेरी आमा सबै कुरा बिर्सन चाहन्थिन्,’ उनी थप्छन्। ब्रिस्टल युनिभर्सिटीका प्रोफेसर यानोस जिल्बरबर्गका अनुसार भियतनाम युद्धको समयमा सैनिकहरूको बाक्लो उपस्थितिका कारण अमेरिकी हवाई अड्डाहरूनजिकै ‘रेड लाइट एरिया’हरू बनाइएका थिए।

उनका अनुसार अमेरिकी सैनिकहरू भियतनाममा लड्न जान्थे र त्यसपछि बिदा लिएर आराम गर्न थाइल्यान्ड पुग्थे। जब भियतनाम युद्ध समाप्त भयो, अमेरिकी सैनिकको साटो अमेरिकी पर्यटकहरूले थाइल्यान्डलाई प्रतिस्थापन गरेका थिए। अहिले पनि ती रेड लाइट क्षेत्र ती क्षेत्रमा अवस्थित छन्, जबकि सैनिक अड्डाहरू दशकौं अघि बन्द भइसकेको थिए। युद्धपछि पनि हजारौं अमेरिकी सैनिकहरू पटायामा रहेका थाई बार र नाइटक्लबहरू निरन्तर जाने गर्थे।

भाडाका श्रीमतीहरू

‘लभ मनी एन्ड ओब्लिगेसन: ट्रान्सनेसनल म्यारिज इन ए नर्थ इस्टर्न थाई भिलेज’ नामक पुस्तकका लेखक प्याचरिन लापनन थाई महिला र अमेरिकी सैनिकबीचको सम्बन्ध जटिल भएको ठान्छन्। कतिपय अवस्थामा उनीहरू केही महिना दम्पतीका रूपमा सँगै बस्थे तर यो सम्बन्ध ती सिपाही अमेरिका नफर्केेसम्म मात्र रहन्थ्यो। थाई समाजका कतिपय मानिसहरू यी महिलाहरूलाई ‘भाडाका श्रीमती’ भनेर हेर्छन्।

उता भेट भएको एक दशकपछि मोरिसकी आमाको मृत्यु भयो। उनलाई लाग्यो, यो कथाको अन्त भयो। तर त्यसको एक वर्षपछि मात्र उनले डिएनए परीक्षणको सहयोग लिने निर्णय गरे। एक कम्पनीले पुर्खाहरू पत्ता लगाउन मद्दत गर्ने प्रस्ताव पनि गर्‍यो।

सोधखोजका क्रममा यो मामिलामा जोडिएकी एक महिला भेटिइन्। मोरिसले ती महिलालाई सन् १९६४ देखि सन् १९६६ का बीचमा उनको परिवारका कोको सदस्य थाइल्यान्ड गएका थिए भनेर सोधे।

यही क्रममा यसैया रोबर्ट्स नाम गरेका एक पूर्वसैनिक त्यहाँ थिए। तिनै महिलाले सन् २०१९ मा ती सम्भावित पितासँग फोनमा कुराकानीको व्यवस्था गरिन्। रोबर्ट्सका थप तीन सन्तान थिए। कोभिडका कारण ढिलाइ भए पनि मोरिस अन्ततः २०२२ मा आफ्ना ८५ वर्षीय बुबालाई पहिलो पटक भेट्न अलाबामा पुगेका थिए।

डिएनए परीक्षणमा उनीहरूबीच ९९.६ प्रतिशत आनुवंशिक मिलन भएको खुलासा भएको थियो। भ्वाइस अफ अमेरिकासँगको अन्तर्वार्तामा रोबर्ट्सले भने, ‘मलाई थाहा छ कि ऊ सायद मेरो छोरा हो। म उसलाई अस्वीकार गर्दिनँ। म उसलाई स्वीकार गर्छु र जिम्मेवारी लिन्छु।’

सोही वर्ष मोरिसले आफ्नो टिभी करिअर छाडे र बुबासँग बस्न अमेरिका गए। उनी आफ्नो नयाँ जीवनका भिडियोहरू अनलाइनमा पोस्ट गरिरहन्छन्। भिडियोमा मोरिसले आफ्ना बुबालाई अँगालो हालेको देख्दा समान कथा बोकेकी जेनी स्टुबरको आँखामा आँसु आएको थियो।

डिएनए परीक्षणमार्फत उनले पनि सन् २०२२ मा आफ्नो बुवाको पहिचान गरेकी थिइन् तर अझै उनीहरूले एकअर्कालाई भेट्न सकेका छैनन्। उनका पिता ७८ वर्षका छन् र अमेरिकी जेलमा सजाय काटिरहेका छन्। चिठी र तस्बिरमार्फत दुवैबीच कुराकानी भइरहेको छ र जेनी नै आफ्नी छोरी हुन् भन्नेमा उनी विश्वस्त छन्।

जेनी भन्छिन्, ‘मैले उनलाई मेरी आमा को हुन् भनेर सोधें। उनले आमाको पूरा नाम याद नभएको बताए। यसरी आमासम्म पुग्ने ढोका अचानक बन्द भयो।’

एक पत्रमा जेनीका बुबाले भनेका छन् उनकी आमा युतापाओ एयर बेस बाहिर खाना पसलमा काम गर्थिन्। उनीहरूले १० महिनासम्म भेटघाट गरेका थिए। जेनीका पितालाई सन् १९७० मा संयुक्त राज्य अमेरिकामा फिर्ता बोलाइएको थियो।

खाना पसलमा बस्ने थाई महिला गर्भवती छिन् भन्ने उनीहरूलाई कहिल्यै थाहा भएन। जेनीले भनिन्, ‘उनले मेरी आमाको पूरा नाम कहिल्यै नबुझेको बताए। उनले सोधेका पनि थिए।’

उनको सैनिक पिताले अमेरिकामा विवाह गरेका थिए र सम्बन्धविच्छेद पनि गरे। उनका दुई वयस्क बच्चा छन्।

त्यसपछि जेनी धेरै पटक थाइल्यान्ड गइन् र खानाको स्टल भएको क्षेत्रमा धेरै अनुसन्धान गरिन्। उनले छिमेकी र स्थानीय प्रशासनसँग कुरा गरिन् तर केही प्रमाण भेटइनन्। उनी भन्छिन्, ‘म मेरी आमाको तस्बिर बनाउन चाहन्थें। यो क्रममा मेरा अमेरिकी पिताले भनेका थिए–जेनी, तिमी ऐना अगाडि उभिएर मुस्कुराऊ। तिम्री आमा त्यस्तै थिइन्।’

जेनी आफ्नो जैविक पिता जेलबाट छिट्टै रिहा हुने आशामा छिन्। उनीसँग भिडियो कलमा लामो कुरा गर्ने उनको चाहना छ। उनी भन्छिन्, ‘हुन सक्छ अर्को वर्ष अथवा त्यसपछिको अर्काे वर्ष। तर कसलाई थाहा छ, सायद कहिल्यै हुँदैन कि!’

प्रकाशित: ३२ जेष्ठ २०८१ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App