१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा बिबिसीको नयाँ स्वरूप, स्वतन्त्र कम्पनीका रूपमा कलेक्टिभ न्यूज रुमको स्थापना

भारतमा बिबिसीको प्रकृति परिवर्तन हुने भएको छ। बुधवार देखि ‘कलेक्टिभ न्यूजरुम’ नाम गरेको स्वतन्त्र मिडिया कम्पनीले काम सुरु गरेको छ।

बिबिसी हिन्दीका अनुसार नयाँ व्यवस्था अन्तर्गत, कलेक्टिभ न्यूजरुमले भारतमा बिबिसीका लागि सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्नेछ।

डिजिटल मिडियाको क्षेत्रमा विदेशी लगानीको प्रावधान अनुसार यो व्यवस्था गरिएको हो। कलेक्टिभ न्यूजरूमले बिबिसी न्युज हिन्दी, बिबिसी न्युज मराठी, बिबिसी न्युज गुजराती, बिबिसी न्युज पन्जाबी, बिबिसी न्युज तमिल, बिबिसी न्युज तेलुगुको साथमा युट्युबको लागि अङ्ग्रेजीमा भिडियो सामग्री उत्पादन र प्रकाशित गर्नेछ।

बिबिसीका चार वरिष्ठ पत्रकारले राजीनामा दिएर सामूहिक न्यूजरूम स्थापना गरेका हुन। पूर्णतया भारतीय यो कम्पनीको उद्देश्य प्रभावकारी पत्रकारिताको माध्यमबाट भारतीय श्रोताहरूलाई समाचारहरू प्रदान गर्नु रहेको छ। नयाँ कम्पनीले हाल बिबिसीका लागि सामग्री सिर्जना र प्रकाशित गर्ने तर एक स्वतन्त्र मिडिया कम्पनीको रूपमा भविष्यमा अन्य ग्राहकहरूका लागि उच्च गुणस्तरको सामग्री उत्पादन गर्न सक्ने बताइएको छ।

कलेक्टिभ न्यूजरूमका सीईओ रुपा झा भन्छिन्, ‘अनुभव र प्रतिभाको फराकिलो साथ एक महत्त्वाकाङ्क्षी मिसनको साथ विश्वसनीय, रचनात्मक र निडर पत्रकारिता सुनिश्चित गर्न आधिकारिक रूपमा यो कम्पनीको सुरुवात गरेका छौ।’

‘दर्शकहरू र पाठकहरूले छिट्टै कलेक्टिभ न्यूजरूमलाई एक स्वतन्त्र समाचार संस्थाको रूपमा पहिचान गर्नेछन् जसले तथ्यहरू बोल्छ, सार्वजनिक हितमा सेवा गर्दछ, र विभिन्न आवाज र दृष्टिकोणहरू प्रतिनिधित्व गर्दछ’, उनले थपिन्।

रुपा झासँगै उनका सह निर्देशक मुकेश शर्मा, सञ्जय मजुमदार र सारा हसन पनि छन्। उनीहरूसँग सम्पादकीय र कार्यक्रम निर्माणको क्षेत्रमा लामो अनुभव छ।

कलेक्टिभ न्यूजरूमको पहिलो ग्राहकको रूपमा रहेको ‘बिबिसी न्युज हिन्दी’ सञ्चालनसम्बन्धी सम्झौता पनि गरेको छ।

बिबिसीको सामग्री भारतमा ८ करोड भन्दा बढी श्रोता तथा दर्शकमा पहुँच राखेको कारण सङ्ख्याको हिसाबले बिबिसीका लागि भारत नम्बर एक देश मानिन्छ।

प्रकाशित: २८ चैत्र २०८० १७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App