ढाका– बंगलादेशको उच्च अदालतले थुनामा रहेकी यहाँकी विपक्षी दलकी नेत्री खालिदा जियाले गरेको जमानतमा रिहाइको अपिल अस्वीकार गरेको छ। सोमबार सो अदालतले उक्त अपिल अस्वीकार गरेको हो। उनलाई हाल भ्रष्टाचारको अभियोगमा अनुसन्धानका लागि थुनामा राखिएको छ।
अदालतको यो निर्णयसँगै बंगलादेशेको राजनीतिक संकट झनै गहिरिएको छ। आगामी डिसेम्बरमा हुन लागेको आमनिर्वाचन अघि नै उनलाई जमानतमा रिहा गरिएमा निर्वाचनको समयमा सहजता हुने अपेक्षा गरिएको थियो।
यहाँको उच्च अदालतको यो निर्णयसँगै विपक्षीहरु पनि क्रुद्ध बनेका छन्। जियाको विपक्षी दल बंगलादेश नेशनालिस्ट पार्टीका महासचिव फकरुल इस्लाम अलामजिरले यो निर्णय अदालतको राजनीतिक निर्णय हो भनेका छन्।
उनले निर्वाचनसम्म नै बंगलादेशका प्रधानमन्त्रीले विपक्षी नेतालाई जेलमै राख्न खोजेको अदालतको यो फैसलाबाट देखिएको आरोप पनि लगाएका छन्।
त्यस्तै विपक्षी नेत्री जियाका वकिलले पनि अदालतको सो आदेश राजनीतिबाट प्रेरित भएको आरोप लगाएका छन्। उनका वलिक सनउल्लाह मियाँले भनेका छन्– ‘यो बंगलादेशको इतिहासमा नै कहिल्यै नभएको आदेश अदालतबाट आएको छ, यो पनि राजनीतिक निर्णयबाट प्रभावित भएको देखिएको छ।’
उनलाई तल्लो अदालतले आगामी मे महिनासम्मका लागि जमानतमा रिहा गर्न मिल्ने आदेश दिएको थियो। त्यस आदेशका विरुद्धमा यहाँका भ्रष्टाचार नियन्त्रण हेर्ने निकाय उच्च अदालत गएको थियो।
प्रकाशित: ५ चैत्र २०७४ १०:१७ सोमबार





