१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानका ३० लाख बालिबालिका कुपोषणको चपेटामा आउने चेतावनी

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले यस वर्ष अफगानिस्तानका ३० लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने चेतावनी दिएको छ।  

गत वर्ष वैदेशिक सहायता घटेकाले कुपोषित बालबालिकाको उपचार गराउने क्रम बढेको पनि बताइएको छ।

अफगानिस्तानमा डब्ल्युएफपीका पोषण प्रमुख मोना शेखलाई उद्धृत गर्दै खामा प्रेसले भनेको छ, ‘हामी करिब १६ लाख कुपोषित बालबालिकालाई सहयोग गर्न सक्षम हुनेछौँ।’ संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले यसअघि सन् २०२३ मा अफगानिस्तानमा सात लाख १५ हजार कुपोषित बालबालिकालाई सहयोग गरेको घोषणा गरेको थियो।

अन्तर्राष्ट्रिय सङ्गठनहरूका अनुसार तालिबान नियन्त्रित अफगानिस्तानमा धेरै परिवार आफ्ना बालबालिकालाई खाना उपलब्ध गराउन असमर्थ छन्। यसका अतिरिक्त तालिबानले सत्ता सम्हालेयता अफगानिस्तानले विकराल मानवीय सङ्कटको सामना गरिरहेको रिपोर्टहरूले सङ्केत गरेका छन्।

अन्तर्राष्ट्रिय सङ्गठनहरूबाट कोषको कमीले अफगानिस्तानमा राहत प्रयासहरूमा धेरै अवरोध उत्पन्न हुँदा लाखौँ मानिसलाई भोकमरीको जोखिममा पारेको र उनीहरू आवश्यक मानवीय सहायताबाट बन्चित रहेको पनि बताइएको छ। जसले गर्दा अफगानिस्तानमा मानवीय स्थिति अझ खराब भएको छ।

टोलो न्युजका अनुसार चार सय ५० भन्दा धेरै दिन बितिसक्दा पनि अफगानिस्तानमा छात्राहरूका लागि विश्वविद्यालय बन्द छन् र पुनः खुल्ने कुनै सङ्केत देखिएको छैन। निराशा व्यक्त गर्दै छात्राहरूले उनीहरूको शैक्षिक प्रगतिमा महत्त्वपूर्ण ढिलाइ भएको बताएका छन्। उनीहरूले तालिबानको कार्यबाहक सरकारसँग यस वर्ष विश्वविद्यालयलाई पुनः खोल्न प्राथमिकता दिन आग्रह गरेका छन्। रासस

प्रकाशित: १८ चैत्र २०८० ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App