१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेरिस ओलम्पिकमा निःशुल्क कन्डम वितरण गरिने

पेरिस ओलम्पिक आयोजकले यस वर्ष प्रेमको सहरमा हुने खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई दुई लाख २० हजार कण्डम वितरण गर्ने भएको छ।

खेलाडीहरूले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न सक्ने भए पनि उनीहरूले चाहे भने शारीरिक सम्पर्क गर्न स्वतन्त्र हुने भएकाले आयोजक पेरिसले निःशुल्क कण्डम वितरण गर्ने भएको हो।

जुलाई २६ देखि अगस्ट ११ सम्म हुने खेलमा पुरुषका लागि दुई लाख र महिलाका लागि २० हजार कण्डम उपलब्ध गराइने ‘पेरिस ओलम्पिक २०२४’ का प्राथमिक चिकित्सा तथा स्वास्थ्य सेवाका इन्चार्ज लरेन्ट डालार्डले बताए।

सुरक्षित यौन सम्बन्धलाई प्रोत्साहित गर्न र तत्कालीन समयमा विश्वभर फैलिएको एचआइभी–एड्स महामारीका बारेमा चेतना जगाउन सन् १९८८ को सोल ओलम्पिकमा खेलाडीहरूलाई पहिलोपटक निःशुल्क कण्डम वितरण गरिएको थियो। यसअघि जापानको टोकियोमा भएको ओलम्पिकमा कोरोना महामारीका कारण सावधानी अपनाउन भनिएकाले कण्डम वितरण गरिएको थिएन।

त्यस बेलादेखि यो चलन प्रत्येक ओलम्पिकमा यो परम्परा बनिसकेको छ।

पछिल्ला दशकहरूमा कण्डम वितरण गर्ने सङ्ख्या निकै बढेको छ। सन् १९९२ को बार्सिलोना ओलम्पिकमा ५० हजार, सन् २००८ मा बेइजिङमा एक लाख र सन् २०१२ मा लन्डनमा एक लाख ५० हजार कन्डम वितरण गरिएको थियो।

सन् २०१६ मा रियो ओलम्पिक खेललाई अहिलेसम्मको सबैभन्दा कामोत्तेजक खेल मानिएको छ। उक्त प्रतियोगितामा चार लाख ५० हजार कन्डम वितरण गरिएको थियो।

डालार्डले फ्रान्समा यौन सञ्चारित रोगहरू बढ्दै गएको उल्लेख गर्दै पोस्टरहरूले खेलाडीहरूलाई खतराका साथै सहमतिको मुद्दाबारे शिक्षित गर्न खोजिने बताए।

युरोपेली सङ्घ (इयु) को स्वास्थ्य एजेन्सीले गत वर्षको तुलनामा सम्पूर्ण महादेशमा यौन सञ्चारित सङ्क्रमण (एसटिआई) मा ‘समस्याजनक वृद्धि’ का बारेमा मार्च ७ मा चेतावनी दिएको थियो।

युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (इसिडिसी) का अनुसार सन् २०२२ मा इयुमा गोनोरियाको मामिला ४८ प्रतिशत, सिफलिसमा ३४ प्रतिशत र क्ल्यामिडियामा १६ प्रतिशतले वृद्धि भएको थियो। रासस

प्रकाशित: ८ चैत्र २०८० ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App