११ माघ २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आणविक हतियार बनाउने साउदीको चेतावनी

रियाद –  इरानले आणविक हतियारको विकास गरे आफ्नो देशले पनि आणविक बम बनाउने साउदी अरबका युवराज मोहम्मद बिन सलमानले चेतावनी दिएका छन्। 

‘साउदी अरब कुनै पनि प्रकारको आणविक बम बनाउन वा प्राप्त गर्न चाहँदैन तर यदि इरानले आणविक हतियार बनायो भने हामीले पनि उसको उक्त कदमलाई तत्काल पछ्याउने छौं,’ साउदी युवराज मोहम्मदले अमेरिकी टेलिभिजन सिबिएस टिभीसँगको अन्तर्वार्ताका क्रममा बिहीबार बताए। उनको उक्त अन्तर्वार्ता आइतबार प्रसारण हुने बताइएको छ। 

आणविक हतियारको दौडले खाडी क्षेत्रमा यसै पनि द्वन्द्वको विजारोपण भइसकेको बताउँदै युवराज मोहम्मदले यदि इरानले आणविक हतियारको विकास ग¥यो भने साउदी अरब चुप नबस्ने चेतावनीसमेत दिएका छन्। 

सुन्नी मुसलमान राजतन्त्रात्मक देश साउदी अरब र इरानबीच दशकौंदेखि शत्रुतापूर्ण व्यवहार चल्दै आइरहेको छ। दुई देशबीच खाडी क्षेत्रमा लामो समयदेखि प्रोक्सी युद्ध चलिरहेको छ। दुई देशले इराक, सिरिया, लेबनन र यमनमा जारी युद्धमा सरकारी वा विद्रोही पक्षमध्ये एकलाई सहयोग गरिरहेका छन्। 

साउदी अरबका रक्षा मन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका युवराज मोहम्मदले गत वर्ष भविष्यमा हुने कुनै पनि युद्धका बारेमा निर्णय गर्ने बताएका थिए। 

विश्व समुदायले तेहरानमाथि गरेको आर्थिक नाकाबन्दी हटाउने शर्तमा इरान र विश्वका शक्तिशाली राष्ट्रबीच भएको सन् २०१५ को आणविक सम्झौताको रियादले विरोध गर्दै आएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ताजा छुट जारी गरेनन् भने मे १२ देखि अमेरिकाले इरानमाथि पुनः नाकाबन्दी लगाउने छ। 

साउदी राजतन्त्रका उत्तराधिकारी ३२ वर्षीय युवराजको यस्तो भनाई अमेरिकाको साझेदार इजरायलप्रति पनि लक्षित रहेको बताइएको छ। मध्यपूर्वको एकमात्रै आणविक हतियार सम्पन्न इजरायलले भने उक्त क्षेत्रमा उसले नियन्त्रण गरिरहेको भन्ने विश्वव्यापी मान्यतालाई हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। उसले इरानले आणविक हतियार विकास ग-यो भने अरबका अन्य देशले पनि त्यहि बाटो पछ्याउने र त्यसको कारण खाडी क्षेत्र अस्थीरतातर्फ लम्कने बताउँदै आएको छ। सन् १९७० मा भएको ‘नन प्रोलिफेरेसन ट्रिटी (एनपिटी)’मा इजरायल हालसम्म समावेश भएको छैन। उसले आफ्नो छिमेकी अरब राष्ट्र र इरानसँग शान्ति कायम भएको अवस्थामा मात्रै एनपिटीमा समावेश हुने शर्त राख्दै आएको छ।

प्रकाशित: २ चैत्र २०७४ ०३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App