४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

५२ वर्षपछि अमेरिका पुन चन्द्रमामा, निजी कम्पनीको एक यान अवतरण

बिबिसी

पहिलोपटक अमेरिकाको एक निजी कम्पनीले चन्द्रमाको सतहमा यान अवतरण गरेर इतिहास रचेको छ। 

ह्यूस्टनस्थित ‘इन्टूइटिभ मशीन्स’ले आफ्नो ओडिसिअस नाम गरेको रोबट चन्द्रमाको दक्षिणी ध्रुव नजिकै सुरक्षित रूपमा अवतरण गराएर इतिहास रचेको हो। 

योसँगै यो कम्पनी चन्द्रमामा आफ्नो अन्तरिक्ष यान अवतरण गराउने पहिलो व्यावसायिक कम्पनी बनेको छ। 

पृथ्वीबाट सो अन्तरिक्षयानको उडान र अवतरण नियन्त्रण गर्ने टिमलाई सो यान चन्द्रमामा सफल हिसाबले ओर्लिएको निर्क्योल गर्न केही समय लागेको थियो तर केही मिनेटमै अवतरणको संकेत प्राप्त भएपचि उनीहरूले  सफल अवतरणबारे जानकारी दिएका थिए। 

‘कुनै द्विविधाबिना यो उपकरण चन्द्र सतहमा छ भन्ने हामी पुष्टि गर्न सक्छौँ। हामी यो उपकरणमा निरन्तर  सञ्चार गरिरहेका छौँ’, फ्लाइट निर्देशक टिम क्राइनले शुक्रवार भने। 

उनले यो घोषण गरेसँगै उक्त  कम्पनीका कर्मचारीहरूले ताली बजाएर हर्षोल्लास गरेका थिए। 

विज्ञका अनुसार इन्टूइटिभ मशीन्सको सफलता अन्तरिक्षको व्यावसायिक उपभोगका लागि मात्र नभएर अमेरिकी अन्तरिक्ष कार्यक्रमका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ। यसअघि सन् १९७२ मा अमेरिकाको अपोलो मिसनले चन्द्रमामा अवतरण गरेको थियो। 

अमेरिकी अन्तरिक्ष निकाय नासाका प्रशासक बिल नेल्सनले अवतरणपछि तत्कालै इन्टूइटिभ मशीन्सलाई बधाई दिँदै यो अभियान ‘सफल’ भएको बताएका छन्।

यो अभियानलाई सफल पार्न नासाले ६ वटा वैज्ञानिक उपकरण पठाउन ओडिसिअसलाई भुक्तानी गरेको थियो। 

‘अमेरिका पुन चन्द्रमामा फर्केको छ,’ नेल्सनले भने। मानव मानवजातिको इतिहासमा पहिलो पटक एउटा व्यावसायिक अमेरिकी कम्पनी अमेरिका पुगेको उनको तर्क थियो। 

अवतरण हुनुअघि यो अभियान रोक्नुपर्ने खालका प्राविधिक समस्या देखिएता पनि अन्ततः प्राविधिकहरूले अन्तरिक्षयानको उडान नियन्त्रण र मार्ग निर्देशन गर्न प्रयुक्त नेभिगेशन कम्प्युटरहरू मार्फत ती समस्याको समाधान गर्न सफल भएका थिए। 

ओडिसिअस नेपाली समयानुसार शुक्रवार बिहान ५ बजेर ८ मिनेट जाँदा चन्द्रमामा अवतरण गरेको थियो। 

चन्द्रमामा दक्षिणी क्षेत्रमा  कुनै अन्तरिक्षयान पुगेको अहिले पहिलो पटक हो। यो क्षेत्रमा  सूर्यको प्रकाश कहिल्यै नपुग्ने गहिरा खाडलहरू छन्। सधैँ छाया पर्ने यो क्षेत्रमा वैज्ञानिकहरूले पानी हुन सक्ने अनुमान गरेका छन् ।

प्रकाशित: ११ फाल्गुन २०८० १८:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App