१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सरकारले गरेको प्रस्ताव नमान्ने किसानको घोषणा, भोलि दिल्ली तर्फ बढ्ने

भारत सरकार र किसानबीच भएको वार्ता निस्कर्षबिहीन बनेको छ। भारत सरकारले दिएको प्रस्तावमा सहमति जुट्न नसकेपछि किसानहरूले आन्दोलन जारी राख्दै भोलि राजधानी दिल्लीका लागि अघि बढ्ने घोषणा गरेका छन्।

पछिल्लो पटक १८ फेब्रुअरीमा किसानसँगको वार्ताको क्रममा सरकारले अन्नमा न्यूनतम समर्थन मूल्यलाई लिएर प्रस्ताव गरेको थियो। सरकारको प्रस्तावमा किसानलाई सरकारी एजेन्सीहरूसँग पाँच वर्षको करार गर्नुपर्ने उल्लेख थियो। जसलाई किसानहरूले अस्विकार गरिदिएका छन्।

किसानहरू समक्ष गरिएको प्रस्तावमा किसानलाई एउटा सम्झौताको प्रस्ताव गरिएको थियो। जस अनुसार सरकारी एजेन्सी किसानसँग न्यूनतम समर्थन मूल्यमा पाँच वर्षसम्म दाल, कपास र मकै खरिद गर्ने उल्लेख थियो। तर, किसानहरूले आफ्नो पुरानै माग कायम रहेको र सरकारको प्रस्ताव नमान्ने बताएको छ।

सरकारले गरेको प्रस्तावको विषयमा निर्णय लिन किसानहरूले एक दिनको समय मागेका थिए। जसमा सरकारले गरेको प्रस्ताव अस्विकार गरेका आन्दोलनरत किसानहरूले भोलि दिल्ली तर्फ अघि बढ्ने बताएका छन्।

विगत ८ दिनदेखि आन्दोलनमा रहेका किसानहरू अहिले राजधानी दिल्लीसँग सीमाना जोडिएका हरियाणा–पञ्जाव शम्भू बोर्डरमा छन्।

अन्नबालीका लागि न्यूनतम समर्थन मूल्य (एमएसपी) को सुनिश्चितताको माग, किसानको ऋण मिनाहा र ६० वर्षभन्दा बढी उमेर भएका किसानलाई पेन्सनको व्यवस्था लगायतका माग राखी किसानहरू आन्दोलनमा छन्।

किसानहरूलाई दिल्ली प्रवेश गर्न नदिन विभिन्न सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने हालसम्म प्रहरीको गोली लागि १ जना किसानको मृत्यु भएको छ। ७५ जनाभन्दा बढी घाइते भएका छन्।

प्रकाशित: ८ फाल्गुन २०८० १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App