सन् १९६० को दशकमा अमेरिकामा जुन किसिमको भताभुङ्गको अवस्था थियो, त्यो बुद्धिजीवीहरूका लागि चिन्ताजनक थियो। भियतनाम युद्ध अमेरिकाले हारेको थियो, दुई राष्ट्रपति लिन्डन जोन्सन र रिचर्ड निक्सनको कार्यकाल इतिहासकै असफल कार्यकाल बनेको थियो। इरानको इस्लामिक क्रान्ति रोक्न अमेरिका असफलमात्र होइन, कयौँ अमेरिकीको ज्यान खतरामा थियो।
यी सारा कुरा देखेपछि बेलायती इतिहासकार पल केनेडीले अब अमेरिका असफलताको साँधमा रहेको घोषणा गरेका थिए। यसको प्रतिवाद गर्दै हार्वर्ड विश्वविद्यालयका तात्कालिक प्राध्यापक जोसेफ नाईले भनेका थिए, अमेरिका त्यतिञ्जेलसम्म ध्वस्त हुँदैन, जबसम्म यसको ‘सफ्ट पावर’ छ।
‘अमेरिकी सफ्ट पावर’ शब्द सिर्जना गर्ने उनी पहिलो लेखक मानिन्छन्। उनको यही शब्द पछि अरूले प्रयोग गरेर लोकप्रिय बनाएका हुन्। उसो भए सफ्ट पावर के हो त? उनी भन्छन्, ‘बिना कुनै शुल्क तिरेर, धाकधम्की प्रयोग गरेर सित्तैमा कसैलाई आकर्षित गर्न सक्ने शक्ति नै सफट पावर हो।’
सफ्ट पावरको नमुना अहिले पनि डिभी चिठ्ठा, हिँडेरै अमेरिका पुग्ने चाहना, हार्वर्डमा पढ्ने इच्छा वा हलिउड फिल्मप्रतिको आशक्तिबाट प्रस्टिन्छ। यो शक्ति कुनै सैन्यशक्तिभन्दा सस्तो बरु कतिपय अवस्था उल्टै आम्दानी दिने किसिमको हुन्छ।
नाईले फाइनान्सियल टाइम्समा ‘सफ्टपावर’को पछिल्लो उदाहरण युक्रेन युद्धमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उपयोग गरेको बताएका छन्। आफूमाथि अन्याय भएको ‘पीडित कार्ड’ प्रयोग गर्दै उनले पश्चिममा मुलुकको भरपूर सहयोग पाउनु ‘सफ्टपावर’को गतिलो उदाहरण हो।
यसैगरी पछिल्लो समय अमेरिका र चीनबीच को शक्तिशाली हुने भन्ने प्रतिस्पर्धामा अझै पनि अमेरिकासँग रहेको सफ्ट पावरले भूमिका खेल्ने उनले अन्तर्वार्तामा बताएका छन्। प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: ४ माघ २०८० ०४:३४ बिहीबार