८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लाइबेरियामा इन्धन ट्याङ्कर दुर्घटना, ४० जनाको मृत्यु

मध्य लाइबेरियामा इन्धन बोकेको ट्याङ्कर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको छ।

राजधानी मोनरोभियाबाट करिब १३० किलोमिटर टाढा रहेको टोटोटामा पेट्रोल बोकेको ट्याङ्कर बुधबार दुर्घटनाग्रस्त भएर सडक नजिकैको खाडलमा खसेको थियो। त्यसपछि चुहिएको ग्यास भर्न स्थानीय घटनास्थलमा जम्मा भएका थिए।

चिकित्सक फ्रान्सिस कातेहले भने, 'पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ।'

घटनास्थलमा देखिएका जलेका मानवीय अवशेष हेर्दा यो सङ्ख्या अहिले जानकारीमा आएकोभन्दा केही बढी हुन सक्छ। यसका लागि प्रहरीले घटनास्थलबाट मृत शरीर उठाउने र परीक्षणका लागि अस्पतालसम्म पर्‍याउने काम गरिरहेको छ।' 

उनले भने, 'हाम्रो टोली घर–घरमा गएर हराएकाहरूको खोजी गरिरहेको छ।'

प्रहरीले यसअघि मृतकको सङ्ख्या १५ रहेको र स्थानीयहरू घटनास्थलमा भेला हुँदा कम्तीमा ३० जना घाइते भएको बताएको थियो।

लाइबेरिया राष्ट्रिय प्रहरीका प्रहरी नायब महानिरीक्षक प्रिन्स बी मुलबाहले भने, 'त्यहाँ धेरै मानिसहरू जलेका छन्। मृतकको सङ्ख्या तत्काल यति नै रहेको भन्न कठिन छ।'

अर्का प्रहरी अधिकारी माल्भिन साकोरका अनुसार दुर्घटनापछि केही स्थानीयले चुहिएको ग्यास भरिरहेका समय ट्याङ्कर विस्फोट हुँदा हताहत हुनेको सङ्ख्या धेरै पुगेको छ।

टोटोटाका एक प्रत्यक्षदर्शी आरोन मासाकोइले भने, 'मानिसहरू ग्यास लिन ट्रकमाथि चढेका थिए भने केहीले ट्याङ्करबाट ग्यास निकाल्न फलामका रडले ट्याङ्की खोपेका र यसरी निस्केको ग्यास आगोको सम्पर्कमा पुग्दा विस्फोट हुन पुगेको थियो।'

मासाकोइले भने, 'ट्रकको चारैतिर मानिसहरु थिए र ट्रकका चालकले उनीहरूलाई चुहिएको ग्याँस लिन सक्ने अनुमति दिएको थिए तर उनीहरूलाई ट्याङ्करमाथि नचढ्न र ट्याङ्करलाई ठक्कर दिन रोक्न अनुरोध गरे पनि नमान्दा ठूलो मानवीय दुर्घटना हुन पुगेको छ। केही मानिसहरूले ट्याङ्कीमा प्वाल पार्न स्क्रू ड्राइभरहरू पनि प्रयोग गरिरहेका थिए।' रासस

प्रकाशित: १२ पुस २०८० ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App