गुगलमा जलवायु बेचैनीको विषयमा खोजी (सर्च) गर्नेको संख्या विश्वभर नाटकीय हिसाबले बढेको पाइएको छ। यसै गरी अन्य अध्ययनहरूले पुरुषको तुलनामा महिलाहरु बढी वैचेन रहेको देखाएका छन्। विश्वमा जलवायु परिवर्तनका कारण जङ्गली आगो, बाढी तथा खडेरी जस्ता विपतहरु बढ्दो क्रममा छन्। तर यो विषयले मानिसको दिमागमा कति असर पारेको छ भन्ने विषयमा त्यति धेरै रिपोर्ट भएका छैनन्। जलवायु परिवर्तनका कारण हुने तनावलाई जलवायु बेचैनी भन्ने गरिएको छ र विश्वव्यापी रुपमा यो समस्या बालबालिका र युवाहरू बढी देखिएको छ।
गुगल ट्रेन्डमा देखिएको तंथ्याकले जलवायु बेचैनी नाटकीय हिसाबले बढेको पाइएको हो। सन् २०२३को पहिलो १० महिनामा सन् २०१७ को तुलनामा यो विषयमा अग्रेजी भाषामा सोधखोज गर्नेको सङ्ख्या २७ गुणाले बढेको छ। यसै गरी पोर्चुगिज भाषामा यो अवधिमा गरिएको सर्चमा ७३ गुणाले बढोत्तरी भएको भने चिनिया भाषामा साढे ८ गुणा र अरेबिक भाषामा ५ गुणाले बढोत्तरी भएको छ। यी भाषा जलवायु बेचैनीको विषयमा सामान्यत अत्यधिक खोजी हुने नभए पनि बिबिसीले यी भाषामा गुगलमा कति खोजीनिती भएको छ भनेर सोधेको थियो।
जलवायु बेचैनीका विषयमा जागरूक रहेका अन्य भाषाका प्रयोगकर्ताले झन धेरै यो बिषयमा जानकारी लिन चाहेको हुनसक्ने देखिएको छ। गुगल ट्रेन्डमा जलवायु बेचैनी तथा इको–बेचैनी विषयमा भएका सर्चहरूको समीक्षाले यो बिषयमा भएको कुल खाेजी नीतिलाई प्रतिबिम्बित नगरे पनि यसले विश्वभर देखिएको प्रवृत्तीलाई मुखरित गरेको पाइएको छ। यो बिषयमा अत्यधिक सर्च गर्नेमा नर्डिक राष्ट्र रहेका छन्। गुगलमा भएका विश्वव्यापी कुल सर्चमध्ये फिनल्यान्ड, डेनमार्क, नर्वेबाट भएको सर्चको हिस्सा ४० प्रतिशत रहेको छ। ग्लोबल साउथका चिले, फिलिपिन्स र दक्षिण अफ्रिका जस्ता राष्ट्रले पनि यो विषयको गरिएको सर्चको सानो हिस्सा लिएका छन्। अत्यन्त थोरै मात्रामा यो विषयमा सर्च गरिएका अन्य राष्ट्रलाई अध्ययनमा समेटिएको थिएन। यसै गरी विगत १२ महिनामा ‘पृथ्वीको भविष्य’ तथा वातावरणको विषयमा विश्वव्यापी सर्च बढेको गुगलले जनाएको छ।
‘मानिसहरूले यो बिषयमा बुझ्न मात्र होइन, केही कार्य गर्न पनि खोजेको पाइएको छ,’ गुगलका प्रवक्ताले भने। उदाहरणका लागि विगत २ वर्षमा विश्वभरबाट भएको सबैभन्दा ट्रेन्डिङ खोजी ‘जलवायु परिवर्तनलाई कसरी समाधान गर्न सकिन्छ,’ भन्ने बिषयमा देखिएको छ।
गुगलको डाटाका अनुसार विगत १२ महिनामा ‘जलवायु परिवर्तन’ ‘अनुकूलन’ तथा ‘हरित गृह ग्यास’को भन्ने बिषयमा गरिएको सोधखोजमा १२० प्रतिशत गुणाले बढोत्तरी भएको छ। यसैगरी दिगोपना (सस्टनेबिलिटी) को बिषयमा यही अवधिमा ४० प्रतिशत गुणाले बढेको छ।
स्पेनिस भाषामा ‘जलवायु परिवर्तनको जोखिम के छ?’ भन्ने बिषयमा विगत १ वर्षमा १५० गुणा बढीले सर्च गरिएको छ। गुगलले यसरी सोधखोज गर्नेको लैगिक वितरण के थियो भन्ने विषयको तथ्याङ्क जारी नगरे पनि विभिन्न अध्ययनले यो बिषयमा महिला बढी बेचैन हुने गरेको देखाएका छन्। सन् २०२३मा सस्टेनेबिलिटी नामक एकेडेमिक जर्नलमा प्रकाशित गरिएको एक अध्ययनले जलवायु बेचैनीका हिसाबमा विश्वभर पुरुषको तुलनामा महिला बढी बेचैन हुने देखाएको थियो। सो अनलाइन अध्ययनमा विश्वका १० देशका १० हजार मानिस सहभागी रहेका थिए।
यसै गरी युरोपियन सोसियल सर्भेले सन् २०१९मा गरेको अर्को अध्ययनले पनि यही प्रकृतिको नतिजा देखाएको थियो।
सस्टेनेबिलिटी अध्ययनका सह लेखक समेत रहेकी प्राध्यापक सुसन क्लेटनका अनुसार महिलाले आफ्ना भावना व्यक्त गर्ने बढी उद्यत रहने भएकाले यस प्रकारको नतिजा आएको हुन सक्ने बताएकी छिन्।
‘भावनात्मक आवेग प्रस्तुत गर्न महिलाहरु पुरुषभन्दा अगाडि हुन्छन्,’ उनले भनिन्। वास्तविक जीवनमा जलवायु जोखिमका हिसाबले पुरुष भन्दा महिला बढी प्रभावित भएकाले यस प्रकारको नतिजा देखिएको हुन सक्ने तर्क उनको छ।
‘विषम मौसमको घट्नाका वेला हुने घरेलु हिंसामा महिला बढी पर्दछन् भने आफ्ना वासस्थानबाट विस्थापित हुँदा महिलाहरु यौनजन्य हिंसा र मानव बेचबिखनको जोखिममा रहन्छन्,’ उनले थपिन्।
यसै गरी उच्च तापक्रम, वायु प्रदूषणले गर्भवती महिला र गर्भमा रहेको शिशुलाई समेत प्रभाव पार्ने वैज्ञानिक अध्ययनले देखाएका छन्। यसै गरी अन्य अध्ययनले जलवायुजन्य बिपदवाट महिलाको मृत्यु हुने जोखिम बढी हुने देखिएको छ। सन् १८८३ देखि सन् २००९सम्म बगलादेशमा गरिएको एक अध्ययनले चक्रवातका कारण हुने मृत्यु हुनेमा पुरुष भन्दा महिला धेरै हुने गरेको देखाएको थियो। सुरक्षित स्थानसम्म पुग्न महिलालाई समय लाग्ने र आफ्नो भन्दा अरूको सुरक्षाको चिन्ता उनीहरूमा बढी हुने तर्क प्राध्यापक क्लेटनको छ।
सन् २०२२मा आइपीसीसीले जलवायु परिवर्तनले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पार्ने प्रतिवेदन सार्वजनिक गरेको थियो। अर्को साता दुबईमा हुने कोप–२८मा मानसिक स्वास्थ्यको बिषयमा छलफल गर्ने तयारी छ। जलवायु परिवर्तनको भौतिक प्रभाव सँगसँगै मानसिक रुपमा पर्ने प्रभावको बारेमा छलफल हुनुपर्ने विज्ञको सुझाव छ।
प्रकाशित: ८ मंसिर २०८० ०७:२८ शुक्रबार