१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

स्पेनी एकताको पक्षमा बार्सिलोनामा विशाल प्रदर्शन

बार्सिलोना –  क्याटलोनिया क्षेत्रलाई स्वतन्त्र भएको घोषणा गरेको भन्दै स्पेनले क्याटलोनियाको अधिकार कटौति गरेपछि स्पेनी एकताको पक्षमा बार्सिलोनामा भएको विशाल र्‍यालीमा हजारौंले सहभागिता जनाएका छन्। 

प्रदर्शनमा उत्रिएका अधिकाशंले स्पेन सरकारले अपदस्थ गरेको क्याटलोनियाका राष्ट्रपति कार्लेस पुइगमेन्टलाई जेल हाल्नु पर्ने नारा लगाएका थिए । क्याटलन महानगरीय प्रहरी, गार्डिया अर्बनाले स्पेनी एकताको पक्षमा बार्सिलोनामा भएको र्‍यालीम कम्तीमा तीन लाख प्रदर्शनकारी सहभागि भएको बताएको छ । र्‍यालीमा सहभागि भएका मध्ये १९ वर्षे एक विद्यार्थी मारिना फर्नान्डेजले क्याटलन प्रशासनले गरेको गतिविधिले आफू दुःखी भएकाले एकीकृत स्पेन पक्षधरको र्‍यालीमा सहभागि भएको बताइन् । ‘मेरा पुर्खाले बनाएको देशमा उनीहरुले गरिरहेको गतिविधिबाट म एकदमै दुःखी छु,’ फर्नान्डेजको भनाइ उल्लेख गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ। 

‘हामी के चाहान्छौं? हामीलाई नटुक्राइयोस् । यो एकदमै असह्य हुन्छ । हामी प्रतिस्पर्धा गर्न खोजिरहेका छैनौं । उनीहरुलाई इज्जतको मतलव छैन र पुइगमेन्टलाई जेल हालिनुपर्छ,’ अर्की प्रदर्शनकारी मारिया लोपेजले रोयटर्स समाचार एजेन्सीलाई बताइन् । 

स्पेनले शनिबारदेखि लागु हुने गरी क्याटलोनियामा प्रत्यक्ष शासन सुरु गर्दै क्याटलनका सम्पूर्ण निकायमाथि हस्तक्षेप गरेपछि पुइगमेन्टलाई पदबाट मुक्त गरिएको थियो । क्याटलोनियाको राष्ट्रपति पदबाट हटाइएपछि उनले बेल्जियममा राजनीतिक शरण लिने बेल्जियमा एक मन्त्रीले आइतबार दिएको जानकारी उद्धृत गर्दै बिबिसीले जनाएको छ । बेल्जियमका आप्रवासी मन्त्री थियो फ्रयांकेनले आइतबार स्थानीय टेलिभिजनसँग बोल्दै पुइगमेन्टलाई राजनीतिक शरण दिनसक्ने बताएका थिए । 

‘क्याटलोनियाको अहिलेको अवस्था हेर्ने हो भने पुइगमेन्टमाथि सम्भावित जेल सजायँ र म्याड्रिडको दमन हुने देखिएको छ । यस्तो अवस्थामा निष्पक्ष फैसला हुने सम्भावना देखिँदैन,’ उनले बताए। 

बेल्जियम मन्त्रीको यस्तो धारणा बाहिरिए पनि पुइगमेन्टले क्याटलोनिया छाड्ने कुनै संकेत नरहेको बिबिसीले जनाएको छ। 

स्पेनले क्याटलोनियालाई दिएको स्वायत्त राज्यको अधिकार कटौति गर्दै उक्त राज्यका कार्यकारी तथा उच्च अधिकारीलाई समेत बर्खास्त गरेको जनाएको छ । अक्टोबर १ का दिन पुइगमेन्टको पृथकतावादी सरकारले जनमत संग्रह गराएपछि स्पेनमा संवैधानिक संकट जारी रहेको छ । उक्त जनमत संग्रहलाई स्पेनको संवैधानिक अदालतले गैरकानुनी घोषणा गरेको थियो । क्याटलन सरकारले भने कुल मतदाताको ४३ प्रतिशतले मतदानमा सहभागिता जनाएको र त्यसमध्ये पनि ९० प्रतिशतले स्वतन्त्र क्याटलोनियाको पक्षमा मतदान गरको बताएको थियो। 

क्याटलोनियाको क्षेत्रीय संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गर्दै आफू स्वतन्त्र भएको घोषणा गरेपछि म्याड्रिडले उक्त घोषणा गैरकानुनी भएको प्रतिक्रिया दिएको थियो । त्यसपछि स्पेनका प्रधानमन्त्री मारिआनो राजोयले क्याटलन क्षेत्रीय संसद् विघटनको घोषणा गर्दै क्याटलनका नेताका रुपमा रहेका पुइमेन्टलाई पदमुक्त गरेका थिए । उनले समय अगावै डिसेम्बर महिनामा नयाँ निर्वाचन गर्न समेत आदेश दिएका थिए । आफूलाई पदमुक्त गरिएपछि पुइगमेन्टले भने आफ्ना समर्थकलाई प्रजातान्त्रिक शैलीमा विरोध जनाउन अपिल गरेका छन्। क्याटलोनियाको राष्ट्रपति रहेका पुइगमेन्टलाई उक्त पदबाट मुक्त गरिएपनि डिसेम्बर महिनामा हुने क्षेत्रीय निर्वाचनमा भने उनले सहभागि हुन पाउने स्पेनले बताएको छ।

म्याड्रिड सरकारका प्रवक्ता इनिगो मेन्डेज डी भिगोले पुइगमेन्टलाई उनको पदबाट मुक्त गरिएपनि राजनीतिमा निरन्तरता दिने उनको अधिकार भएको बताएका छन्। ‘यदि पुइमेन्टले आगामी निर्वाचनमा सहभागिता जनाए भने उनले राजनीतिक विरोधको अधिकार प्रयोग गरेको हुनेछ,’ प्रवक्ता भिगोलाई उल्लेख गर्दै रोयटर्सले जनाएको छ। 

प्रकाशित: १३ कार्तिक २०७४ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App