६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

चीन नयाँ युगमा प्रवेश गरेको राष्ट्रपति सीको दाबी

बेइजिङ- चिनियाँ कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय महाधिवेशन (कंग्रेस) बुधबार बिहानदेखि राजधानी बेइजिङमा सुरु भएको छ ।

    स्थानीय समयअनुसार बुधबार बिहान ९ बजे बेइजिङको ‘ग्रेट हल अफ दि पिपुल’मा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ चीनको सत्तारुढ दलको महाधिवेशन सुरु भएको हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको ग्रेट हल अफ दि पिपुलमा बुधबार बिहान महाधिवेशन सुरु गर्नुअगावै देखि नै चीनभर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

महाधिवेशनको उद्घाटन सत्रको चाइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रशारण गरेका थिए ।

    प्रत्येक पाँच वर्षमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्घाटन गरेका थिए । राष्ट्रपति सीले महाधिवेशनको उद्घाटन सत्रको नेतृत्व गर्दै आफ्नो कार्यकालमा भएका उपलब्धिको जानकारीसमेत गराएका थिए । नेशनल कंग्रेसमा सहभागि हुनका लागि चीनका विभिन्न भागबाट दुई हजार दुई सय ८७ जना प्रतिनिधि सहभागी रहेका छन् । उनीहरुमध्ये अधिकांश मंगलबार नै राजधानी बेइजिङ आइपुगेका थिए ।

    चिनियाँ कम्युनिस्ट पार्टीको नेशनल कंग्रेस हरेक पाँच बर्षमा हुने गर्छ । नेशनल कंग्रेस चिनियाँ कम्युनिस्ट पार्टीको सर्वाेच्च निकाय हो । नेशनल कंग्रेसलाई चिनियाँ कम्युनिस्ट पार्टीको एक महत्वपूर्ण एवं शक्तिशाली अंगका रुपमा लिने गरिन्छ । नेशनल कंग्रेसले आगामी पाँच बर्षका लागि कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच बर्षमा गर्नुपर्ने कामको योजना पनि पारित गर्ने गर्दछ ।

    चीनको नीति निर्माणमा महत्वपूर्ण भूमिका रहने पार्टीको पोलिटब्यूरो र स्थायी समितिका लागि नेता चयन गर्ने काम पनि नेशनल कंग्रेसले नै गर्ने गर्दछ । चिनियाँ कम्युनिस्ट पार्टीको नीति निर्माण गर्ने तह पोलिटब्युरोमा को को रहने छन् भन्ने बारेमा पनि आउँदो साता समापन हुने यसै महाधिवेशनले चयन गर्नेछ । पोलिटब्यूरोमा रहने सदस्यको चयन महाधिवेशनको अन्त्यमा हुने बताइएको छ । महाधिवेशनलाई चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुले सम्बोधन गर्ने छन् । अत्यन्तै कडा सुरक्षाका बीच गोप्य रुपमा महाधिवेशनको आयोजना गरिएको छ । महाधिवेशनले आगामी कार्यकालका लागि कम्युनिस्ट पार्टीका नेता छान्नुका साथै थप नीति पनि निर्माण गर्नेछ । यस पार्टीका आगामी कार्यक्रम र नीतिका बारेमा पनि महाधिवेशनमा व्यापक मात्रामा छलफल हुने बताइएको छ ।

भ्रष्टाचार विरोधी लडाइँ जित्नुपर्छ

राजधानी बेइजिङमा बुधबार सुरु भएको कम्युनिस्ट पार्टीको १९औं महाधिनवेशनमा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनमा यतिखेर भ्रष्टाचारका विरुद्धमा लडाइँ जारी रहेको र यो लडाइँ जसरी पनि जित्नुपर्नेमा आफू लागि परेको बताएका छन् । महाधिवेशन उद्घाटन पछि सम्बोधन गर्दै राष्ट्रपति सीले यस्तो धारणा राखेका हुन् । उनले भ्रष्टाचार अहिलेको चीनका लागि प्रमुख चुनौती भएको पनि स्पष्ट गरेका थिए ।
    ‘म राष्ट्रपति भएदेखि नै भ्रष्टाचारविरोधी अभियान सुरु गरेको हुँ र अहिलेसम्म लाखौं भ्रष्टाचारीलाई कारबाही भइसकेको छ,’ सम्बोधनका क्रममा राष्ट्रपति सीले बताए । ‘हामी भ्रष्टाचारका विषयमा शुन्य सहनशीलतामा काम गर्नेछौं । यो हाम्रो देशको लागि ठूलो चुनौती भएको सबैले बुझ्नु जरुरी छ,’ उनले बताए ।  

    राष्ट्रपति सीले घुस लिने मात्र होइन घुस दिने मानिसलाई पनि कडाभन्दा कडा कारबाही गरिने आफ्नो सम्बोधनका क्रममा दोहो¥याएका थिए । चीनमा बढ्दो भ्रष्टाचार नियन्त्रणलाई लिएर राष्ट्रपति भएदेखि नै सीले जोड दिँदै आएका छन् । पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै राष्ट्रपति सीले देशमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि जारी अभियानअन्तर्गत १० लाखभन्दा बढी अधिकारीलाई कारबाही गरेको र सो कार्य आफ्नो कार्यकालको सफलता रहेको उल्लेख गरेका छन् । सन् २०१२ मा चीनको राष्ट्रपति भएका सीले भ्रष्टाचार विरोधी नेताका रुपमा आफूलाई शक्तिशाली बनाउँदै आएका छन् । चीनमा प्रभावशाली मानिएका सी १९औं महाधिवेशन पछि पनि पार्टीको प्रमुखकै रुपमा रहने अपेक्षा गरिएको छ ।

    राष्ट्रपति सीले आफ्नो शासनकालमा चीनले हासिल गरेका उपलब्धिबाट बुधबारको भाषण सुरु गरेका थिए । सम्बोधनका क्रममा उनले समाजवादसहित चीन अब नयाँ युगमा प्रवेश गरेको पनि दाबी गरेका छन् ।

प्रकाशित: २ कार्तिक २०७४ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App