१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

भ्रष्टाचार सार्वजनिक गर्ने पत्रकार कारुआना गालिजियाको हत्या

वलेत्ता– युरोपेली मुलुक माल्टामा भएको भ्रष्टाचारसम्बन्धी पानामा पेपर्स अनुसन्धानको नेतृत्व गरेकी प्रसिद्ध पत्रकार एवं ब्लगर डाफ्ने कारुआना गालिजियाको कार बम विस्फोटनमा परी मृत्यु भएको माल्टा प्रहरीले जनाएको छ।

माल्टाको मोस्टा सहर नजिकै रहेको बिडनिजास्थित घरबाट निस्केको केही समयमा नै आफैले चलाइरहेको कार विस्फोट भएर ५३ वर्षे डाफ्ने कारुआना गालिजिया मारिएको बताइएको छ । घरबाट निस्कने बित्तिकै कारमा बम विस्फोट भएको उनको एउटा छोराले सुनेपछि उनी कुद्दै गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस वर्षको सुरुआतमा कारुआना गालिजियाले भ्रष्टाचारीको आरोप लगाएका माल्टाका प्रधानमन्त्री जोसेफ मस्काटले उनको हत्याको निन्दा गरेका छन् । ‘मेरो देशको व्यक्ति र अभिव्यक्ति स्वतन्त्रतामाथि भएको म यो बर्बर हत्याको कुनै पूर्वाग्रहबिना निन्दा गर्दछु,’ टेलिभिजनमार्फत् विज्ञप्ति दिँदै प्रधानमन्त्री मस्काटले बताएका छन् । ‘सबैलाई थाहा छ कारुआना गालिजिया राजनीतिक र व्यक्तिगत दुवै रुपमा मेरो तथा अन्य व्यक्तिका कट्टर आलोचक थिइन् तर यस्तो क्रुर कदम कुनैपनि रुपमा सही हुन सक्दैन,’ उनले बताए । ‘उनलाई न्याय प्रदान नगरेसम्म म थकाइ मार्ने छैन,’ प्रधानमन्त्री मस्काटले बताए ।

माल्टाका विभिन्न प्रख्यात व्यक्तिले विदेशमा सम्पत्ति राखेको विवरण सार्वजनिक गरेकी कारुआना गालिजिया एक निडर पत्रकार तथा ब्लगर रहेकी थिइन् ।

पत्रकार कारुआना गालिजियाको हत्यापछि हजारौं मानिसले सोमबार साँझ मैनबत्ती बालेर इस्लीमा सहरमा  प्रार्थना गरेका थिए ।

आफूमाथि सुरक्षा चुनौति बढेको भन्दै कारुआना गालिजियाले दुई साता अघि प्रहरीमा निवेदन दिएको माल्टाका टेलिभिजनहरुले समाचार सम्प्रेषण गरेका छन् । टेलिभिजिनहरुका अनुसार आफूलाई सुरक्षा चुनौति भएको प्रहरीमा उल्लेख गरेपनि उनले विस्तृत विवरण भने दिएकी थिइनन् । पत्रकार कारुआना गालिजियाका हत्याका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको बिबिसीले उल्लेख गरेको छ । स्थानीय पत्रिकाका अनुसार बम विस्फोटका कारण कारुआना गालिजियाले चलाइरहेको कारका टुक्राहरु छरिएका अवस्थामा सडक र नजिकैका खेतभर रहेका थिए ।

ब्लगर कारुआना गालिजियाले वर्तमान प्रधानमन्त्री मस्काट र उनकी पत्नीलाई पानामा पेपर्स काण्डमा मुछिएको आरोप लगाएपछि समय भन्दा अगाडि नै भएको निर्वाचनमा मस्काटको दल लेबर पार्टीले चुनाव जितेको चार महिनापछि कारुआना गालिजियाको हत्या भएको छ । पानामा पेपर्समा आएजस्तो अजरबैजानको शासक परिवारबाट आउने रकम लुकाउनका लागि मस्काट दम्पतिको विदेशमा गोप्य बैंक खाता भएको भन्ने आरोप उनीहरुले अस्विकार गर्दै आएका छन् । प्रधानमन्त्री दम्पतिबाहेक पनि कारुआना गालिजियाले लेखेको प्रसिद्ध ब्लगमा देशको अवस्था अत्यन्तै डरलाग्दो भएको भन्दै विपक्षी दलका नेताहरुलाई पनि लक्षित गरिएको थियो ।

ब्लगर कारुआना गालिजियाको हत्या राजनीतिबाट पेरित भएको भन्ने हल्ला भएपनि यस विषयमा थप अनुसन्धान आवश्यक रहेको प्रधानमन्त्री कार्यालयकी प्रवक्तालाई उल्लेख गर्दै बिबिसीले जनाएको छ । ब्लगर कारुआना गालिजियाको हत्यामा संलग्न अपराधी पत्ता लगाउन माल्टाले अमेरिकी गुप्तचर संस्था एएफबिआईसहित अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको पनि प्रधानमन्त्री कार्यालयकी प्रवक्ताले बताइन् । यसैबीच कारुआना गालिजियाका परिवारले भने अनुसन्धानमा संलग्न म्याजिस्ट्रेट प्रमुखलाई हटाउन माग गरेको ‘माल्टा इन्डिपेन्डेन्ट’ले उल्लेख गरेको छ । हत्या अनुसन्धानमा संलग्न वर्तमान म्याजिस्ट्रेटका विरुद्धमा विभिन्न आलोचना रहेको बताइएको छ।

माल्टाका विभिन्न प्रख्यात व्यक्तिले विदेशमा सम्पत्ति राखेको विवरण सार्वजनिक गरेकी कारुआना गालिजिया एक निडर पत्रकार तथा ब्लगर रहेकी थिइन् । उनी इन्टरनेशनल कन्सरटियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट (आइसिआइजे) का डेभलपर र तथ्यांक पत्रकार माथियू कारुआना गालिजियाकी आमासमेत हुन् । आइसिआइजेका प्रमुख कार्यकारी निर्देशक जोन डन्बारले पनि पत्रकार कारुआना गालिजिया हत्याको निन्दा गर्दै यो केवल साहसिक पत्रकारको दुखद् हत्या मात्रै नभई सिंगो पत्रकार जगतको हत्या भएको बताएका छन् । ‘दोषीलाई कारबाहीको दायरामा नल्याई यो घटनालाई छोडिनुहुन्न,’ उनले बताए ।

इन्टरनेशनल कन्सरटियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट (आइसिआइजे)ले पनि हत्याको निन्दा गर्दै विज्ञप्ति निकालेको छ । ‘पत्रकारमाथि हुने हिंसाको आइसिआइजे निन्दा गर्दै माल्टाको प्रेस स्वतन्त्रतालाई लिएर अत्यन्तै गहिरो सरकोर राख्दछ,’ निर्देशक गेराड रायलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘पत्रकार कारुआना गालिजिया हत्याको सत्यतथ्य विवरण बाहिर ल्याएर दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि आइसिआइजेले माग गरेको छ । पत्रकार कारुआना गालिजियाको हत्यालाई कुनैपनि संस्था वा व्यक्तिले जिम्मेवारी लिएको छैन ।

 

 

प्रकाशित: १ कार्तिक २०७४ ०५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App