मुम्बईका एक व्यक्तिले अनलाइन जुवा ठगीमा फसेर आफू र साथीहरूले करिब १३ करोड भारु गुमाएको दाबी गरेका छन्।
उनले एएनआईसँग भने, ‘कोभिड–१९ को महामारीमा पहिलो पटक गेमिङ एपमा ५०० रुपैयाँ लगानी गरेको थिए। समय बित्दै जाँदा कमाइ बढाउने आशामा लगानी बढाएँ, तर वर्षौंसम्मको मेहनतले कमाएको सम्पूर्ण बचत गुम्यो।’
घटना अनुसन्धानमा रहेकाले पीडित र पीडकको नाम उल्लेख गरिएको छैन।
उनले भने, ‘अनलाइन गेमिङ एपहरूले विभिन्न नाममा एप सञ्चालन गर्छन्, जसले प्रयोगकर्तालाई भ्रममा पार्छ।’
अधिकारीले भने, ‘अनलाइन गेमिङ एपहरूको अनुसन्धान भइरहेको छ। इडीले पनि यसको जाँच गरिरहेको छ।’
अधिकारीका अनुसार, ती व्यक्तिले १५ करोडभन्दा बढी गुमाएको बताएका छन्।
पीडितले थपे, ‘सन् २०२१ मा हामीले अनलाइन गेमिङको विज्ञापन भेट्यौँ। धेरै एप छन्, तर ती वास्तविक वा कानुनी छन् कि छैनन्, मानिसलाई थाहा हुँदैन। हामीलाई पनि थाहा थिएन।’
उनले भने, ‘उनीहरूले धेरै बैंक खाता प्रयोग गर्छन्। उनीहरूसँग पाँच–छ वटा गेमिङ प्लेटफर्म छन्। मलाई लाग्छ, ती सबै उनीहरूकै हुन्। सबै खेल र सर्भर उस्तै छन्।’
उनका अनुसार, प्लेटफर्महरूले वेबसाइटमा रूलेट र लुडोजस्ता खेल प्रदान गर्थे। पीडितले गेमिङ एपविरुद्ध एफआइआर पनि दर्ता गराएका छन्।
उनले भने, ‘सुरुमा ५० लाख जम्मा गरेका थियौँ। सञ्चालकले नाफा बाँड्ने आश्वासन दिएका थिए।’
उनले थपे, ‘हामीले रूलेटमा लगानी गर्यौँ। उनीहरूले लाभ–साझेदारी बोनस दिने भने, तर कहिल्यै दिएनन्।’
उनले आफ्नो खाता ब्लक हुनुअघि जालसाजहरूले सानो रकम झिक्न दिएको सम्झिए, ‘हामीसँग ५० लाख धरौटी थियो। पहिले दुई लाख झिक्न दिए। दोस्रो दिन ७५ हजार र तेस्रो दिन ५० हजार फिर्ता लियौँ। चौथो दिनमा उनीहरूले रोके र केवाईसी गर्न भने।’
केवाईसी गरे पनि प्रक्रिया नमिलेको भन्दै रकम फिर्ता दिएनन्।
उनले दुख व्यक्त गर्दै भने, ‘म सरकारसँग न्याय चाहन्छु। मेरो पैसा फिर्ता चाहन्छु। यो मेरो मुख्य आग्रह हो।’
हजारौँ पीडित र १५ करोडभन्दा बढीको लेनदेनमा संलग्न यो ठगी साइबर पुलिस र प्रवर्तन निर्देशालय (इडी) को संयुक्त अनुसन्धानमा छ। घटनाको थप अनुसन्धान भइरहेको छ। एएनआई
प्रकाशित: ८ भाद्र २०८२ ०९:४८ आइतबार





