६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

के भारतको नाम परिवर्तन भएको हो ?

‘भारत’ अथवा ‘इन्डिया’ यी दुई नामलाई लिएर भारतीय राजनीतिक माहोल यतिबेला तातेको छ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूको तर्फबाट जि–२० राष्ट्रको सम्मेलनको बेला पठाइएको रात्रिभोजको निमन्त्रणा पत्रमा ‘प्रेसिडेन्ट अफ भारत’ लेखिएपछि यतिबेला भारतको राजनीतिक माहोल तातिएको हो।

उनको यो पत्रलाई लिएर भारतको सत्ता पक्ष र विपक्षबीच तिखो बहस भइरहेको छ। बीबीसीका अनुसार विपक्षी दलहरूले केन्द्र सरकारले देशको नाममा ‘इन्डिया’ शब्दको प्रयोग बन्द गरिदिएको र अब ‘भारत’ मात्रै लेख्ने योजना बनाएको आरोप लगाएका छन्।

तर, विपक्षी दलको आरोपमा भने केन्द्र सरकार वा राष्ट्रपति कार्यालयको तर्फबाट हालसम्म कुनैपनि किसिमको आधिकारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन। तर, भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेंद्र प्रधानले आफ्नो सोशल मीडिया ह्याण्डलमा राष्ट्रपति कार्यालयबाट प्राप्त निमन्त्रणा पत्र पोस्ट गरेका छन्।

त्यस्तै अर्का केन्द्रीय मन्त्री गिरिराज सिंहले पनि आफ्नो निमन्त्रण पत्र सार्वजनिक गरेका छन्। जसमा ‘प्रेसिडेन्ट अफ भारत’ लेखिएको छ।  

त्यति मात्र होइन द इन्डियन एक्सप्रेसका अनुसार सरकारले भारत नाम उल्लेखित एउटा पुस्तिका पनि जारी गरेको छ। जुन पुस्तिका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इन्डोनेशियामा हुने आसियान सम्मेलनमा सहभागी हुनेसँग जोडिएको छ।  

उक्त पुस्तिकामा प्रधानमन्त्री मोदीलाई इन्डियाको प्रधानमन्त्रीको साटो भारतको प्रधानमन्त्री भनेर लेखिएको छ।

भारतीय जनता दलका नेताहरूले पछिल्लो समय भारतको नाम परिवर्तनको माग गरिरहेका छन्। भारतीय संविधानको पहिलो अनुच्छेदमा ‘इन्डिया जुन भारत हो, राज्यहरूको सङ्घ हुनेछ’ भनेर लेखिएको छ। भारतको नाम परिवर्तन गरेर इन्डियाबाट भारत राख्नुपर्ने उनीहरूको भनाइ छ।  

संसदको मनसुन सत्रमा बीजेपी सांसद नरेश बंसलले ‘इन्डिया’ नाम ‘औपनिवेशिक दासत्व’ को प्रतिक रहेको र यसलाई संविधानबाट हटाउनुपर्ने बताएका थिए।

किन इन्डिया शब्द हटाउन चाहन्छ बिजेपी

जतिबेला ब्रिटिशहरू भारतमा शासन गर्नका लागि आएका थिए त्यतिबेला भारतलाई हिन्दुस्तान भन्ने गरिन्थ्यो। तर, अङ्ग्रेजहरूलाई हिन्दुस्तान बोल्न अप्ठ्यारो भइरहेको थियो। ब्रिटिशहरूलाई भारतको सभ्यता सिन्धु घाटी रहेको जसलाई इन्ड्स भ्याली पनि भन्ने गरिन्छ। यो शब्दलाई ल्याटिन भाषमा इन्डिया भनिन्छ। त्यसपछि ब्रिटिशहरूले भारतको नाम हिन्दुस्तानबाट इन्डिया राखिदिएका हुन्। ब्रिटिशहरूले राखेको नाममा अझैपनि दासत्वको झल्को आउने भएकाले इन्डिया नाम हटाएर भारत राख्ने बिजेपी नेताहरूको तर्क छ।

भारतको नाम कसरी भारत राखियो ?

जैन धर्माबलम्बीहरूका अनुसार भरत चक्रवर्ती सम्राटको नामबाट भारतको नाम भारत राखिएको इतिहास छ। त्यस्तै हिन्दू ग्रन्थ स्कन्ध पुराणका अनुसार ऋषभका पुत्र भरतको नामबाट भारतको नाम भारत–वर्ष राखिएको हो।

प्रकाशित: २० भाद्र २०८० ०४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App