१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुरुषत्वको महत्व

पुरुषलाई के कुराले पुरुष बनाउँछ? यसका लागि उसमा रहेको टेस्टोस्टेरोन नामक हार्मोनले। यो हार्मोन पुरुषहरुको अण्डकोषमा बन्ने गर्छ। सामान्यतः यसैलाई सर्वसाधारणले पुरुषत्वको लक्षणका रुपमा लिन्छन्। यही हार्मोनका कारण पुरुषहरुमा आक्रामकता, अनुहारको रौँ, मांसलता र यौन क्षमताजस्ता पक्षमा भूमिका खेल्छ।

शारीरिक र मनोवैज्ञानिक स्वास्थ्यका लागि यो हार्मोन सबै पुरुषका लागि आवश्यक छ।

टेस्टोस्टेरोन हार्मोन उमेर ढल्किएसँगै काम हुन थाल्छ। एउटा अनुमानअनुसार ३० देखि ४० को उमेर कटेपछि हरेक वर्ष दुई प्रतिशतले यस हार्मोनको उत्पादन कम हुन थाल्छ। यसको क्रमिक सुस्त निर्माण हुनु कुनै समस्या होइन तर यसको कमी के कारणले हुन सक्छ भन्ने अध्ययनहरु भइरहेका छन्। चिकित्सकहरुका अनुसार यस हार्मोनको उत्पादन तीव्र गतिमा घट्यो भने चाहिँ चिन्ताको विषय हुन सक्छ। खास किसिमका रोग, उपचार र चोटका कारण यसको उत्पादन कम हुन सक्छ।

टेस्टोस्टेरोन हार्मोनको कमीलाई हाइपोगोनिडिज्म भनिन्छ। ब्रिटिस पब्लिक हेल्थ सिस्टमका अनुसार बेलायतमा हरेक एक हजारमध्ये पाँच जना यस किसिमको समस्याबाट पीडित हुने गरेका छन्। नेपालमा यस किसिमको अध्ययन नहुने हुनाले नेपालमा कति पुरुषमा यस किसिमको हार्मोन उत्पादन कम हुन्छ भन्ने पत्ता लगाउन निकै कठीन छ।

टेस्टोस्टेरोन सामान्यभन्दा कम भयो भन्ने कसरी थाहा पाउने त? केही नगरी पनि थकान महसुस हुनु र विविध क्रियाकलापमा सुस्त हुन थाल्नु। अवसाद, चिन्ता, चिडचिडाहट हुनु। यौन सम्बन्ध राख्ने इच्छा कम हुन थाल्नु र नपुंसकताको गुनासो हुनु। अलि लामो समयसम्म कसरत गर्न नसक्नु। सशक्तता क्षीण हुँदै जानु। दाह्री–जुँगा बढ्न कम हुन थाल्नु। बढीभन्दा बढी पसिना निस्कन थाल्नु। स्मरणशक्ति क्षीण हुनु र कुनै पनि कुरामा एकाग्रता देखाउन नसक्नु।

लामो समयसम्म हाइपोगोनडिज्म जारी रहे हाडलाई नोक्सान पुर्‍याउने जोखिम हुन्छ। ससानो कारणले पनि हातगोडा भाँच्चिने सम्भावना बढेर जान्छ।

यो उमेर बढ्ने क्रममा हुने सामान्य परिवर्तन होइन। यो चाहिँ मोटोपन र टाइप २ डाइबिटिजसँग सिधा सम्बन्धका कारणले पनि हुन्छ।

यस्तो अवस्थामा आफू छु कि छैन भनी जाँच गर्न भने सकिन्छ। टेस्टोस्टेरोनको परीक्षण रगत जाँचबाट थाहा पाउन सकिन्छ। यसको स्तर हरेक दिन उही र उस्तै हुँदैन तर स्तर स्वात्तै घटेको पाइए रोगीलाई एन्डोक्राइन स्पेसलिस्टकहाँ पठाइन्छ।

टेस्टोस्टेरोन पुरुषका अण्डकोषमा विकसित हुन्छ। यसलाई पिट्युटरी ग्रन्थी र हाइपोथेलेमसले नियन्त्रित गर्छ। कुनै रोगले पिट्युटरी ग्रन्थी र हाइपोथेलेमस प्रभावित भएको खण्डमा हाइपोगोनडिज्मको कारण बन्न पुग्छ। यस रोगको सिधा सम्बन्ध अण्डकोषसँग हुन्छ। अण्डकोषमा चोट, त्यसको सर्जरी, क्लाइनफेल्टर सिन्ड्रोम र आनुवांशिकी गडबडीका कारणले पनि पिट्युटरी ग्रन्थी र हाइपोथेलेमस प्रभावित हुने गर्छ र यही कारणले हाइपोगोनडिज्मको अवस्था सिर्जना हुन्छ।

इन्फेक्सन, कलेजो र मिर्गौलामा कुनै किसिमको समस्या भए, रक्सी अत्यधिक खाने लत रहे, केमोथेरापी तथा रेडिएसन थेरापीका कारण पनि टेस्टोस्टेरोन हार्मोनमा कमी आउने गर्छ।

प्रकाशित: १३ चैत्र २०७३ ०४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App