१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाउरोटी धेरै नसेक्नुस्

पाउरोटी, चिप्स र आलु तार्नुबाट जोगिनुहोस् है! खान्कीसम्बन्धी वैज्ञानिकहरुका अनुसार बढी तारेका, बढी सेकिएका खान्कीबाट क्यान्सर हुने सम्भावना बढ्छ। बढी तापमानमा सेकाइएका, बढी तारिएका, पोलिएका खान्कीमा एक्रिलामाइड नामक रसायन उत्पन्न हुन्छ। १२० डिग्री सेल्सियससम्म पकाइने चिप्स, ब्रेड, बिहान खाइने बिस्कुट, क्र्याक, केक तथा कफीमा एक्रिलामाइड रसाइन पाइने गर्छ।

पोल्दा वा डढाउँदा जति गाढा रङ आयो, त्यति बढी एक्रिलामाइड बन्छ। पोल्दै जाँदा खैरो रङ हुन्छ र खैरो रङ हुँदै जाँदा एमिनो एसिड र पानीको मिश्रण घुलमिल हुन थालेपछि एक्रिलामाइड बन्छ। यसले सुगन्ध पनि उत्पन्न गराउँछ।

फुड स्ट्यान्डर्ड एजेन्सी (एफएसए)ले खाना बनाउँदा के गर्ने भनी एउटा नियम प्रकाशित गरेको छ र यसलाई सावधानीपूर्वक पालना गर्न आग्रहसमेत गरेको छ। खान्कीलाई तताउँदा वा पोल्दा नडढाउनु उत्तम भएको एफएसएले जनाएको छ। त्यसो त क्यान्सर रिसर्च प्रवक्ताले मज्जाले भुटिएका खान्कीबाट क्यान्सर भएको अहिलेसम्म पुष्टि भइनसकेको बताएका छन्।

जनावरमा गरिएको शोधले एक्रिलामाइड रसायनले डिएनएका लागि विषालु हुने गरेको र यसले क्यान्सरका लागि वातावरण तयार गर्ने गरेको भने देखिएको छ। वैज्ञानिकले यसलाई पूर्ण रुपमा हानिकारक भएको नबताए पनि सचेत रहनुपर्ने भनिरहेका छन्। एक्रिलामाइडले क्यान्सर हुने खतराका साथै स्नायु र प्रजनन् प्रणालीका लागि पनि हानिकारक हुने सम्भावना व्यक्त गरिरहेका छन्।

एफएसएले भने आलुलाई फ्रिजमा नराख्न सचेत गराएको छ। कम तापक्रममा राखिएको आलुलाई पकाउँदा हानिकारक एक्रिलामाइड उत्पन्न हुने शोधकर्ताहरुको भनाइ छ।

यसैबीच, खान्कीकै सम्बन्धमा नयाँ प्रयोग भइरहेका छन्। एउटा अमेरिकी कम्पनीले हालै पाउरोटी बिग्रन नदिन नयाँ प्रविधिको विकास गरेको छ। ६० दिनसम्म पाउरोटीमा अब कुनै किसिमको ढुसी लाग्ने छैन। कम्पनीले एउटा अत्याधुनिक माइक्रोवेब बनाएको छ। यस माइक्रोवेबमा राखिएका पाउरोटीमा ढुसी नलाग्नुका साथै ढुसी बनाउने जीवाणुलाई नै नष्ट पार्छ। माइक्रो ज्यापनामक कम्पनीले यस्तो प्रविधिको विकास गरेको हो। पाउरोटी मात्र नभएर अन्य खाद्य पदार्थका लागि पनि यो प्रयोग गर्न मिल्ने बताइएको छ।

यसले खाद्यान्न फ्याँक्ने समस्या कम हुने बताइन्छ। बेलायत र अमेरिकामा सबैभन्दा बढी खानेकुरा फ्याँकिने एउटा आँकडाले देखाएको छ। चाँडै ढुसी लाग्ने हुनाले खाद्यान्न फ्याँक्नुपर्ने र यसले वार्षिक १६५ अर्ब डलर घाटा लगाउने गरेको देखिएको छ।

यसैगरी हामीले बजारमा किन्ने गरेको पाउरोटी बनाउने कम्पनीले पोटासियम ब्रोमेट प्रयोग गर्ने र त्यसले क्यान्सरजन्य रोग बढाउन सहयोग पुर्‍याउने गरेको भारतीय खाद्य सुरक्षा तथा मानक संस्थाले जनाएको छ। त्यसैले पाउरोटी बनाउँदा पोटासियम ब्रोमेट प्रयोग नगर्न हालै आदेश दिएको छ। पोटासियम ब्रोमेट प्रयोग गर्नबाट कैयौँ देशमा प्रतिबन्ध लगाइएको छ। यसले थाइराइड र क्यान्सरसँग जोडिएका समस्या हुने सम्भावना बताइन्छ

प्रकाशित: ११ माघ २०७३ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App