१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अल्छी लाग्दा हाई किन आउँछ?

जिउ तनक्क तन्काएर हाई गर्नुको मजै बेग्लै! तर तपाईंलाई थाहा नहुन सक्छ, मानिसले जीवनभरि करिब २.५ लाख पटक र हरेक दिन पाँचदेखि १० पटकसम्म हाई गर्छ। आखिर यो हाई किन आउँछ? निद्रा लाग्नुअघिको यो सङ्केत मात्र हो कि अरु नै केही पनि हो?

शोधकर्ताहरूका अनुसार हामीले जीवनभरिमा २.४ लाखदेखि २.५ लाख पटकसम्म हाई काड्छौँ। मानिस र पशु पनि बिहान उठेर तथा राति सुत्नुअघि हाई काड्ने गर्छन्। कतिसम्म भने कुनै गर्भस्थ शिशु आमाको कोखमा ११ हप्ताको भएपछि हाई काड्न थालिसक्छ।

एउटा आम धारणा के छ भने हाई काड्नुको अर्थ निद्रा लाग्न थाल्नु हो तर यो धारणा सही नभएको शोधकर्ताहरूको भनाइ छ। हाई काडिँदा हाम्रो मस्तिष्कको तापमानलाई सन्तुलनमा आउने गर्छ। यो कुरा हामीलाई थाहा नभए पनि हाम्रो शरीरले चाल पाइसकेको हुन्छ। त्यसैले दिमागको तापक्रम घटाउन बेलाबेलामा हाई काडिन्छ। सुत्नुअघि र बिहान उठेपछि प्रायः हामी हाई काड्छौँ। किनभने सुत्दा हाम्रो मस्तिष्कको तापमान सामान्यभन्दा बढी हुन्छ।

अर्को एउटा धारणा के पनि छ भने अक्सिजनको कमी र कार्बनडाई अक्साइडको मात्रा बढी भयो भने त्यसले हाई काड्न प्रेरित गर्छ तर यो बुझाइ पनि गलत छ। न्युयोर्क स्टेट युनिभर्सिटीका मनोवैज्ञानिक एन्ड्रयु गेलपका अनुसार दिमागको तापमान बढ्नु निकै सामान्य कुरा हो। यसलाई कम गर्न बेलाबेलामा हाई काडिनु पर्छ र त्यही कारणले हाई आउने गर्छ।

भय र तनावको अवस्थामा पनि दिमागको तापक्रम बढ्छ। गेलपको तर्कअनुसार हाई काडेर हाम्रो मस्तिष्कले तापक्रम कम गर्छ। यही कारणले नसोचेको बेलामा मान्छेहरू हाई काड्ने गर्छन्।

कसैले हाई काड्न थाल्यो र त्यसको छेउमा तपाईं हुनुहुन्छ भने तपाईंलाई पनि त्यो हाई सर्न सक्छ। हाई पनि सरुवा हुन्छ भन्ने कुरा त तपाईंले अनुभव नै गर्नुभएको होला।

अफिसमा काम गर्दैरहँदा तपाईंलाई हाई आयो भने त्यो बेला एयरकन्डिस्नर या पङ्खा खोल्नु उपयुक्त हुन्छ। तर गर्मीका बेला निकैबेरसम्म पङ्खा खोल्नु अथवा एसीमा बस्नुले तपाईंलाई झुपुक्क निद्रा पनि लाग्न सक्छ। त्यस्तो भयो भने तपाईंको जागिर जाने प्रवल सम्भावना हुन्छ।

शोधकर्ताका अनुसार हाई करिब ६ सेकेन्डसम्मको लामो हुन्छ। मानिस मात्र होइन, ढाडको हाड हुने जुनसुकै पशुलाई पनि हाई आउँछ।

प्रकाशित: १० माघ २०७३ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App