coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यसरी उद्धार गरियो भग्नावशेषबाट दिदीबहिनीको

भाफिसे आनाभर्ड  

‘मर्भे, इरेम’ उद्धारकर्मी मुस्ताफ ओजटर्कले चर्काे स्वरमा बोलाइरहेका थिए। उनका वरपर उपस्थित सबैलाई शान्त बस्न निर्देशन दिइएको थियो। उद्धारटोली भग्नावशेषमा पुरिएका दुई दिदीबहिनीको खोजीमा थियो। भग्नावशेषभित्रबाट कुनै प्रतिक्रिया आएमा उनीहरूसँग रहेको संवेदनशील उपकरणले जनाउ दिन्थ्यो।  

‘इरेम, मेरी प्यारी, हामी नजिकै छौं। तिमीले हामीलाई सुनेकी छौं, हो ?’ उद्धारकर्मी मुस्ताफाले आवाज दिइरहेका हुन्छन्। बाहिरबाट उद्धारकार्य हेरिरहेकाले यो सुन्न सक्दैनन् तर उद्धारकर्ताले मर्भे र इरेमले प्रतिक्रिया दिएको थाहा पाइसकेका हुन्छन्। भग्नावशेषमा पुरिएका दिदीबहिनीका केही साथी शान्त भावमा सुखद खबरको पर्खाइमा हुन्छन्।  

‘तिमी गज्जब छाैं। अब शान्तसँग बस र मलाई प्रतिउत्तर देऊ। उनी मर्भे नै हुन्। प्रिय मर्भे, मेरा प्रश्नको उत्तर देऊ,’ मुस्ताफा भन्छन्।  

भूकम्पका कारण दक्षिणी टर्कीको अन्टाक्य सहरमा रहेको आफ्नै ५ तले भवन भत्कँदा २४ वर्षीय मर्भे र उनकी बहिनी १९ वर्षीय इरेम भग्नावशेषमा फसेका थिए।  

उनीहरू भग्नावेशमा फसेको दुई दिन भइसकेको थियो। ‘हामीलाई ५ मिनेट देऊ। त्यसपछि तिमीहरू बाहिर हुनेछौ,’ मुस्ताफाले भने। तर यो उद्धारका लागि अझै घण्टौं लाग्ने उनलाई थाहा थियो।

‘भग्नावशेषमा पुरिएकाले आशा त्यागे भने जीवित नरहन सक्छन्,’ उनले त्यहाँ उपस्थित सबैलाई भनेका थिए।  

मर्भे र इरेम अब जोक भन्न र हाँस्न सुरु गरिसकेका थिए। हामीले मुस्ताफाको अनुहारमा ठुलो हाँसो देखेका थियौं। ‘प्रशस्त ठाउँ भएको भए, यी दिदीबहिनी नाच्थे होला,’ मुस्ताफा भनिरहेका थिए। तर उद्धारकर्ताका हिसाबमा ती दिदीबहिनी भएको स्थानमा पुग्न अझै २ मिटर बाँकी थियो। यस्तो अवस्थामा सुरुङ खन्नु भनेको अत्यन्त संवेदनशील हुने उद्धारटोलीका कमान्डर हसन विनयलाई राम्रो ज्ञान थियो। एक गलत निर्णयले झन् संकट थपिन सक्थ्यो। उद्धारका क्रममा खन्दा माथिबाट भग्नावशेष नखसोस् भन्ने उद्देश्यले तत्काल एक बुल्डोजर मगाइएको थियो। ‘गल्र्स, हामीले छिट्टै कम्बल दिनेछौं। तिमीहरूले हाम्रोबारेमा चिन्ता लिनुपर्दैन। हामी न थाकेका छौं न हामीलाई चिसो लागेको छ,’ मुस्ताफाले ती दिदीबहिनीलाई भनिरहेका थिए।  

मुस्ताफाका अनुसार उद्धारकर्ताको अवस्थालाई लिएर मर्भे चिन्तित थिइन्। जतिबेला रातिको साढे ८ बजिसकेको थियो, बाहिर निकै चिसो थियो। उद्धारकर्ताले खाली हातले भग्नावशेष पन्छाइरहेका थिए। त्यति नै बेला जमिन हल्लेको अनुभव उद्धारकर्तालाई हुन्छ, जुन शक्तिशाली परकम्प थियो। उद्धारकार्य रोक्नुपर्ने भयो, उनीहरूले क्षतिग्रस्त भवन छाडे। ‘यो कटु वास्तविकता थियो। हाम्रा उद्धारकर्ताको सुरक्षा पहिलो प्राथमिकतामा थियो,’ टोली कमान्डर विनयले भने।  

परकम्पको ३० मिनेटमै मुस्ताफा र अरू ३ सदस्य पुनः उक्त स्थानमा फर्केका थिए। ‘नडराऊ, विश्वास गर, हामी तिमीहरूलाई यत्तिकै छाडदैनौं। तिमीहरूलाई हामी बाहिर ल्याउने छौं र तिमीले हामीलाई राम्रो लन्च खुवाउन लग्नुपर्छ,’ मुस्ताफाले चर्काे स्वरमा भनिरहेका थिए। यसबीचमा आफूलाई मर्नका लागि छाडिएको ती दिदीबहिनीले ठानिसकेका थिए।  

मध्यरात भैसकेको थियो। भग्नावशेष खन्ने काम जारी थियो। यो टोलीले कैयन दिनसम्म नसुती उद्धारकार्य जारी राखेको थियो। आफूलाई न्यानो पार्न र उज्यालोका लागि यो टोलीले क्षतिग्रस्त भवन नजिकै दाउरा जम्मा गरेको थियो। उद्धारकार्य जारी रहेका बेला ‘चुप, चुप’ भने आवाज चर्काे स्वरमा आइरहेको हुन्थ्यो। त्यतिबेला नै बत्ती निभाइन्छ र पूरा क्षेत्र अँध्यारो हुन्छ। उद्धारकर्मी मुस्ताफाले आफ्नो टर्च लाइटको प्रकाश भर्खरै बनाइएको सानो प्वालमा पठाउँछन्। यो प्रकाश ती दिदीबहिनीले देख्न सक्छन्, सक्दैनन् भनेर उनले यसो गरेका थिए।  

‘मर्भे, इरेम, तिमीहरूले प्रकाश देख्यौं। ओ के, परफेक्ट। म अब सानो क्यामेरा भित्र पठाउँदैछु। तिमीले यसलाई देखेपछि मलाई भन्नु। त्यसपछि के गर्ने भनेर म भन्ने छु,’ उनले भने। बाहिर उपस्थित सबैमा उत्साह छाइसकेको थियो। नाइटभिजन क्यामेरामा ती दिदीबहिनी देखिएका थिए। ‘तिमी अतिसुन्दर छौं। धेरै नचल्नु। इरेम, क्यामेरालाई तान त। तिमीले त्यसो गर्दा हामी मर्भेलाई राम्रोसँग देख्न सक्छाैं,’ मुस्ताफाले भने।  

नाइटभिजन क्यामेराले खिचेको दृश्य बाहिर स्क्रिनमा प्रष्ट देखिन्थ्यो। इरेम हाँसिरहेकी थिइन्। भाग्यवस, उनीहरू फसेको स्थानमा खाली ठाउँ भएकाले हलचल गर्न सजिलो थियो। दिदीबहिनी सकुशल थिए। इरेम फसेको स्थान अलि फराकिलो थियो। त्यसैले उनलाई बाहिर निकाल्न केही सजिलो थियो। तर तत्काल उद्धारटोलीलाई अर्काे चिन्ता थपियो। मर्भेका अनुसार इरेमलाई चिसोले समातेको थियो र उनको पाइतालामा केही भारी वस्तु रहेको अनुभव उनले गरेकी थिइन्। उनको खुटामा संक्रमण वा अत्यन्त चिसोका कारण हाइपोथर्मिया भएको हुन सक्ने उपस्थित चिकित्सकलाई डर थियो।  

यतिबेला बिहानको ५ बजिसकेको थियो। खनिएको सुरुङमा उद्धारकर्मी घर्सेर जान सक्ने भएका थिए। केही क्षणमा इरेमको हात समात्न उनीहरू सफल भएका थिए। ‘हाम्री आमाको मृत शरीर कुहेर गन्हाउन थालेको छ। हामीले राम्रोसँग सास फेर्न पाएका छैनौं’, उद्धारकर्मीलाई इरेमले भनेकी थिइन्। दिदीबहिनी आमाको मृत शरीर नजिक थिए। हुन पनि तत्कालीन अवस्था अनौठो थियो। आफ्नो नजिकै आमा नभए राम्रो हुन्थ्यो भन्ने ठान्न उनीहरू विवश थिए।  

कमाण्डर विनयले मर्भेका चिन्तित साथीहरूसँग उनीहरूको फोटो मागेका थिए। जसले उनीहरूलाई तिनको उचाइको भेऊ दिन्थ्यो।  

‘गज्जब। अब हामी उनीहरूलाई बाहिर निकाल्न सक्छौं’, उनले भने। आवश्यक कम्बल, मेडिकल टिम र स्ट्रेचर उद्धार टोलीसँगै थिए। सबै दंगदास थिए। यतिबेला बिहानको साढे ६ बजिसकेको थियो। सुरुमा इरेमलाई बाहिर निकालिएको थियो। त्यतिबेला उनी हाँस्ने र रुने दुवै गरिरहेकी थिइन्। ‘भगवान्ले तपाईंहरूलाई आशीर्वाद दिउन्। कृपया मर्भेलाई पनि बाहिर निकाल्नुस्,’ उनले उद्धारकर्मीसँग भनिन्। ‘मर्भेलाई पनि निकाल्ने हो। म प्रतिज्ञा गर्छु,’ कमाण्डर विनयले भनेका थिए। तर मर्भेलाई बाहिर निकाल्न अर्काे ३० मिनेट लाग्यो। उनको खुटलाई कुनै हानि नहुनेगरी बाहिर निकाल्नु पथ्र्यो। अन्ततः उद्धार सफल बन्यो। मर्भेलाई पनि बाहिर निकालियो। उपस्थित सबैले ताली बजाए। मर्भेले भनिन्, ‘के म अझै जीवित छु।’ हाँस्दै मुस्ताफाले भने, ‘तिमी जीवित छौं, प्यारी।’ त्यहाँ उपस्थित सबैका आँखामा खुशीका आँसु छचल्किए।  

‘मर्भे, इरेम, हामी यही छौं। नडराऊ’, उनीहरूका साथीले भने। तत्कालै उनीहरूलाई अस्पताल लगियो। उनीहरूका साथीले उद्धारकर्ता मुस्ताफालाई सोधे, ‘के तपाईं मर्भे र इरेमसँग लन्चमा जाने हो ?’ प्रत्युत्तरमा हाँस्दै उनले भने, ‘एक दिन हामीले त्यसो गर्नेछौं। तर सबैभन्दा महत्वपूर्ण कुुरा उनीहरू जीवित छन् र सुरक्षित छन्।’

सिरिया र टर्कीमा गएको भूकम्पमा परी ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रकाशित: ३ फाल्गुन २०७९ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App