१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लालु यादवलाई दिइन् आफ्नै छोरीले मिर्गौला

बिहारको राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल भएको छ। मिर्गौला उनकी आफ्नै माइली छोरीले दिएकी हुन्। बिहारका पूर्वमुख्यमन्त्रीसमेत रहेका यादवकी माइली छोरी रोहिणी आचार्यले उक्त अंग दान गरेकी हुन्।

पछिल्लो समय विभिन्न रोगले आक्रान्त यादवलाई चिकित्सकले मिर्गाैला प्रत्यारोपण गर्न सिफारिस गरेपछि सिंगापुरको एक अस्पतालमा सोमबार मिर्गौला प्रत्यारोपण भएको भारतीय दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ। बिहारका मुख्यमन्त्री नितिश कुमारले यादवको स्वास्थ्य राम्रो रहेको र शल्यक्रिया सफल रहेको जनाएका छन्।

उता विभिन्न राजनीतिक पार्टीका नेताले आफ्ना पितालाई मिर्गौला दान गरेकोमा रोहिणी आचार्यको साहस र पारिवारिक प्रेमको प्रशंसा गरेका छन्। केन्द्र सरकारका स्थानीय विकास तथा पञ्चायतराजमन्त्री गिरिराज सिंहले एक ट्वीटमार्फत भनेका छन्, ‘छोरी होस् त रोहिणी आचार्यजस्तो। तपाईं आगामी पिढीका लागि उदाहरण बन्नुहुने छ।’

यसैगरी विजेपीका नेता निशिकान्त दुबेले पनि रोहिणीको प्रशसा गरेका छन्। ‘मलाई ईश्वरले छोरी दिएनन्। आज रोहिणीलाई देखेर म ईश्वरसँग झगडा गर्न मन लाग्यो’, उनले भनेका छन्।

बिहारका उपमुख्यमन्त्री तथा लालुका छोरा तेजस्वी यादवले पनि आफ्नै बहिनीको मुग्धकण्ठले प्रशसा गरेका छन्। ‘शल्यक्रियापछिको मेरी बहिनीको आत्मविश्वास अलौकिक र अद्भुत छ। पारिवारिक सम्बन्ध चिसो हुँदै गएको वर्तमान समयमा उनले अटुट प्रेम, असीम त्याग, अद्धितीय समर्पण र अकल्पनीय पारिवारिक मूल्य स्थापित गरेकी छन्’, यादवले आफ्नो ट्वीटमा भनेका छन्।

प्रकाशित: २२ मंसिर २०७९ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App