उनले केही समयअघि राजधानी मस्कोमा संसारकै सबैभन्दा ठूलो मस्जिदमध्येको एक उद्घाटन गरेका थिए । यो मस्जिदमा १० हजार व्यक्तिले एक साथ प्रार्थना गर्न सक्छन् । यति मात्र होइन मध्यपूर्वमा आफ्नो उपस्थिति जनाउन र शान्ति स्थापना गर्न रुसले खेल्न सक्ने सकारात्मक भूमिकाका बारेमा इजरायल र अरब नेताहरुसँग छलफल चलाएका छन् । संयुक्त राष्ट्रसंघको भाषणमा उनले इस्लामिक स्टेट (आइएस) विरुद्ध लड्न विभिन्न देशहरुलाई एक जुट हुन आग्रहसमेत गरे । सन् २०१२ ताका पुटिनले सिरियाका राष्ट्रपति बसर अल असदलाई पनि यही कुरा सुझाव दिएका थिए तर पश्चिमी देशहरुले असदका कुरा नसुनेझैँ गरेका थिए ।
आखिर किन पुटिनले आइएसविरुद्ध लड्ने निर्णय लिए भनी धेरैको माथिंगल घुम्न थालेको छ । यसमा अस्ट्रेलियाली पत्रकार फियोना क्लार्कको विश्लेषणमा चाहिँ रुस आफैँमा सबैभन्दा बढी मुस्लिम बस्ने देश हो । करिब दुई करोड मुस्लिम यहाँ बस्छन् । सन् १९९४ देखि २००४ को १० वर्षे समयावधिमा रुसमा १ सय ५ आतंकवादी हमलाहरु भए । सो हमलामा तीन हजारभन्दा बढी रुसीहरुको ज्यान गएको थियो । त्यसपछि पनि कैयौं अतिवादी इस्लामिक गतिविधि कम भएको छैन । पछिल्लो समय त पूर्वी सोभियत देशहरुमा आर्थिक अवस्था नराम्रोसँग विथोलिएको छ, जसका कारण त्यहाँ गरिबी र भेदभाव तीव्र रुपमा बढेको छ । यस्तो अवस्थाले अतिवादी गतिविधिका लागि आधार तयार पारेको केहीको विश्लेषण छ । आइएस जस्ता संगठनहरु क्रुद्ध र निराश युवाहरुलाई सहजै निशाना बनाइरहेको छ ।
केहीले त केसम्म दाबी गरिरहेका छन् भने कैयौं पूर्वी सोभियत देशहरुमा आइएसका तालिम केन्द्रहरु सञ्चालित छन् । सिरिया र इराकमा कैयौं पटक अतिवादी लडाकुहरुसँग रुसी र मध्य एसियाली देशका पासपोर्ट फेला पारिएका छन् । गएको फेब्रुअरी महिनामा रुसी जासुसी संस्था एफएसबीले एक हजार सात सय रुसी युवा आइएसमा गाँसिएका छन् । त्यस्तै अमेरिकी जासुसी संस्था सीआइएले आइएसमा २० हजारभन्दा बढी विदेशी मूलका मानिसहरु समावेश भएका छन् । यदि यो तथ्यांक सत्य हो भने रुसीहरुको संख्या ८.५ प्रतिशत रह्यो । यसमाथि अरब देशका कति आइएससँग जोडिएका छन्, यसबारे कसैलाई पनि सही तथ्यांक थाहा छैन ।
यस्तो अवस्थामा पुटिनको चिन्ता केहीले जायज मानिरहेका छन् । आइएसजस्तो तगडा शत्रु छिमेकमै उभिएको रुसलाई पक्कै मन पर्दैन । संसारकै सबैभन्दा ठूलो मस्जिद उद्घाटन गर्दा उनले चिन्ता व्यक्त गर्दै भनेका थिए, 'राजनीतिक कारणले सर्वसाधारणको धार्मिक भावनासँग खेल्ने प्रयास भइरहेको छ । रुसबाट पनि उनीहरुले आफ्नो संगठनमा तान्ने प्रयास निरन्तर भइरहेको छ ।' पुटिनले आइएसको बहकाउमा नलाग्न सर्वसाधारणलाई आग्रह पनि गरे । यसमा उनको चाहना के छ भने चेचन्यामा १९९४ ताका मुस्लिम पृथकतावादीहरुसँग भएको भारी युद्ध नदोहोरियोस् भन्ने उनको चाहना छ । त्यसैले संयुक्त राष्ट्रसंघमा मध्यपूर्वमा आइएससँग लड्ने उनको चाहना व्यक्त हुनु युक्रेनसँगको तनाव कम गर्ने प्रयास नभई आफ्नो विविधतायुक्त देशलाई नै अतिवादीहरुबाट जोगाउने प्रयास हो भनेर बुझ्न आवश्यक छ ।
प्रकाशित: १२ आश्विन २०७२ २१:१७ मंगलबार





