गर्मी मौसम सुरु भएसँगै धेरैको एउटा साझा गुनासो हुन्छ- ‘मलाई मात्र किन लामखुट्टेले बढी टोक्छ ?’
एउटै कोठामा बसेका मानिसमध्ये कसैलाई लामखुट्टेले धेरै सताउँछ भने कसैलाई खासै वास्ता गर्दैन। के रगतको स्वाद फरक हुनु यसको कारण हो ? के कसैको रगत लामखुट्टेलाई बढी मन पर्छ ?
हालैका वैज्ञानिक अनुसन्धानले यसको कारण रगत नभई शरीरबाट निस्कने विभिन्न जैविक संकेत रहेको देखाएका छन्। अनुसन्धानका अनुसार मानिसको सास, शरीरको तापक्रम, पसिना र छालाबाट निस्कने विशेष गन्धले लामखुट्टेलाई आफ्नो शिकार पहिचान गर्न मद्दत गर्छ। केही मानिसको शरीरबाट निस्कने यी संकेत लामखुट्टेका लागि अत्यन्त आकर्षक हुन्छन्।
मानिसलाई टोक्ने लामखुट्टेमध्ये पोथी लामखुट्टे सबैभन्दा सक्रिय हुन्छन्, किनकि अण्डा उत्पादनका लागि आवश्यक प्रोटिन प्राप्त गर्न उनीहरूलाई रगत चाहिन्छ। लामखुट्टेले करिब १० मिटर टाढाबाटै मानिसलाई पहिचान गर्न सक्छन्। उनीहरूले दृष्टि र गन्धको सहायताले लक्ष्य खोज्छन्। मानिसको सास र छालाबाट निस्कने कार्बन डाइअक्साइड उनीहरूका लागि महत्त्वपूर्ण संकेत हो।
जब मानिसले सास फेर्छ, बाहिर निस्कने कार्बन डाइअक्साइडले लामखुट्टेको गन्ध पहिचान गर्ने प्रणालीलाई सक्रिय बनाउँछ र मानिस नजिक छ भन्ने संकेत दिन्छ।
वयस्क मानिसले बालबालिकाभन्दा बढी कार्बन डाइअक्साइड उत्पादन गर्ने भएकाले लामखुट्टे उनीहरूप्रति बढी आकर्षित हुने वैज्ञानिकहरूको भनाइ छ। यही कारणले कार्बन डाइअक्साइड उत्पादन गर्ने उपकरण वा सुख्खा बरफ प्रयोग गरेर लामखुट्टे नियन्त्रण गर्ने पासोसमेत बनाइन्छ।
‘कुनै एक निश्चित ठाउँमा चार जना मानिस बसे भने तीमध्ये एक जनाले मात्रै करिब ९० प्रतिशत लामखुट्टेको टोकाइ आकर्षित गर्न सक्छ,’ लामखुट्टे अनुसन्धानकर्ता हेथर फर्गुसनले बीबीसीसँग भनेकी छन्।
शरीरको तापले पनि बढाउँछ आकर्षण
त्यसो त, लामखुट्टे केवल गन्धले मात्र होइन, शरीरको ताप र चिस्यानबाट पनि प्रभावित हुन्छन्। अनुसन्धानकर्ताका अनुसार गर्भवती महिलालाई सामान्य महिलाको तुलनामा लामखुट्टेले करिब दुई गुणा बढी आकर्षक ठान्न सक्छ। यसको कारण गर्भावस्थामा शरीरको मेटाबोलिज्म (ऊर्जा उत्पादन प्रक्रिया) बढ्नु, बढी सास फेर्नु र शरीरको तापक्रम बढ्नु हो।
बेलायतको डरहम विश्वविद्यालयका जनस्वास्थ्य कीटविज्ञानका प्राध्यापक स्टिभ लिन्डसेका अनुसार गर्भवती महिलाको शरीरभित्र एउटा सानो ‘भट्टी’ नै सक्रिय हुन्छ, जसले बढी ताप उत्पादन गर्छ।
त्यस्तै, व्यायाम गरिरहेका वा भर्खरै व्यायाम गरेका मानिसलाई पनि लामखुट्टेले बढी खोज्न सक्छ। शारीरिक गतिविधिका कारण शरीर तातो हुन्छ, पसिना आउँछ र कार्बन डाइअक्साइड उत्पादन बढ्छ।
ठूलो शरीर भएका मानिसले पनि सामान्यतया बढी ताप र कार्बन डाइअक्साइड उत्पादन गर्ने भएकाले उनीहरू लामखुट्टेको लक्ष्य बन्न सक्ने अनुसन्धानले देखाएको छ।
छालाको विशेष गन्ध नै मुख्य कारण
लामखुट्टे मानिसको नजिक आएपछि उनीहरूले छाला र सासबाट आउने गन्ध पहिचान गर्छन्। ‘यो मूलतः गन्धको कुरा हो। लामखुट्टे रासायनिक संसारमा बाँच्छन्,’ प्राध्यापक लिन्डसे भन्छन्।
कतिपयले लामखुट्टेले ‘गुलियो रगत’ भएका मानिसलाई बढी मन पराउँछन् भन्ने तर्क गर्छन्। तर वैज्ञानिकका अनुसार यो धारणा सही होइन। वास्तवमा मानिसको छालाबाट आउने विशेष गन्धले नै फरक पार्छ।
मानिसको छालामा रहेका सूक्ष्म जीवाणुले बोसो, पेप्टाइड र अन्य पदार्थलाई विघटन गरेर ‘भोलाटाइल अर्गानिक कम्पाउन्ड’ उत्पादन गर्छन्। यिनै गन्धयुक्त रासायनिक पदार्थ लामखुट्टेले सजिलै पहिचान गर्छन्।
मानिसको छालामा ५०० भन्दा बढी प्रकारका यस्ता रासायनिक पदार्थ पाइन्छन्। अमेरिकाको रकफेलर विश्वविद्यालयका अनुसन्धानकर्ताले ६४ जनाको छालाको गन्ध अध्ययन गर्दा लामखुट्टेले केही व्यक्तिको गन्धप्रति रुचि देखाएको पाएका थिए। विशेषगरी छालामा बढी ‘कार्बोक्सिलिक एसिड’ भएका मानिसलाई लामखुट्टेले बढी आकर्षक मानेका थिए।
अनुसन्धानले देखाएको छ कि कसैलाई लामखुट्टेले आकर्षक मान्ने प्रवृत्ति धेरै हदसम्म स्थायी हुन्छ। जीवनशैली परिवर्तन भए पनि केही मानिस वर्षौंसम्म लामखुट्टेको प्रमुख लक्ष्य बन्न सक्छन्।
के खानपानले लामखुट्टे भगाउन सक्छ ?
लसुन खाने वा भिटामिन बी सेवन गर्दा लामखुट्टे टाढा हुन्छ भन्ने लोकप्रिय धारणा छ। तर यसका लागि पर्याप्त वैज्ञानिक प्रमाण नभएको विज्ञहरू बताउँछन्। लामखुट्टेबाट बच्न प्रमाणित उपाय अपनाउन उनीहरूको सुझाव छ।
उनीहरूका अनुसार डीईईटी, पिकारिडिन अथवा पीएमडीयुक्त रिपेलेन्ट प्रभावकारी मानिन्छन्। लामो बाहुला भएका कपडा लगाउने, विशेषगरी कीटनाशकयुक्त कपडा प्रयोग गर्ने र पसिना आएपछि पुनः रिपेलेन्ट लगाउने उपाय पनि उपयोगी हुन्छ।
त्यसो त, लामखुट्टेको टोकाइप्रति मानिसको प्रतिक्रिया पनि फरक–फरक हुन्छ। केही मानिसको शरीरमा टोकाइपछि ठूलो रातो डाबर आउने र धेरै चिलाउने हुन्छ भने केहीलाई सामान्य असर मात्र देखिन्छ।
वैज्ञानिकहरूले यसमा आनुवंशिक (जेनेटिक) कारणको पनि भूमिका रहने बताएका छन्। केही मानिसलाई टोकाइप्रति बढी संवेदनशील बनाउने प्रतिरक्षा प्रणालीसँग सम्बन्धित जीनहरू भेटिएका छन्।
यसकारण कतिपय मानिसलाई ‘मलाई लामखुट्टेले धेरै टोक्छ’ भन्ने लाग्न सक्छ, जबकि वास्तविकता उनीहरूको शरीरले टोकाइप्रति बढी प्रतिक्रिया दिइरहेको पनि हुन सक्छ। त्यसैले आफूलाई लामखुट्टेले नटोकेको जस्तो लागे पनि सावधानी अपनाउनुपर्छ। किनकि लामखुट्टे केवल असहजता दिने कीरा मात्र होइनन्, यिनले मलेरिया, डेंगु, चिकुनगुनिया जस्ता रोग पनि फैलाउन सक्छन्।
मानिसको शरीरले पठाउने साना–साना संकेत पढेर लामखुट्टेले आफ्नो लक्ष्य रोजिरहेका हुन्छन्। त्यसैले ‘किन मलाई मात्र ?’ भन्ने प्रश्नको उत्तर हाम्रो शरीरभित्रै लुकेको हुन्छ।
प्रकाशित: २८ असार २०८३ २०:०९ आइतबार





