२४ पुस २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

चिसो बढ्दा कस्ता रोगको जोखिम हुन्छ ?

काठमाडौं । देशभर जाडो मौसम सुरु हुन लागेसँगै काठमाडौं उपत्यकामा तापक्रम क्रमशः घट्दै गएको छ। बिहान–बेलुकाको हावा चिसिन थालेको र फाट्टफुट्ट हुस्सु देखिन थालेपछि चिकित्सकहरूले अबदेखि नै सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्।

विशेषज्ञहरूका अनुसार उपत्यकामा चिसो बढ्दै जाँदा श्वासप्रश्वाससम्बन्धी रोग, रुघाखोकी, निमोनिया, दम, एलर्जी, छालासम्बन्धी समस्या र ज्वरो–घाँटी दुख्ने संक्रमणको जोखिम बढ्ने गर्दछ।

काठमाडौं उपत्यकाको हावा पहिले नै प्रदूषित र सुख्खा भएकाले जाडोमा यसको असर दोब्बर हुन्छ। त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. विशाल शर्माले श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएका बिरामीलाई चिसो मौसम धेरै चुनौतीपूर्ण हुने गर्छ । ‘जाडोमा हावामा धुलो र धुवाँको मात्रा बढ्छ, जसले सास फेर्न गाह्रो हुने समस्या निम्त्याउँछ। दम र एलर्जी भएका बिरामीहरू विशेष जोखिममा हुन्छन्,’ उनले भने ।

चिसोमा हावाले नाक, घाँटी र फोक्सोको सतह सुकाउने भएकाले भाइरस छिटो फैलिने अवस्था बनाउँछ।

चिसोमा बढ्ने सम्भावित रोग

जाडो मौसम सुरु भएसँगै काठमाडौंमा धेरै श्वासप्रश्वाससँग जोडिएका स्वास्थ्य समस्या देखिने गर्छन् ।  

रुघाखोकी र ज्वरो – भाइरल संक्रमणका कारण प्रायः सबै उमेरका मानिस प्रभावित।

निमोनिया र ब्रोन्काइटिस – बालबालिका र वृद्धबृद्धामा बढी देखिने समस्या।

दम र एलर्जी – प्रदूषण र धुलो मिसिएको चिसो हावाले समस्या चर्काउँछ।

छालाको सुख्खापन र चिलाउने समस्या – शरीरको आर्द्रता कम हुँदा छाला फाट्ने, चिलाउने समस्या।

जोर्नी दुख्ने – जोर्नी दुख्ने समस्या पनि जाडोमा धेरै देखिन्छ । उमेर ढल्किँदै गएपछि यो समस्या थप देखिने गर्छ ।

बच्न अपनाउनुपर्ने उपाय

चिकित्सकहरूका अनुसार, सामान्य सावधानी अपनाएर जाडोका धेरै रोगहरूबाट जोगिन सकिन्छ।

बिहान–साँझ अत्यधिक चिसोमा बाहिर ननिस्कनु,

तातो कपडा, टोपी, मोजा र मफ्लर प्रयोग गर्नु,

पर्याप्त पानी र तातो सूप–पानी सेवन गर्नु,

घरभित्र हावा सर्किन दिने र सफा राख्ने,

बालबालिका र वृद्धको हेरचाहमा ध्यान दिने।

सामान्य रुघाखोकी वा ज्वरो लामो समय रह्यो भने आफैं औषधि नखाई चिकित्सकसँग परामर्श लिनुपर्ने चिकित्सकले सुझाएका छन् ।

जाडो मौसम केवल कपडामा मात्र होइन, शरीर र रोगप्रतिकार क्षमतामासमेत प्रभाव पार्ने समय हो। विशेषगरी काठमाडौंको प्रदूषित हावामा बस्नेहरूले सावधानी नअपनाए सामान्य रुघाखोकीदेखि निमोनियासम्मका रोगको जोखिम बढ्न सक्छ।

प्रकाशित: २६ आश्विन २०८२ २०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App