आपतमा परेको एक व्यक्तिको सहज उद्धार भयो भने कति खुसी कति बाँडिन्छ ? तपाईंले अनुमान लगाउनुभएको छ ? उद्धार हुने मान्छे त खुसी हुने नै भयो, परिवारमा खुसीको बेग्लै सञ्चार छाउने नै भयो योसँगै सिंगो गाउँ नै खुसी हुन्छ र उत्सव नै मनाउँछ भन्ने सुन्नुभएको छैन भने भारतमा बन्धक बनाएर काममा लगाइएको एक नेपाली चेलीको उद्धारले छाएको खुसी तपाईंले हेर्न सक्नुहुन्छ ।
यो उद्धार पीडित, परिवार र छिमेकमा मात्र सीमित भएन । अहिले तपाईंसम्म खुसी छरिएर आएको छ । गाउँलेले अफ्ठ्यारोमा परेकी चेलीको उद्धार हुँदा बाजागाजासहित स्वागत गरेका छन् । यो स्वागतमा भेला भएका सबैमा सुखीको आँसु भरिएको थियो ।
घटना के थियो ? कसरी भयो उद्धार ?

रुकुम पश्चिमकी २१ वर्षीया एक युवती काम गर्न भारत गएकी थिइन । भारतको हिमाञ्चल प्रदेशको कोतखाईमा काम गरिरेकी उनी एकाएक परिवारको सम्पर्कबाट टाढा भइन् । उनलाई परिवारलाई नै सम्पर्कमा आउन नदिइ बन्धक बनाएर घरेलु काममा लगाइएको रहेछ ।
पीडितका आफन्तले दिल्लीस्थित नेपाली दूतावासको हटलाइनमा फोनमार्फत समस्या सुनाउँदै सहयोगको अपील गरेका थिए । दूतावासले स्थानीय बाल कल्याण समिति तथा हिमाचलका प्रहरीसँगको समन्वय गरेर पीडितको उद्धार गरेको छ ।
स्थानीय बाल कल्याण समितिका प्रमुख नविन जोशीले चार वर्ष अगाडि स्याउ बगानमा काम थालेकी किशोरीलाई बगान धनीले पछि घरमा काम लगाएको बताए । घरमा काममा लगाएपछि पारिश्रमिक नदिने र घरपरिवारलाई समेत सम्पर्क गर्न नदिएर राखेको जोशीको भनाइ छ ।
ती किशोरी ११ कक्षा पढ्दै गर्दा हिमाचल प्रदेश आइपुगेकी जोशीले बताए ।

घटनाविरुद्ध प्रहरीमा उजुरी दिएर पीडकलाई कारबाहीको दायरामा ल्याइने समितिले जनाएको छ । पीडित किशोरी तनावमा देखिएकी छन् । उनको स्थास्थ उपचार तथा आवश्यक कानुल्नी प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने क्रममा रुकुम पुगेका जोशीसहितको टोलीलाई नेपालमा बाजागाजासहित गाउँलेले स्वागत गरेका हुन् ।
अथक प्रयासकाबीच गाउँकी चेली घर आउँला परिवारसँग सिंगा गाउँ बाजागाजासँगै रमाउँदै खुसी साटासाट गरेका छन् ।
प्रकाशित: ५ चैत्र २०८२ १६:३० बिहीबार





