कर्णाली प्रदेशमा महिलाको स्वास्थ्य सुरक्षाका लागि दीर्घकालीन प्रभाव पार्ने अभियान सुरु हुँदैछ।
पाठेघरको मुखको क्यान्सरबाट भविष्यका पुस्तालाई जोगाउने उद्देश्यसहित १४ वर्षमुनिका २१ हजारभन्दा बढी बालिकालाई एचपिभी खोप दिइने भएको छ। माघ २५ गते आइतबारदेखि प्रदेशका १० वटै जिल्लामा चरणबद्ध रूपमा अभियान सञ्चालन भइरहेको छ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार विद्यालय जाने २० हजार ४ सय ८४ र विद्यालय नजाने ९ सय १६ जना गरी कुल २१ हजार ४ सय बालिकालाई लक्षित गरिएको छ। अभियान माघ २५ गते सुरु भई वैशाखसम्म निरन्तर चल्नेछ।
दुर्गम भूगोल, कमजोर यातायात र स्वास्थ्य पहुँचको अभावबीच पनि खोप अभियानलाई प्रदेशको प्राथमिकतामा राखिएको निर्देशनालयले जनाएको छ।अभियानको सुरुआत दैलेख र जाजरकोटबाट हुँदैछ। माघ २७ गते सल्यान र रुकुम पश्चिममा, फागुन १ गते सुर्खेतमा, फागुन ४ गते कालीकोट र मुगुमा खोप दिइनेछ।
जुम्ला र हुम्लामा फागुनको अन्त्यतिर तथा सबैभन्दा दुर्गम जिल्ला डोल्पामा वैशाखको पहिलो सातादेखि खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्काले जानकारी दिए। जिल्लागत तथ्यांकले कर्णालीको भौगोलिक र जनसंख्यागत विविधता झल्काउँछ। सुर्खेतमा सबैभन्दा धेरै ५ हजार ३ सय ४८ बालिका खोपको दायरामा छन्।
दैलेखमा ३ हजार ४ सय ३२, जाजरकोटमा २ हजार ६ सय ११, सल्यानमा २ हजार ३ सय २१ र रुकुम पश्चिममा १ हजार ८ सय ५० बालिकालाई खोप दिइनेछ। त्यस्तै कालीकोटमा १ हजार ८ सय १३, जुम्लामा १ हजार ३ सय ४१, हुम्लामा १ हजार ४ सय १५, मुगुमा ७ सय १५ र डोल्पामा ५ सय २ बालिका लक्षित छन्।
डा. खड्काका अनुसार अघिल्लो वर्ष कर्णालीमा एचपिभी खोपको कभरेज ९० प्रतिशत पुगेको थियो। बाँकी करिब पाँच प्रतिशत बालिका भौगोलिक विकटता, अभिभावकको जानकारी अभाव र सामाजिक भ्रमका कारण खोपबाट छुटेका थिए। 'यो वर्ष ती चुनौतीलाई ध्यानमा राखेर समुदायस्तरमै समन्वय गरिएको छ,' उनले भने, 'लक्षित एक जना पनि बालिका छुट्न नदिने तयारी गरेका छौँ।'
विश्व स्वास्थ्य संगठनले सन् २०३० भित्र पाठेघरको मुखको क्यान्सरलाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा अन्त्य गर्ने लक्ष्य लिएको छ। नेपालले पनि सोही लक्ष्यअनुसार एचपिभी खोपलाई राष्ट्रिय प्राथमिकतामा राखेको छ।
चिकित्सकहरूका अनुसार समयमै लगाइएको एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घटाउँछ। कर्णाली जस्तो प्रदेशमा, जहाँ महिलाको स्वास्थ्य सेवा पहुँच अझै कमजोर छ, यो अभियान केवल खोप वितरण मात्र होइन, भविष्यका हजारौँ महिलाको जीवन सुरक्षित गर्ने दीर्घकालीन लगानीका रूपमा हेरिएको छ।
खोप अभियान सफल भए कर्णाली प्रदेश महिलाको क्यान्सर रोकथाममा देशकै उदाहरणीय प्रदेश बन्ने स्वास्थ्य अधिकारीहरूको विश्वास छ।
प्रकाशित: २५ माघ २०८२ २०:३१ आइतबार





